आइतबार, जेठ ६, २०८१

भन्सारलाई स्वचालित प्रणालीमा विकास गर्ने सरकारको तयारी

नेपालखोज २०७८ माघ १२ गते १७:०३

काठमाडौं । भन्सारमा नयाँ–नयाँ प्रविधिको प्रयोग गर्दै आगामी दिनमा भन्सारलाई सरकारले स्वचालित प्रणालीमा विकास गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले ७०औँ भन्सार दिवसको अवसरमा सबै भन्सार कार्यालयहरुमा डिजिटल भुक्तानी कारोबारको उद्घाटन गर्दै भन्सारमा नयाँ–नयाँ प्रविधि जोड्दै आगामी दिन भन्सारलाई स्वचालित प्रणालीमा विकास गर्ने बताएका छन् ।

अर्थमन्त्री शर्माले भन्सारलाई पारदर्शिता सहित व्यापारलाई सहजीकरण गर्ने किसिमको बनाउने काममा सरकार लागि परेको बताए । उनले भन्सार विन्दु र बजारको विन्दु दुबै सुधार गर्नु पर्ने अहिलको आवश्यकता भएको बताए । मन्त्री शर्माले डिजिटल भुक्तानीसँगै वस्तु आयात गर्ने कन्टेनरमा स्क्यानर लागू गर्ने तयारीमा सरकार रहेको बताए । उनले यसरी स्क्यानरको प्रयोगले आफ्नो देश, सामान आएको देश र भन्सारसँग सीमा जोडिएको देशको राष्ट्रिय सुरक्षामा महत्वपूर्ण साधन बन्ने बताए ।

अर्थमन्त्री शर्माले भन्सारमा राजश्व चुहावट र तस्करी नियन्त्रण गर्नु सरकारको लागि मुख्य चुनौती रहेको बताएका छन् । उनले राजश्व चुहावट र तस्करी नियन्त्रणको लागि भन्सार विभागले मात्रै गर्न नसक्ने भएकाले राज्यका सबै संयन्त्र लाग्नु पर्ने आवश्यकता भएको बताए । मन्त्री शर्माले भन्सारमा खुल्ला सिमाको सुरक्षा, सिमा नाकामा हुने व्यापार व्यवस्थापन गर्ने विषय पनि अहिलेको चुनौतीको रुपमा रहेको बताए ।

उनले भन्सारलाई आयात गर्ने विन्दुको रुपमा मात्रै नभएर निर्यात गर्ने माध्यम बनाउनु पर्ने बताए । स्वदेशमा नै उत्पादन भएका वस्तुलाई स्वदेशमा नै बजार उपलब्ध गराउनको लागि सरकारले नीतिगत र संरचनागत सुधार गरेर अगाडि बढ्ने अर्थमन्त्रीको भनाई छ । उनले अहिले भइरहेको भन्सार सम्बन्धि ऐन संशोधन, नयाँ नीतिको निर्माण, संरचनागत र प्रक्रियागत सुधार गर्नु पर्ने आवश्यक रहेको बताए । भन्सार विभाग र उद्योगी व्यवसायीहरु एक अर्काका विरोधी नभई एक अर्काका परिपुरक भएकाले दुबैले आ–आफ्नो जिम्मेवारीलाई पुरा गर्दा झनझट रहित सरल रुपमा भन्सारबाट व्यापारमा सहजिकरण गर्न सकिने औल्याए ।

त्यस्तै अर्थमन्त्री शर्माले भन्सारमा व्यवसायीले उठाएको कारोबार मुल्यको आधारमा भन्सार मूल्याङकनको विषयमा नीजि क्षेत्रसँग छलफल गर्ने बताएका छन् । उनले अर्थमन्त्रालय निरन्तर नीजि क्षेत्रसँगको सहर्काय गरेर अगाडि बढ्ने गरेकाले नीजि क्षेत्रको जाहेजको सम्बोधन गर्ने पक्षमा सरकार रहेका स्पष्ट पारे । मन्त्री शर्माले व्यापार घाटालाई अन्त्य गर्नको लागि नेपालमा नै उत्पादन वृद्धि कच्चा पदार्थ र औजारहरुको आयातको सरकार सरकारात्मक रहेको बताए ।

यस्ता कच्चा पदार्थ र औजारको आयातले नेपालमा नै रोगजारी सृजना र उत्पादन वृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने मन्त्री शर्माको भनाई छ । उनले पछिल्लो समय विपक्षले जनतालाई भ्रम फैल्याउने गरी अर्थतन्त्र चौपट भयो भन्दै गलत प्रचार गरिएको बताए । मन्त्री शर्माले सरकार व्यवसाय र बैंकबीचको अन्तरसम्बन्धलाई सन्तुलित सहकार्य र सहमति जाने खालको वातावरण बनाउन लागि परेको बताए ।

त्यस्तै अर्थसचिव मधुकुमार मरासीनीले भन्सार कार्यालयहरुमा डिजिटल भुक्तानीको शुरुवात भन्सार सम्बन्धि महत्वपूर्ण माइल स्टोन भएको बताए । उनले अनलाइन पेमेन्ट लागू भएसँगै सहज र सरल तरिकाबाट आयातको काम हुने तथा समयको बचत, पारर्दशिता , व्यापारलाई धेरै प्रतिस्पधि र सहज बनाउन भूमिका खेल्ने बताए ।

त्यस्तै भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटाले भन्सारको इतिहासमा पुरानो परम्परागत प्रणलीबाट डिजिटल भुक्तानी शुरुवात भएकाले सुनौलो दिन भएको बताए । उनले आजबाट सबै भन्सार कार्यालयहरुमा डिजिटल भुक्तानी प्रणाली लागू भएको बताए ।

त्यस्तै राजश्व सचिव कृष्णहरि पुस्करले भन्सार प्रशासनलाई आधुनिकीकरण गर्न सरकार अग्रसर भएको बताएका छन् । उनले भन्सारमा लामो समयदेखि रहेका नीतिगत समस्या, प्रक्रियागत समस्या र प्राविधिक समस्यालाई क्रमश सम्बोधन गर्ने काम गरिहेको बताए ।

सचिव पुस्करले भन्सार प्रशासन एकदमै परम्पराग भएकाले कतिपय राष्ट्रिय सुरक्षाको विषयहरु रहेकाले सोचेर र अध्ययन गरेर मात्रै अगाडि बढ्नु पर्ने अवस्था भएकाले आधुनिकिरण गर्न समय लाग्ने गरेको बताए । उनले भन्सारको मूल्यानक विधिलाई वैज्ञानिक बनाउने विषयमा नीजि क्षेत्रसँग सहकार्य भइरहेको बताए ।

प्रतिक्रिया