बिहीबार, वैशाख ६, २०८१

बाइडेनको कोरोना भाइरसविरुद्धको खोप नीतिमाथि सर्वोच्च अदालतको रोक

नेपालखोज २०७८ पुष ३० गते ७:४७

काठमाडाैं । ठुला कम्पनीका कर्मचारीहरूले खोप लगाउनुपर्ने र साप्ताहिक रूपमा कोरोना भाइरसको परीक्षण गर्नुपर्ने भन्ने राष्ट्रपति जो बाइडेनको खोप नीतिमाथि अमेरिकी सर्वोच्च अदालतले रोक लगाएको छ ।

देशकै माथिल्लो तहको अदालतका न्यायाधीशहरूले उक्त खोप नीति बाइडन प्रशासनको अधिकारभन्दा बाहिर रहेको बताएका हुन् । तर उनीहरूले सरकारी कोषबाट चलेका स्वास्थ्य सेवा केन्द्रहरूमा कार्यरत कर्मचारीले खोप लगाउनुपर्ने बाइडनको नीतिलाई भने स्वीकृति दिएका छन् ।

बाइडन प्रशासनले यो नीतिले कोरोनाभाइरसको महामारीविरुद्ध लड्न मद्दत गर्ने जनाउँदै आएको छ । जीवन बचाउने ठानेर आफूले ल्याएको नीतिलाई अदालतले अस्वीकार गर्दा त्यसमा आफू निराश भएको बाइडनले बताएका छन् ।

तर सरकारी स्वास्थ्यकर्मीलाई खोप अनिवार्य लगाउने भन्ने आफ्नो नीतिलाई अदालतले स्वीकृति दिन गरेको निर्णयको चाहिँ उनले स्वागत गरेका छन् ।

पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले अदालतको आदेशप्रति खुसी व्यक्त गर्दै खोप अनिवार्य लगाउनुपर्ने नीतिले ‘अर्थतन्त्रलाई थप क्षति पुर्‍याउने’ बताए ।

‘नीतिलाई समर्थन नगरेकोमा हामी सर्वोच्च अदालतमाथि गर्व गर्छौँ,’ उनले एउटा विज्ञप्तिमा भनेका छन् । बाइडन प्रशासनको कार्यस्थलमा खोप नीति अन्तर्गत कर्मचारीहरूले कोभिड-१९ विरुद्ध खोप लगाउनुपर्थ्यो वा मास्क लगाउनुपर्थ्यो र आफ्नै खर्चमा साप्ताहिक रूपमा परीक्षण गर्नुपर्थ्यो । कम्तीमा १०० जना कर्मचारी रहेका कार्यस्थलमा यो लागु हुने भनिएको थियो ।

यो नीति अन्तर्गत ८ करोड ४० लाख मानिस पर्थे । विपक्षीलगायत केही रिपब्लिकन राज्यहहरू र केही व्यापारिक समूहले प्रशासनले यो नीति आफ्नो शक्तिभन्दा बाहिर गएर ल्याएको बताएका थिए । गत नोभेम्बरमा यो नीति घोषणा गरिएसँगै तत्कालै यसविरुद्ध मुद्दाहरू परेका थिए । सर्वोच्च अदालतका ९ न्यायाधीशमध्ये ६ जनाले नीतिविरुद्ध निर्णय सुनाएका हुन् ।

ती न्यायाधीशहरूले आफ्नो निर्णयमा लेखेका छन्, ‘कोभिड-१९ घर, विद्यालय, खेल कार्यक्रम वा मानिस भेला हुने अन्य ठाउँमा फैलिनसक्छ ।’

नीतिका केही विषय यसै साताबाट लागु हुन लागेका बेला अदालतको यो निर्णय आएको छ । रिपब्लिकन राष्ट्रपतिले नियुक्त गरेका धेरै न्यायाधीशहरू रहेको अदालतमा यो निर्णयले राजनीतिक झल्को प्रतिबिम्बित गरेको छ ।

अदालतका तीन उदारवादी न्यायाधीशहरू भने खोप नीति रोक्ने विपक्षमा उभिएका छन् । कोरोना भाइरसको नयाँ भेरिअन्ट ओमिक्रोनका कारण अमेरिकाले महामारीको नयाँ लहर देखिरहेको बेला अदालतको यो निर्णय आएको हो । अहिलेसम्म ६० प्रतिशतभन्दा बढी अमेरिकीले पूर्णमात्रा खोप लगाइसकेका छन् । बीबीसी

प्रतिक्रिया