अनन्त नेपाल फर्कंदै

नेपालखोज २०७८ माघ १० गते १०:५७

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्त चीनमा उपचार गराएर स्वदेश फर्कंदै छन् । आज पुन पूर्वसभामुख ओनसरी घर्तीका साथ अपराह्न नेपाल आउन लागेका हुन् ।

उनको स्वास्थ्य अवस्था सामान्य रहेकाले नेपाल फर्किन लागेका हुन् । पुन पत्नी ओनसरीले चीनमा उनको हेरचाह गरेकी थिइन् । नेता पुनको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा जण्डिसको उपचार भएको थियो ।

जावलाखेलको सुमेरु अस्पतालमा उपचार सम्भव नभएपछि चिकित्सककको परामर्शमा गत १३ असोजमा पुन थाइल्याण्डको राजधानी बैंकक गएका थिए । बैंककस्थित समितिभेज अस्पतालमा दुई महिना उपचार गराउँदासमेत स्वास्थ्यमा सन्तोषजनक सुधार नभएपछि १० मंसिरमा पुनलाई चीन लगिएको थियो ।

उनी माओवादीको महाधिवेशनमा समेत सहभागी हुन पाएनन् । माओवादी केन्द्रको प्रभावशाली नेता पुनलाई महासचिवको दावेदार मानिएको छ । माओवादीले अध्यक्ष बाहेकका पदमा भने कसलाई जिम्मेवारी दिने खुलाईसकेको छैन । पुनसँगै अर्थमन्त्री जनार्दन शर्मा महासचिवका कडा प्रतिस्पर्धी हुन् । पुनले पनि पटक–पटक विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालने मौका पाइसकेका छन् ।

प्रतिक्रिया