शनिबार, वैशाख ८, २०८१

निर्मोहीजी र म !

दिनेश अधिकारी २०७८ माघ १ गते १४:४६

२०४३ असोजदेखि २०४६ सम्म म बारा जिल्लाको जिल्ला न्यायाधिवक्ता (सरकारी वकिल) को जिम्मेवारीमा थिएँ । सदरमुकाम कलैयाको पन्नावागमा कार्यालय थियो । संयोगले त्यसबेला स्थानीय विकास अधिकारीको पदमा कवि विमल कोइराला (पछि नेपाल सरकारको मुख्य-सचिव), का.मु. प्रमुख जिल्ला अधिकारीको पदमा निबन्धकार निरञ्जन बराल (पछि नेपाल सरकारको सचिव) कार्यरत हुनुहुन्थ्यो । यो आफैंमा एउटा सुखद पक्ष थियो । अर्को सुखद पक्षचाहिँ के थियो भने आदरणीय समालोचक केशवप्रसाद उपाध्यायको अगुवाइमा कवि/कथाकार/नियात्राकार निर्मोही व्यास, हास्यव्यङ्ग्यकार मुकुन्द आचार्यसमेतका मित्रहरु साहित्य लेखन र साहित्यिक गतिविधिमा पनि उत्तिकै सक्रिय हुनुहुन्थ्यो । उहाँहरु अलि अगाडिदेखि नै एउटा साहित्यिक संस्था खोल्न प्रयास गरिरहनुभएको रहेछ । तर संस्था खोल्न त्यसबेला त्यत्ति सहज थिएन । उहाँहरुको होस्टेमा हामीले हैसें गर्‍यौं । हामी जागिरे तीनजना समेत सल्लाहकार रहेको बारा साहित्य परिषद् विधिवत् रुपमा दर्ता भयो।

यी अलिपछिका कुराहरु थिए ।
म सरुवा भएर कलैया पुगेपछि सबैभन्दा पहिले सोध्दै-खोज्दै एकदिन बिहानै कलैया बजारको चोकबाट उत्तरतिर पर्ने भवानीपुरस्थित निर्मोही व्यासजीको घर पुगें । पहिले कहिल्यै नभेटेको भए पनि खोजेरै गएको समेत कारणले उहाँलाई चिन्न मलाई त त्यत्ति गाह्रो परेन । उहाँलाई गाह्रो हुनु स्वाभाविक थियो । मैले आफूलाई चिनाएँ । केहीबेर बसें र चियाखाजा खाएर खुसी हुँदै फर्कें । त्यसपछि हामी बारम्बार एक-अर्काको निवासमा गई घण्टौं गफिन थाल्यौं । नयाँ सिर्जनाहरु सुनाउँथ्यौं । म सम्झन्छु- त्यसताका मेरा धेरैजसो सिर्जनाहरुको पहिलो स्रोता निर्मोहीजी हुनुहुन्थ्यो । कलैया बसाइँकै अवधिमा लेखेको ‘हट ! घोडा हट !’ शीर्षकको मेरो कविता सुनेर उहाँ मभन्दा बढी खुसी हुनुभएको थियो ।

निर्मोही व्याससँगको यो तस्बिर पन्नावागस्थित मेरो कार्यालय भवनकै माथिल्लो तल्लामा रहेको मेरो निवासको बरन्डामा फागुन, २०४४ सालमा खिचिएको हो । यसले मलाई एकैसाथ निर्मोहीजी र कलैयाका ती रमाइला दिनहरुको सम्झना दिलाउँछ । अहिले हामी दुवै काठमाडौंमै छौं । महानगरको चरित्र पनि होला यो- अचेलचाहिँ हाम्रो भेट झुक्किए झैं कहिलेकाहीँ कार्यक्रमहरुमा मात्रै हुने गर्छ !

प्रतिक्रिया