महामारीले अन्तर्राष्ट्रिय अर्थव्यवस्थालाई १२.५ ट्रिलियन डलरको नोक्सान

काठमाडौं । संसार अहिले कोरोना महामारीले अस्तव्यस्त छ र यसको नकारात्मक असर अन्तर्राष्ट्रिय अर्थव्यवस्थामा समेत परेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले दिएको ताजा जानकारीअनुसार कोरोना महामारीका कारण विश्व अर्थव्यवस्थाले २०२४ सम्म उत्पादनको क्षेत्रमा १२.५ ट्रिलियन अमेरिकी डलरको नोक्सानी बेहोर्नुपर्नेछ ।
आईएमएफका प्रबन्ध निर्देशक क्रिस्टोलिना जोर्जिभाका अनुसार विश्वको अर्थव्यवस्था २०२२ मा केवल ४ प्रतिशत तथा २०२३ मा ३.५ प्रतिशत मात्र बढ्ने अनुमान छ । कोरोना संक्रमणका कारण विश्वको आर्थिक सुधार निकै दुस्प्रभावित भएको छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोषकी प्रमुख क्रिस्टोलिना जोर्जिभा भन्छिन्, ‘२०२२ र २०२४ को बीच संसारको अर्थव्यवस्थाले उत्पादनको क्षेत्रमा १२.५ ट्रिलियन अमरीकी डलरको घाटा बेहोर्नुपर्नेछ । यद्यपि हामी यो तथ्यांकलाई अपडेट गरिरहेका छौं । ओमिक्रोन भेरियन्टका कारण यो तथ्यांकलाइ संशोधित गर्नुपर्नेछ ।’
यसबीच संयुक्त राष्ट्रसंघको विश्वको आर्थिक स्थिति र सम्भावनामा केन्द्रित रिपोर्ट डब्ल्यूईएसपी-२०२२ पनि सार्वजनिक भएको छ । डब्ल्यूईएसपीको रिपोर्टअनुसार कोभिडको नयाँ लहर, श्रम बजारको चुनौती, सप्लाई चेनमा उत्पन्न बाधा तथा बढ्दो महँगीले विश्वको आर्थिक सुधारलाई प्रभावित तुल्याइरहेको छ । रिपोर्टको निष्कर्षका सम्बन्धमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेस भन्छन्, ‘विश्वका विभिन्न देशबीचको असमानता कम गर्नु अहिलेको पहिलो आवश्यकता हुनुपर्छ । यसका लागि लक्षित र समन्वित उपायहरु विकसित गरिनुपर्छ ।’
-आईएमएफ तथा विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा
प्रतिक्रिया