राष्ट्रियसभा र स्थानीय तहको निर्वाचनका विषयमा छलफल गर्न सर्वदलीय बैठक बस्दै

नेपालखोज २०७८ पुष ३० गते ८:२०

काठमाडौं । निर्वाचन आयोगको कार्यालयमा बिहान ११ बजे सर्वदलीय बैठक बस्दैछ । आज निर्वाचन आयोगको आह्वानमा राष्ट्रियसभा र स्थानीय तहको निर्वाचनका विषयमा छलफल गर्न आयोगले बैठक बोलाएको हो ।

राष्ट्रियसभा निर्वाचन र स्थानीय तहको निर्वाचनको मितिदेखि तयारीसम्मका बारेमा छलफल गरिने निर्वाचन आयोगले जनाएको छ । संघीय संसद, प्रदेश संसद र स्थानीय तहमा प्रतिनिधित्व गरिरहेका १७ दललाई बैठकमा सहभागी हुन निमन्त्रणा दिइएको आयोगले जनाएको छ ।

बैठकमा माघ १२ गते गर्न लागिएको राष्ट्रियसभा निर्वाचनलाई स्वास्थ्य मापदण्ड पालना गर्दै सम्पन्न गर्ने विषयमा दलसँग छलफल हुने छ । स्थानीय तहका जनप्रतिनिधिको पहिलो कार्यकाल पूरा हुन लाग्दा आयोगले निर्वाचनको तयारी थालेको छ ।
स्थानीय तह निर्वाचनका लागि सरकारलाई मिति प्रस्ताव गर्ने काम भइसकेको छ । वैशाखमा स्थानीय तहको निर्वाचन गर्न माघको पहिलो साताभित्र निर्वाचनको मिति घोषणा गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया