आइतबार, जेठ ६, २०८१

नेपालको जनसंख्या अझै पुगेन ३ करोड, महिला ५१ दशमलव ४५ र पुरुष ४८ दशमलव ९६ प्रतिशत

सवैभन्दा बढी जनसंख्या काठमाडौमा र सवैभन्दा कम मनाङमा

नेपालखोज २०७८ माघ १२ गते १९:५१

काठमाडौं । अघिल्लो जनगणनाको तुलनामा यस पटकको जनगणनामा महिलाको जनसंख्या बढेको तथ्यांक सार्वजनिक भएको छ । राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुसार मुलुकको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० रहेकामा एक करोड ४९ लाख एक हजार १६९ जना महिला (५१ दशमलव ४५ प्रतिशत) र एक करोड ४२ लाख ९१ हजार ३११ जना पुरुष (४८ दशमलव ९६ प्रतिशत ) रहेका छन् ।

दश वर्षअघि २०६८ सालको जनगणनामा कूल जनसंख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ रहेकामा पुरुष र महिलाको हिस्सा क्रमशः ४८ दशमलब ५५ र ५१ दशमलब ५५ रहेको थियो । हालको प्रारम्भिक नतिजा अनुसार लैंगिक अनुपात प्रति सय महिलामा पुरुषको जनसंख्या ९५ दशमलब ९१ रहेको राष्ट्रिय योजना आयोग मातहतको केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको प्रारम्भिक नतिजामा उल्लेख छ । गत जनगणनामा प्रति सय महिलामा पुरुषको जनसंख्या ९४ दशमलब १६ रहेको थियो ।

कूल जनसंख्या अघिल्लो गणनाको तुलनामा २६ लाख ९७ हजार ९७६ ले बढी हो । यसरी हेर्दा दश वर्षमा नेपालको जनसंख्या १० दशमलव १८५ ले बढेको देखिएको छ । विगत दश वर्षको सरदर वार्षिक वृद्धिदर ० दशमलव ९३ रहेको र जुन अघिल्लो जनगणनामा १ दशमलव ३५५ रहेको विभागले जनाइको छ । यस जनगणनामा पहिलो चरणको स्थलगत कार्य विसं २०७८ भदौ ३० देखि असोज १८ गतेसम्म र दोस्रो चरणको स्थलगत कार्य विसं २०७८ कात्तिक २५ देखि २०७८ मङ्सिर ९ गतेसम्म सम्पन्न भएको थियो ।

राष्ट्रिय जनगणना २०७८ को प्रदेश तथा जिल्लास्तरमा व्यवस्थापकीय कार्यका लागि एक हजार ८७१ कर्मचारी र स्थलगत कार्यमा करिब आठ हजार ५०० सुपरिवेक्षक तथा ३९ हजार गणक संलग्न थिए । दुवै चरणको स्थलगत कार्य सम्पन्न भई भरिएका फाराम (घर तथा घरपरिवार सूचीकरण फाराम, मुख्य प्रश्नावली तथा सामुदायिक प्रश्नावली) केन्द्रीय तथ्यांक विभागमा प्राप्त भई प्रशोधन थालिएको हो ।
कति परिवार थपिए ।

प्रारम्भिक नतिजाअनुसार नेपालमा अक्सर बसोबास गर्ने परिवारको संख्या ६७ लाख ६१ हजार ५९ रहेको छ र ती परिवार जम्मा ५६ लाख ४३ हजार ९४५ घरमा बसेका देखिएको छ । यसबमोजिम १० घरमा औषतमा १२ परिवार बसोबास गरेको देखिन्छ । हालको परिवार संख्या दश वर्षअघिको भन्दा करिब २४ दशमलव ५७ ले वृद्धि भएको हो । यस अवधिमा जम्मा १३ लाख ३३ हजार ७५७ परिवार थप भएको देखिन्छ । परिवारको आकारप्रति परिवार ४ दशमलव ३२ जना सदस्य रहेको देखिन्छ जुन २०६८ मा ४ दशमलव ८८ जना थियो ।

