‘बाध्यकारी वैदेशिक रोजगार अन्त्य’

नेपालखोज २०७८ पुष २९ गते १७:२३

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सुरक्षित वैदेशिक रोजगारीका लागि संघीय सरकारले स्थानीय र प्रदेश सरकारसँग सहकार्य गर्ने बताएका छन् । सुरक्षित आप्रवासन (सामी) परियोजना तेस्रो चरणको प्रगति समीक्षा तथा भावी कार्ययोजनाबारे पोखरामा आयोजित छलफल कार्यक्रममा मन्त्री श्रेष्ठले सुरक्षित वैदेशिक रोजगारीको बिषय साझा सरोकारको विषय भएकाले संघीय सरकारले स्थानीय तथा प्रदेश सरकारसँग निरन्तर समन्वय तथा सहकार्य गर्दै जाने बताए ।

मन्त्री श्रेष्ठले वैदेशिक रोजगारबाट प्राप्त विप्रेषणले देशको अर्थतन्त्रलाई चलायमान बनाएको बताए । उनले नकारात्मक पक्ष तथा चुनौतीहरु रहेको चर्चा गरे । चुनौतीलाई सम्बोधन गर्न स्थानीय सरकार, प्रदेश सरकार तथा संघीय सरकारबीच नीतिगत परिवर्तन, लागत साझेदारी, प्रभावकारी कार्यान्वयन र समस्याको दीगो समाधानको लागि समन्वय तथा सहकार्य हुनु आवश्यक रहेको उनले बताए । सरकारको प्राथमिकता आन्तरिक रोजगारीको क्षेत्र प्रवद्र्दन गर्दै बाध्यकारी वैदेशिक रोजगारलाई अन्त्य गर्ने भए पनि वैदेशिक रोजगारको क्षेत्र व्यवस्थापन गर्नु सबैको प्राथमिकता हुनुपर्ने उनको भनाई छ ।

वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित एवं शोषणरहित बनाउन नेपाल सरकार र स्विटजरल्याण्ड सरकारबीच भएको द्विपक्षीय सम्झौता अनुरुप सुरक्षित आप्रवासन (सामी) परियोजना सञ्चालनमा रहेको छ । जसको नीतिगत अगुवाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गरेको छ भने प्रदेश सरकारले समन्वय र अनुगमनको भूमिका निर्बाह गरिरहेको छ । साथै स्थानीय सरकारहरुको नेतृत्वमा यो परियोजना कार्यान्वयनमा छ ।

परियोजनाले ४ लाख ५१ हजार जनालाई सुरक्षित वैदेशिक रोजगार सम्बन्धी सूचना प्रदान गरेको, १३ हजार १७७ जनालाई निशुल्क कानुनी सहायता, वैदेशिक रोजगारको कारण मनोसामाजिक समस्या न्यूनिकरणका लागि २३ हजार ४१७ जनालाई मनोसामाजिक परामर्श सेवा, वित्तीय साक्षरता २१ हजार २७ जनालाई साथै निशुल्क सीप तालिम ३ हजार ३५१ जनालाई प्रदान गरेको छ ।

प्रतिक्रिया