सोमबार, वैशाख १७, २०८१

अर्को महामारीको तयारी !

नेपालखोज २०७८ माघ ९ गते १८:१५

काठमाडौं । संसारमा कोरोना संकट गहिरिँदै गएको छ । कोरोना महामारीका कारण संसारभरका मानिस भयभित छन् । यसबीच बिल गेट्सले संसारमा महामारीको भविष्यलाई लिएर चिन्ता व्यक्त गरेका छन् । बिल गेट्सले भनेका छन् हामीले भविष्यमा कोरोना भाइरसबाट उत्पन्न परिस्थितिभन्दा खराब स्थितिको सामना गर्नुपर्ने हुनसक्छ । गेट्स फाउन्डेसन तथा ब्रिटिस बायोमेडिकल च्यारिटी वेलकमले कोभिड-१९ विरुद्धको लडाइँ एवं भविष्यमा आइलाग्नसक्ने महामारीको तयारीका लागि १५० मिलियन डलर दान दिएका छन् ।

यो रकम कोएलिसन फर एपिडेमिक प्रिपेयर्डनेस इनोभेसन (सीईपीआई) लाई प्रदान गरिएको छ ।कोरोना महामारीको बढ्दो प्रकोपबीच घोषणा गरिएको यो राशिको उपयोग कोभिड संक्रमणका विरुद्ध गरिनेछ भने कोएलिसन फर एपिडेमिक प्रिपेयर्डनेस इनोभेसनले यो रकम भविष्यमा आइलाग्नसक्ने महामारीको तयारीमा समेत खर्च गर्नेछ । बिल गेट्सले भनेका छन् सारा संसार कोरोना भाइरसको चुनौतीबाट पार पाउने प्रयास गरिरहेको छ ।

कोरोनाविरुद्धको खोपका कारण धेरैको जीवनरक्षा भएको छ । खोपकै कारण धेरै मानिस चाँडै यो संक्रमणबाट बाहिर निस्कन सफल भए । बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनका सह-संस्थापक बिल गेट्सले मिडियासँगको कुराकानीका क्रममा भने यद्यपि हामीले विकासशील देशहरुलाई आवश्यकताअनुसार समयमै भ्याक्सिन उपलब्ध गराउन सकेनौं जुन हामी चाहन्थ्यौं ।

बिल गेट्स भन्छन्- खोप तयार गर्नु मात्र पर्याप्त हुँदैन त्यो लक्षित वर्गसम्म पुग्नु पनि ठूलो कुरा हो । हामीले त्यसको सुनिश्चितता गर्न सक्नुपर्छ । यस क्रममा वेलकमका निर्देशक तथा ब्रिटिस वैज्ञानिक जेरेमी फरार भन्छन्- ओमिक्रोन भेरियन्ट नै कोरोनाको अन्तिम भेरियन्ट हो भन्ने कुरा मान्न हामी कोही तयार छैनौं त्यसैले सबै देशका सरकारले आ-आफ्नो योगदान बढाउनुपर्ने आवश्यकता छ । इबोला महामारीपछि २०१७ मा स्थापित सीईपीआईले कोरोना भाइरसको महामारीविरुद्ध महत्त्वपूर्ण योगदान पुर्याएको छ । यो संस्थाले संसारका कैयन् भ्याक्सिन परियोजनाहरुका लागि धन उपलब्ध गराएको बताइन्छ ।

प्रतिक्रिया