सहरी क्षेत्रका परिवारमा सालाखाला ४ दशमलव २५ जना रहेका छन् भने ग्रामीण क्षेत्रमा ४ दशमलव ५५ जना रहेको देखिन्छ जुन दश वर्षअघि क्रमशः ४दशमलव ३२ जना र ५ दशमलव ०२ जना थियो । भौगोलिक क्षेत्रानुसार हेर्दा हिमाली क्षेत्रमा सालाखाला ४ दशमलव २७ जना, पहाडमा ३ दशमलव ९५ जना र तराई क्षेत्रमा ४ दशमलव ६५ जना प्रतिपरिवार रहेको देखिन्छ ।

प्रदेशगत आधारमा हेर्दा परिवारमा औसत सदस्य संख्या गण्डकी प्रदेशमा सबैभन्दा कम ९३ दशमलव ६६ जना र मधेश प्रदेशमा सबैभन्दा बढी ९५ दशमलव ६६ जना रहेको छ जुन २०६८ सालमा क्रमशः ४दशमलव १६ जना र ५ दशमलव ८० जना रहेको थियो । जिल्लाअनुसार परिवारको आकार सबैभन्दा सानो दोलखामा ९३ दशमलव ४१ जना देखिएको छ भने परिवारको आकार सबैभन्दा ठूलो रौतहटमा ५ दशमलव ९२ जना देखिएको छ ।

तराईमा जनसंख्या बढ्यो

भौगोलिक क्षेत्रअनुसार कूल जनसंख्याको वितरणमा तराई क्षेत्रको अंश २०६८ सालको तुलनामा २०७८ मा वृद्धि भएको देखिएको छ । विसं २०६८ को जनगणनामा तराईमा कूल जनसंख्याको ५० दशमलव २७ हिस्सा रहेकामा २०७८ मा वृद्धि भई ५३ दशमलव ६६ पुगेको छ । हिमाली क्षेत्रमा कूल जनसंख्याको ६ दशमलव ७३ प्रतिशत अंश रहेकामा २०७८ मा केही कम भई ६ दशमलव ०९ रहेको देखिन्छ ।

त्यसैगरी पहाडी क्षेत्रमा २०६८ मा ४३ दशमलव ०१ अंश रहेकामा हाल ४०दशमलव २५ मा झरेको छ । दश वर्षको अवधिमा लैङ्गिक अनुपात तराईमा १५ विन्दुले घटेको देखिन्छ भने हिमाल तथा पहाडमा क्रमशः ३५ र ४५ विन्दुले बढेको देखिन्छ । यो गत २०६८ को जनगणनामा हिमाल, पहाड र तराईमा क्रमशः ९४, ९१ र ९७ रहेकामा २०७८ सालको जनगणनाको प्रारम्भिक नतिजासम्म आइपुग्दा क्रमशः ९७, ९५ र ९६ कायम हुन आएको छ । वार्षिक जनसंख्या वृद्धिदर हेर्दा हिमाली क्षेत्रमा ऋणात्मक —० दशमलव ०२५, पहाडी क्षेत्रमा न्यून मात्रामा धनात्मक ० दशमलव २९ र तराई क्षेत्रमा अन्य क्षेत्रको तुलनामा उच्च धनात्मक १ दशमलव ५६ वृद्धि देखिन्छ ।

प्रदेशअनुसारको जनसंख्या परिवर्तन र वृद्धिदर प्रदेशगत रुपमा जनसंख्याको वितरण हेर्दा सबैभन्दा धेरै जनसंख्या मधेश प्रदेशमा ६१ लाख २६ हजार २८८ र सबैभन्दा कम कर्णाली प्रदेशमा १६ लाख ९४ हजार ८८९ जना रहेको छ जुन समग्रको क्रमशः २० दशमलव ९ र ५ दशमलव ८१ छ । लैङ्गिक रुपले विश्लेषण गर्दा लैङ्गिक अनुपात सबैभन्दा धेरै मधेश प्रदेशमा र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा क्रमशः १०१ र ९० रहेको छ ।

