बुधबार, वैशाख १२, २०८१

‘महिनावारीको विभेद सबै जात, धर्म, भाषा, संस्कृति र भूगोलमा छ’

नेपालखोज २०७८ माघ ५ गते १५:००

नेपालखोजमा नारी’ कार्यक्रममा हामीले युवा महिलाहरूले समाजमा पुर्याएको योगदानका विषयमा चर्चा गर्ने गर्छौं । यो कार्यक्रम नेपालखोज आइनलाइन टीभी र नेपालखोज डटकममा एकसाथ पढ्न र हेर्न सकिन्छ ।
समय र राजनीतिक परिवर्तनसँगै नेपालमा महिलाको क्षेत्रमा विकास हुँदै गएको छ । तर जुन किसिमले विभिन्न क्षेत्रमा महिलाको पहुँच पुग्नु पर्ने हो, त्यो हुन सकेको छैन । संविधानले हरेक क्षेत्रमा ३३ प्रतिशत महिला अधिकारको ग्यारेन्टी गरे पनि पूरा हुन सकेको छैन ।
यसर्थ, महिलाको क्षेत्रमा भएका काम तथा अधिकारका सम्बन्धमा समाजलाई चेतना दिने उद्देश्यले ‘नेपालखोजमा नारी’ नियमित रूपमा प्रसारणको जमर्को गरेका छौं । आज हामी मर्यादित महिनावारीका सम्बन्धमा युवा अभियन्ता राधा पौडेलसँगको कुराकानी प्रस्तुत गर्दै छौं ।
‘खलंगामा हमला’ का लेखक पौडेल मदन पुरस्कार विजेतासमेत हुन् । उनी विभिन्न गतिविधिमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा महिलाको क्षेत्रमा विषेश योगदान पुर्याउने व्यक्तित्वका रूपमा समेत परिचित छन् । महिलाका विषयमा वकालत गर्दै आएकी अभियन्ता पौडेलसँग ‘नेपालखोजमा नारी’ को यो पहिलो अंकमा सहकर्मी मीरा साउँदले कुराकानी गरेकी छन् । प्रस्तुत छ अभियन्ता राधा पौडेलसँग मर्यादित महिनावारी सम्बन्धमा गरिएको कुराकानी :

‘पाँच दिन रगत बग्नु मात्रै मर्यादित महिनावारी हैन’

हाइलाइट्स :
-मर्यादित महिनावारीको अन्तर्राष्ट्रिय अभियानअन्तर्गत विभिन्न गतिविधिमा सक्रिय छु । मर्यादित महिनावारी भनेको मात्रै पाँच दिन रगत बग्ने कुरा होइन । यो सरसफाइको कुरा मात्रै होइन । यो मानवअधिकारको दृष्टिकोणबाट जीवनचक्रीय रूपमा महिनावारीलाई हेर्नुपर्छ भन्ने नयाँ सिद्धान्त हो ।
-महिनावारीका कुरामा जागरण ल्याउने क्रममा हेलाको भावलाई हेर्ने, बहिष्करणमा पार्ने, नेपालमा त झन् गाली, बेइज्यती, पिट्छु मार्छु भन्ने धम्की आउनु सामान्य नै हो । यद्यपि नेपालको सन्दर्भमा नीतिगत तहमा राज्यतहबाट स्वीकार गरेको अर्थमा हेर्ने हो भने मर्यादित महिनावारीका विषयमा भने परिवर्तनको फड्को मारेको पाउन सकिन्छ ।
-मर्यादित महिनावारीका विषयमा हिजो मलाई एक्लै पार्ने, कार्यक्रमहरूमा नबोलाउने, मेरा कुरा नसुन्ने, निवेदन हालेरै कार्यक्रममा सहभागी बनाऊ भन्दा वास्ता नगर्ने ठाउँहरूमा आजभोलि मलाई तिम्रो समय छ कि छैन ?, ५-६ महिना, ३-४ महिना अगाडिदेखि मेरो समय माग्ने (बुक गर्ने), मलाई कक्षा लिइदेऊ भन्ने भइरहेको छ । यसले गर्दा मलाई राम्रो लाग्छ । काममा पनि ऊर्जा आएको महसुस हुन्छ ।
-म धनी परिवारको मान्छे होइन, राजनीतिक पृष्ठभूमिबाट आएको मान्छे पनि होइन, काठमाडौंको मान्छे पनि होइन, काठमाडौंको मै हुँ भन्ने विद्यालयमा पढेको मान्छे पनि होइन । एउटा सामान्य महिलाले अन्तर्राष्ट्रिय स्तरमा यसरी मर्यादित महिनावारीका विषयमा कुरा गर्दा विशेषगरी नेपाली परिवेशमा स्वीकार नगर्नु स्वभाविक पनि हो ।
-कतिपय अवस्थामा महिनावारीलाई धर्मसँग, लाससँग, संस्कृतिसँग जोडिएका कारणले गर्दा यसमा मानिसले बहस गर्नै चाहेन । महिनावारी विभेद भनेको लैंगिक हिंसा हो, यो मानवअधिकारको हनन् हो भन्ने हिसाबले वकालत नै भएन । त्यसै कारणले गर्दा पनि सुरक्षित मातृत्वको क्षेत्रमा काम गर्दा क्षेत्रलाई निकै साँघुरो बनाएर बुझाइएको अवस्था छ ।
-महिनावारीको विभेद जुनसुकै जात, धर्म, भाषा, संस्कृति र भूगोलमा देखिएको छ । बरु धेरै र थोरै, देखिने र नदेखिने हिसाबले महिनावारी बार्ने विभेदको अभ्यास छ भन्ने हामी पाउन सक्छौं ।
-मर्यादित महिनावारी सिद्धान्तका रूपमा स्थापित हुन खोजेको छ । यो एउटा सिद्धान्त हो । यसले आफ्नो ठाउँ बनाइसकेको अवस्था छ । अब यसले कुनै समयको अन्तरालमा मिडियाको माध्यमबाट, नयाँ पुस्ताको माध्यमबाट यसले बृहत् अवधारणाका रूपमा आउन सक्छ भन्नेमा विश्वस्त छु ।

प्रतिक्रिया