‘पार्टी सदस्यहरुको मनोनयनमा कुनै पक्षपात गरिएको छैन’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पार्टी सदस्यहरुको मनोनयनमा कुनै पक्षपात नगरेको दाबी गरेका छन् । आज (बुधवार) पार्टी कार्यालयमा आयोजित नवनिर्वाचत मनोनित पार्टी सदस्यहरुलाई शपथग्रहण गराउँदै अध्यक्ष लिङदेनले आफूमाथि मनोनयनमा पक्षपात गरेको आरोप लगाइरहे पनि त्यो सत्य नभइ निष्पक्ष ढंगले पार्टी सदस्यहरु मनोनित गरेको बताए ।
उनले आगामी दिनमा पार्टीलाई सडक र निर्वाचन दुवै मोर्चामा सशक्त ढंगले प्रस्तुत गर्ने पनि जनाएका छन् । अध्यक्ष लिङदेनले पार्टीले राजसंस्था, हिन्दुराज्य पुनः स्थापनाको मुद्धासँगै भ्रष्टाचारबिरुद्ध, जनजीविकासँग सम्बन्धित, रोजगारसँग सम्बन्धित अन्य मुद्धाहरु समेत लिएर अघि बढ्ने बताएका छन् ।
पार्टीमा मनोनयन सदस्यहरुको परिपूर्ति अहिले नै भइनसकेकोले अबका दिनमा लैंगिक, समावेशी र समानुपातिकताका हिसावले गरिनेसमेत अध्यक्ष लिङदेनले जनाएका छन् । उनले पार्टीमा महिलाको संख्यालाई संविधानबमोजिम पूर्ण गरेर जाने जनाएका छन् ।
अध्यक्ष लिङदेनले राजसंस्था र हिन्दुराज्य अहिले जनताको बीचमा लोकप्रिय मुद्धा बनेकोले अबका दिनमा यसलाई आफ्नो मुल मुद्धाको रुपमा लिइएको भएपनि जनताले पत्याउने ढंगको रणनीति नहुँदा विगतका कमजोरीलाई सच्याउँदै अघि बढ्ने जनाएका छन् ।

प्रतिक्रिया