आर्थिक संकटमा कसरी फस्यो श्रीलंका ?

काठमाडौं । श्रीलंका अहिले निकै ठूलो आर्थिक संकटमा फसेको छ । श्रीलंकाको विदेशी मुद्रा भण्डार रित्तिने क्रममा १.६ अर्ब डलर पुगेको छ जसले केही साताको आयात मात्र धान्न सक्छ । अर्कातिर श्रीलंका ऋणको ठूलो भारमुनि पनि दबिएको छ ।२०२२ मा मात्र उसले ऋण बापतको सात अर्ब डलर भुक्तानी दिनुपर्नेछ । यसमध्ये ५० करोड डलरको किस्ता यही जनवरीभित्र चुकाउनुछ भने एक अर्ब डलरको किस्ता जुलाईमा बुझाउनुपर्नेछ । श्रीलंकाको घट्दो विदेशी मुद्राको भण्डारको एउटा प्रमुख कारण चीनसँग ऋण लिएर तयार गरिएका ती परियोजनाहरु भएको बताइएको छ जुन परियोजनाबाट कुनै आय भइरहेको छैन । चीनले श्रीलंकालाई सडक सन्जाल विस्तारका अतिरिक्त दक्षिणी हन्बतोता जिल्लामा बन्दरगार तथा हवाई अड्डा निर्माणका लागि ठूलो रकम ऋण दिएको थियो ।
प्राविधिक रुपले दिवालिया
श्रीलंकाको केन्द्रीय बैंकको तथ्यांकअनुसार श्रीलंकाले चीनबाट ३.३८ अर्ब डलर ऋण लिएको छ । त्यसका अतिरिक्त अन्य सरकारी कम्पनीहरुले पनि अलग्गै ऋण लिएका छन् जुन निकै ठूलो परिमाणमा भएको बताइन्छ ।
प्वाइन्ट पेड्रो इन्स्टिच्युट अफ डेभलपमेन्टका मुख्य शोधकर्ता मुत्तुकृष्णा सर्वनाथन भन्छन्, ‘प्राविधिक रूपले हामी दिवालिया भइसकेका छौं । जब कसैको विदेशी मुद्रा भण्डार खतराको रातो निशानमा पुग्छ तब तपाईं प्राविधिक रुपमा दिवालिया भइसकेको हुनुहुन्छ ।’ श्रीलंकाको आर्थिक संकटको असर आम-जनजीवनमा समेत देखापरिरहेको छ । अहिले त्यहाँ दूध, ग्यास तथा मट्टितेलजस्ता दैनिक आवश्यकताका कुराका लागि निकै लामो लाइन बस्नु परिरहेको छ भने महँगीले आकाश छोएको छ । श्रीलंकाको केन्द्रीय बैंकका अनुसार नोभेम्बरमा ९.९ प्रतिशतबाट बढेर डिसेम्बरमा महँगीदर १२.१ प्रतिशत पुग्यो । यसबीच खाद्य मुद्रास्फीति २२ प्रतिशत बढेको देखिएको छ ।
विदेशी मुद्राको कमीका कारण आयातकर्ताहरु आफ्ना सामान छुटाउन सकिरहेका छैनन् जसमा अत्यावश्यक सामग्री पनि छन् । अर्कातिर विनिर्माण कम्पनीहरुले विदेशबाट कच्चा पदार्थ आयात गर्न सकिरहेका छैनन् । विदेशमा भएका श्रीलंकन नागरिकहरुले देशमा पठाउने रेमिट्यान्स पनि कम भएको छ किनभने सरकारले विदेशी मुद्राको विनिमय मूल्यमा नियन्त्रण गरिरहेको छ ।
अन्तर्राष्ट्रिय रेटिङ एजेन्सीहरुले श्रीलंकाको रेटिङ पनि कम गरिसकेका छन् जसका कारण उसको ऋण लिने क्षमता पनि थप कम भएको छ ।
श्रीलंका दिवालिया हुने संकेत सँगै त्यहाँ खाने-पिउने सामग्रीको मूल्यले आमजनताको ढाड भाँचिरहेको छ । श्रीलंकाको Advocata Institute ले जारि गरेको एक तथ्यांकअनुसार एक महिनाभित्र त्यहाँ खाद्यान्नको मूल्य १५ प्रतिशतले वृद्धि भएको छ ।
श्रीलंकामा करिब २७ रुपैयाँमा पाइदै आएको १०० ग्राम खुर्सानीको मूल्य अहिले ११३ रुपैयाँभन्दा बढी पुगेको छ अर्थात् एक किलो खोर्सानीको मूल्य ११३० रुपैयाँभन्दा बढी । भनिन्छ श्रीलंकामा एक महिनाभित्र खुर्सानीको मूल्यमा २८७ प्रतिशतले वृद्धि भएको छ ।
यसैगरि भान्टाको मूल्यमा ५१ प्रतिशत, रातो प्याजको मूल्यमा ४० प्रतिशत तथ सिमी र गोलभेडा (टमाटर) को मूल्यमा १० प्रतिशतको वृद्धि देखिएको छ । अहिले श्रीलंकामा एक किलो आलुका लागि मानिसहरुले ३२० रुपैयाँ तिरिरहेका छन् । श्रीलंका मा विदेशी मुद्राको अभावका कारण आयात अवरुद्ध भएपछि मिल्क पाउडरको समेत ठूलो कमी देखिन्छ ।
श्रीलंकामा तरकारीको मूल्य
टमाटर – ३२० रुपैयाँ प्रतिकिलो
भान्टा – २६० रुपैयाँ प्रतिकिलो
भिन्डी – ३२० रुपैयाँ प्रतिकिलो
करेला – २६० रुपैयाँ प्रतिकिलो
सिमी – ५१५ रुपैयाँ प्रतिकिलो
बन्दाकोभी – ३८५ रुपैयाँ प्रतिकिलो
गाजर – ३२० रुपैयाँ प्रतिकिलो
काँचो केरा – १९२ रुपैयाँ प्रतिकिलो
यो मूल्य २०१९ को तुलनामा लगभग दोब्बर हो भने डिसेम्बर २०२० को तुलनामा ३७ प्रतिशतले मूल्यवृद्धि भएको छ । हिजो चारजनाको औसत परिवारले खाद्य पदार्थमा साप्ताहिक रुपले १८५० रुपैयाँ खर्च गर्थ्यो भने अब त्यही परिवारले त्यति नै सामानका लागि २५५० रुपैयाँ खर्च गरिरहेको छ ।
खाद्यान्नको बढ्दो मूल्यलाई मध्यनजर गर्दै राष्ट्रपति गोटाबाया राजपक्षे ले देशमा आर्थिक आपत्काल घोषणा गरेका छन् । श्रीलंकाको यो दूरावस्थाको कारणमा ऋण भारका अतिरिक्त कोभिड महामारी, बढ्दो सरकारी खर्च तथा कर कटौती आदि सामेल छन् । कोभिडले श्रीलंकाको पर्यटन उद्योगलाई लगभग बर्बाद नै गरिदिएको छ । अहिले त्यहाँको सरकारी खजाना पनि खाली भएको छ ।
विश्व बैंकका अनुसार कोभिड महामारीको सुरुदेखि अहिलेसम्म श्रीलंकामा पाँच लाख मानिस गरिबीको रेखामुनि पुगेका छन् । परिस्थिति कस्तो भइसकेको छ भने श्रीलंका कुनै पनि दिन दिवालिया घोषित भयो भने आश्चर्यको कुरा हुनेछैन ।
-एपी र रोयटर्सको सहयोगमा
प्रतिक्रिया