प्रदेशगत रुपमा वार्षिक जनसंख्या वृद्धिदर हेर्दा सात प्रदेशमध्ये सबैभन्दा बढी लुम्बिनी प्रदेशमा १ दशमलव२५ प्रतिवर्ष र सबैभन्दा कम गण्डकी प्रदेशमा ० दशमलव ३० प्रतिवर्ष जनसंख्या वृद्धि देखिन्छ । दोस्रो धेरै वार्षिक जनसंख्या वृद्धिदर हुने प्रदेशमा मधेश प्रदेश रहेको छ जसको वृद्धिदर १ दशमलव २० प्रतिवर्ष छ । अन्य प्रदेशको वार्षिक जनसंख्या वृद्धिदर १ दशमलव ०५ भन्दा कम नै रहेको देखिन्छ ।

सबैभन्दा धेरै काठमाडौँ र कम मनाङमा

देशका ७७ जिल्लामध्ये सबैभन्दा धेरै जनसंख्या काठमाडौँमा २० लाख १७ हजार ५३२ जना र सबैभन्दा कम जनसंख्या मनाङमा पाँच हजार ६४५ जनाको अक्सर बसोबास रहेको छ । मोरङ, रूपन्देही, झापा र सुनसरी जिल्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं धेरै जनसङख्या भएका जिल्ला हुन् । कम जनसंख्या भएका जिल्लातर्फ मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा पर्दछन् ।

जिल्लाअनुसार हेर्दा सबैभन्दा बढी लैगिक अनुपात मनाङ जिल्लाको १३० र सबैभन्दा कम लैङ्गिक अनुपात प्यूठानको ८२ छ । जिल्लागत वार्षिक जनसंख्या वृद्धिदरलाई हेर्दा हिमाली र पहाडी क्षेत्रका ३२ जिल्लामा वार्षिक जनसंख्या वृद्धिदर ऋणात्मक देखिएको छ जुन गत २०६८ को जनगणनाअनुसार २७ जिल्लामा ऋणात्मक देखिएको थियो ।

यसैगरी सबैभन्दा धेरै वार्षिक वृद्धिदर भक्तपुरमा ९३ दशमलव ३२ र सबैभन्दा कम रामेछाममा –१ दशमलव ६५ रहेको छ । हिमाली जिल्लामध्ये मुगुमा सबैभन्दा बढी ९१ दशमलव ८० वार्षिक जनसंख्या वृद्धिदर देखिन्छ । ग्रामीण–सहरी जनसंख्या वितरण नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका क्षेत्रलाई सहरी तथा गाउँपालिकाको क्षेत्रलाई ग्रामीण क्षेत्र मान्दा २०७८ सालको कूल जनसंख्यामा सहरी ६६ दशमलव ०८ पुगेको छ भने ग्रामीण जनसंख्या ३३ दशमलव ९२ पुगेको छ ।

संघीय संरचनापछि स्थानीय तहलाई सहरी र ग्रामीण क्षेत्रानुसार वर्गिकरण गरी २०६८ सालको जनसंख्यालाई समायोजन गर्दा सहरी जनसंख्या ६३ दशमलव १९ र ग्रामीण जनसंख्या ३६ दबमलव ८१ रहेको थियो ।राष्ट्रिय जनगणना २०६८ मा ५८ नगरपालिका रहेको अवस्थामा कूल जनसंख्याको १७ दशमलव ०७ शहरी जनसंख्या र ८२ दशमलव ९३ ग्रामीण जनसंख्या रहेको थियो ।

स्थानीय तहअनुसारको जनसंख्या वितरण राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार नगरपालिकामध्ये सबैभन्दा धेरै जनसंख्या भएका पाँच नगरपालिकामा क्रमशः काठमाडौँ, पोखरा, भरतपुर, ललितपुर र वीरगञ्ज महानगरपालिका हुन् भने सबैभन्दा कम जनसंख्या भएका पाँच नगरपालिकामा क्रमशः ठूलीभेरी, त्रिपुरासुन्दरी, मादी, लालिगुराँस र जिरी नगरपालिका पर्दछन् ।

