बिहीबार, जेठ ३, २०८१

आत्मज्ञानमा डुब्ने तयारी

‘प्रकृति घामले पाक्छ भने मानिस साधनाले मात्र पाक्न सक्छ’

एलपी भानु शर्मा २०७८ माघ ८ गते ९:५७

-मनुष्य आफ्नो भौतिक शरीर जति नै सानो र आध्यात्मिक अनुभूति जति नै ठूलो एवं विराट छ ।
-मन ऊर्जाशील भएका बेला सक्रिय रही कर्म गर्नुपर्छ, संवाद गर्नुपर्छ र सम्बन्ध फैलाउनुपर्छ । मन ऊर्जाहीन भएको बेला मौन, निष्क्रियता र अक्रियताको अभ्यास गर्नुपर्छ ।
-जसरी आफ्ना आँखा नखुलीकन प्रकाशको स्रोत सूर्यलाई समेत देख्न सकिँदैन, ठीक त्यसैगरी आफूलाई नचिनीकन अरूलाई चिन्ने आँखा र समझ कहिल्यै पनि प्राप्त हुँदैन ।
-अरुको सल्लाहभन्दा आफ्नो संकल्पलाई सदैव बढी मूल्य दिनुहोस् किनभने तपाईंलाई तपाईं आफूले भन्दा बढी कसैले चिनेको हुँदैन ।
-प्रकृति घामले पाक्छ भने मानिस साधनाले मात्र पाक्न सक्छ ।
-यहाँ जड या निर्जीव केही पनि छैन, किनभने सबै नै चेतनाका कणले बनेका छन् । ढुंगा-माटोमा पनि चेतना छ । बरू देख्ने आँखा र छुने हातहरू जड हुन लागिसकेका हुन सक्छन् !
-श्वासरूपी अमूल्य पुष्प खेर गइरहेका होलान्, सजगताको धागोमा उनेर ध्यानरूपी माला बनाउन नबिर्सनु है !
-जीवनको सबैभन्दा ठूलो विरोधाभास : इच्छा सकारात्मकको, तर सोचचाहिं नकारात्मक ।
-बाहिरको संसारलाई भन्दा आफ्नो विचारलाई बढी महत्त्व देऊ, किनभने तिम्रो संसार तिम्रै विचारले बनेको हो ।
-विचारलाई नियन्त्रण गर्न खोज्नु आफ्नो खुट्टा आफैंले उचालेर अग्लो हुन खोज्नु हो । आफूले रोजेको उच्च लक्ष्यमा विचारलाई लगाउनु सिर्जनशीलता हो भने सबै विचारप्रति सजग रहनु आत्मज्ञानमा डुब्ने तयारी गर्नु हो ।

प्रतिक्रिया