बिहीबार, जेठ ३, २०८१

‘अहिलेको अवस्थालाई ओमिक्रोनको महामारी भनेर बुझ्नु हुँदैन’

‘अस्पतालका कोभिड वार्ड, आईसीयू, भेन्टिलेटर, अक्सिजन प्लान्ट तम्तयार राख्न जरुरी छ ।’

डा. रवीन्द्र पाण्डे २०७८ माघ ९ गते १३:३२

ओमिक्रोन निकै बढेको छ । यस्तै हो भने यसले कसैलाई छोड्दैन । सकारात्मक कुरा के छ भने यसको संक्रमणदर तीव्र भए पनि गम्भीर हुने, अस्पताल भर्ना हुनुपर्ने तथा मृत्युदर निकै कम छ । यो विश्वव्यापी तथ्यांक र अनुसन्धानले पुष्टि भएको छ ।

रुघाखोकी, ज्वरो वा जिउ दुख्नेमध्ये कुनै लक्षण देखिए आफूलाई आइसोलेट राख्नुहोला जसले गर्दा परिवारका अन्य व्यक्तिलाई सर्दैन । परीक्षण गरेपछि रिपोर्टअनुसार उपचार हुन्छ । ओमिक्रोन घाँटीमा रहने, त्यहीँ रेप्लिकेसन हुने तथा त्यहीँ नष्ट हुने प्रजाति हो । यसले न्यून रुपमा फोक्सोमा पुगेर निमोनियाँ गराउन सक्छ ।

लाक्षणिक उपचारले लक्षण देखिएको एक सातामा निको हुन्छ । संक्रमितको संख्या बढ्दै जाँदा डर नमानौं ! सकेसम्म सतर्क हुने हो ।

आशा गर्न सकिन्छ, कोरोना भाइरस यसैगरी कमजोर हुँदै जानेछ अनि मौसमी रुघाखोकीजस्तो सामान्य हुनेछ । ओमिक्रोन कमजोर प्रजाति भए पनि डेल्टा कमजोर छैन । तसर्थ यो महामारीलाई ओमिक्रोनको महामारी भनेर बुझ्नु हुँदैन ।

-माघको तेस्रो सातादेखि नेपालमा संक्रमण निकै बढ्ने अनुमान गर्न सकिन्छ । सरकारले यो ३-४ सातालाई मिनेट/मिनेट सदुपयोग गर्ने हो भने सम्भावित तेस्रो लहरलाई कमजोर बनाउन सकिन्छ । त्यसका लागि हरेक स्वास्थ्य संस्थाबाट व्यापक प्रचार गरेर स्टकमा रहेको खोप आमनागरिकलाई लगाउन एकदिन पनि ढिलो गर्नु हुँदैन । यस्तै फ्रन्टलाइनर र जोखिम वर्गलाई बुस्टर डोज सुरु गर्नुपर्छ । यसमा अलमल गर्ने समय हामीसँग छैन ।
-जनस्वास्थ्यका मापदण्ड पालनामा हरेक तहका प्रहरी प्रशासन तथा सरोकारवाला संस्थालाई व्यापक परिचालन गर्ने, नो मास्क-नो सर्भिस लागु गर्ने तथा सिमानाका र विमानस्थलमा विशेष रणनीति अवलम्बन गर्नुपर्छ ।
-भारतका केही कम्पनीले एफडीए मान्यताप्राप्त कोभिडको खाने औषधिको उत्पादन गरेका छन् । ती औषधि भारतले सस्तोमा उत्पादन गरेको छ । नेपालले पनि खाने औषधि भारतबाट ल्याउन कूटनीतिक/राजनीतिक छलफल गर्न ढिलो गर्नु हुँदैन । हामीलाई चाहिने अक्सिजनको व्यवस्था तथा रेमडेसेभिरलगायत औषधि भारत र बंगलादेशबाट ल्याउन ढिलो गर्नु हुँदैन ।
-सरकार र नागरिकले आ-आफ्ना कर्तव्य पूरा गर्ने हो भने लकडाउन तथा निषेधाज्ञा जारी गर्नु पर्दैन । कहिल्यै पनि महामारीलाई कमजोर आकलन गर्नु हुँदैन । दोस्रो लहरमा स्तरवृद्धि भएका अस्पतालका कोभिड वार्ड, आईसीयू, भेन्टिलेटर, अक्सिजन प्लान्ट आदिलाई तम्तयार राख्नु जरुरी छ ।
-ओमिक्रोन परीक्षण गर्ने क्षमता हामीकहाँ दयनीय छ । पीसीआर टेस्ट सरकारी स्वास्थ्य संस्थाबाट नि:शुल्क गर्ने पहल देखिएको छैन । यस्तो भताभुंग तालले संक्रमण बढ्ने र आउट ब्रेक भएपछि रातारात कमसल सामान किन्ने काम गर्नु हुँदैन ।
-हामी नागरिक पेनिक बन्नुपर्ने वा आत्तिनुपर्ने अवस्था छैन । खोप र मास्कले काम गर्छ । कोरोना, खोप र मास्कको विरोध गर्नेहरुले पनि आफ्नो तथा आफ्नो परिवारको जीवनरक्षा गर्न खोप लगाउनुहोला, जनस्वास्थ्यका मापदण्ड पालना गर्नुहोला । जीवन रहेपछि विरोध गर्न पाइन्छ ।
अन्त्यमा
ओमिक्रोन कमजोर प्रजाति हो । यसको मृत्युदर नगन्य छ । खोप लगाएका व्यक्तिलाई कडा रुघाखोकी जस्तै देखिएको छ, आत्तिनु पर्दैन ।

प्रतिक्रिया