सबैभन्दा धेरै जनसंख्या भएको काठमाडौँ महानगरपालिकामा आठ लाख ६५ हजार ९०६ र सबैभन्दा कम जनसंख्या भएको ठूलीभेरी नगरपालिकामा १० हजार १८७ जनसंख्या रहेको छ । बीस हजारभन्दा कम जनसंख्या हुने नगरपालिकाको संख्या १४ रहेको छ भने एक लाखभन्दा बढी जनसंख्या हुने नगरपालिकाको संख्या ३९ रहेको छ ।

गाउँपालिकातर्फ सबैभन्दा धेरै जनसंख्या बैजनाथ गाउँपालिकामा ७० हजार ३१५ र सबैभन्दा कम जनसंख्या भएको नार्पाभूिम गाउँपालिकामा ४४२ रहेको छ । दश हजारभन्दा कम हुने गाउँपालिकाको सङ्ख्या ४६ रहेको छ भने ५० हजारभन्दा बढी हुने गाउँपालिकाको संख्या १५ रहेको छ । जनघनत्व राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार नेपालको जनघनत्व १९८ जना प्रतिवर्ग किमि पुगेको छ, जुन २०६८ सालमा १८० जना मात्र थियो ।

भौगोलिक क्षेत्रानुसार हेर्दा २०६८ सालमा सबैभन्दा धेरै जनघनत्व तराई क्षेत्रमा ३९२ जना प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम हिमाली क्षेत्रमा ३४ जना प्रतिवर्ग किलोमिटर रहेकोमा हाल २०७८ को प्रारम्भिक नतिजा अनुसार पनि सबैभन्दा धेरै जनघनत्व तराई क्षेत्रमा ४६१ जना प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम हिमाली क्षेत्रमा ३४ जना प्रतिवर्ग किलोमिटर रहेको छ ।

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार काठमाडौँ जिल्लामा सबैभन्दा धेरै पाँच हजार १०८ जना प्रति वर्गकिलोमिटर र मनाङमा सबैभन्दा कम तीन जना प्रतिवर्ग किलोमिटर जनघनत्व रहेको छ । जनघनत्वका आधारमा भक्तपुर, ललितपुर, धनुषा र महोत्तरी क्रमशः धेरै जनघनत्व रहेका दोस्रो, तेस्रो, चौथो र पाँचौं जिल्ला हुन् ।

त्यसैगरी मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला जिल्लामा जनघनत्व १० जनाप्रति वर्ग किमिभन्दा कम रहेको छ । तराईमा सबैभन्दा कम जनघनन्व भएको जिल्लामा उदयपुर १६६ जना र पहाडमा रुकुम पूर्व ३५ जना पर्दछन् । परिवारमा अनुपस्थित अक्सर बसोबास विदेशमा रहेका जनसंख्या जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार जम्मा २१,६९,४७८ व्यक्ति नेपालको परिवारबाट अनुपस्थित भई अक्सर विदेशमा बसोबास गरेका देखिन्छन् जसमध्ये १७ लाख ६३ हजार ३१५ पुरूष (८१ दशमलव २८) र चार लाख छ हजार १०३ महिला (१८ दशमलव ७२) रहेका छन् ।

दश वर्षअघि २०६८ सालमा घरपरिवारमा अनुपस्थित (विदेशमा अक्सर बसोबास गर्ने) संख्या १९ लाख २१ हजार ४९४ थियो, जसमध्ये पुरूष १६ लाख ८४ हजार २९ (८७ दशमलव ६४) र महिला दुई लाख ३७ हजार ४ सय (१२ दशमलव ३६ ) थिए । यसरी समग्रमा हेर्दा २०६८ को तुलनामा २०७८ मा विदेशिने महिलाको सङ्ख्या ७१ दशमलव ०९ ले बढेको देखिन्छ । जिल्लागत आधारमा ७७ वटै जिल्लाबाट व्यक्तिहरू विदेश अनुपस्थित देखिएका छन् ।

सबैभन्दा बढी विदेश अनुपस्थित भएका पाँच जिल्लामा काठमाडौँ, कैलाली, झापा, रुपन्देही र मोरङ छन् भने सबैभन्दा कम विदेश अनुपस्थित हुने पाँच जिल्लामा मनाङ, डोल्पा, हुम्ला, मुगु र मुस्ताङ रहेका छन् ।

प्रतिक्रिया