‘देउवाको ६ महिने कार्यकालमा मुलुक गहिरो संकटतिर धकेलिँदै छ’ (पूर्ण पाठसहित)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निकायको चुनाव समयमा गर्नुपर्ने बताएका छन् । उनले आज विज्ञप्ति जारी गर्दैै पाँच दलीय गठबन्धनले स्थानीय तहको निर्वाचनलाई विभिन्न बहानामा पर धकेल्न लागिपरेको आरोप लगाए ।
उनले एमाले चुनावदेखि नडराउने र जुनसुकै समयमा चुनाव गराएपनि तयारी अवस्थामा रहेको स्पष्ट पारेका छन् । उनले मुलुकमा राजनीतिक अन्यौल सिर्जना गर्ने गलत नियतका साथ बैशाखमा संघीय चुनाव गर्ने गठबन्धनको तयारी रहेको बताए । प्रतिनिधिसभाको निर्वाचन २०७९ बैशाखमा गर्ने ‘कार्ड’ फ्याँकेपनि त्यो प्रस्ताव कुनै असल मनशायले नआएको ओलीको दाबी छ ।
आफूलाई ताजा जनादेशको माग गर्दा अनेकौं प्रहार गरिएको भन्दै जनताको बीचमा जानुलाई ‘प्रतिगमन’ र जनादेशविपरीत जस्केलाबाट सरकार बनाउनुलाई ‘अग्रगमन‘ भन्ने भाष्य निर्माण गरिएको उनले बताएका छन् । ओलीले सर्वोच्च अदालतको परमादेशबाट गठित गठबन्धन सरकारको ६ महिने कार्यकालमा मुलुक गहिरो सङ्कटतिर धकेलिँदै गएको पनि आरोप लगाए । उनले भने, ‘शक्ति पृथकीकरण र राज्यका अङ्गहरुबीचको सन्तुलन, मुलुकको अर्थतन्त्र, हाम्रो बाह्य सम्बन्ध र शान्ति–सुरक्षाको अवस्थालगायत प्रमुख पक्षहरु गम्भीर रुपले समस्याग्रस्त बनेका छन ।’
पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले मुलुकको कार्यकारी अङ्गका रुपमा रहेको सरकार संविधानले निर्दिष्ट गरेको न्यूनतम दायित्व पूरा गर्नसमेत असफल भएको बताए । उनले राष्ट्रिय हितको रक्षामा सरकार चुकेको र महामारीमा अकर्मण्य बनेको आरोप लगाए । जनतालाई न्यूनतम राहत दिन समेत असमर्थ भएकाले राज्यका तीनवटै अङ्गहरू सङ्कटोन्मुख रहेको ओलीको निष्कर्ष छ । सरकारका कारण राष्ट्रलाई नै असफलताको दिशातिर धकेल्ने जोखिम पैदा भएको उनले स्पष्ट पारे ।
ओलीले अर्थतन्त्रका सबै सूचकहरुले गम्भीर अनिष्टको सङ्केत गरिरहेको बताए । पूर्ववर्ती सरकारले ल्याएको लोकप्रिय बजेटलाई विस्थापन गरेर नयाँ बजेट ल्याएको उनको आरोप छ । सरकारको कार्यकालमा विकासको गति ठप्प जस्तै भएको ओलीको विज्ञप्तिमा उल्लेख छ ।









प्रतिक्रिया