बुधबार, वैशाख १९, २०८१

समुद्रमुनिको ‘फाइबर-अप्टिक’ चुँडिएपछि…

नेपालखोज २०७८ माघ १२ गते १८:१८


काठमाडौं । दक्षिण प्रशान्त क्षेत्रको टापु राष्ट्र टोंगालाई बाँकी विश्वसँग जोड्न समुद्रमुनि बिछ्याइएको फाइबर-अप्टिक तार चुँडिएको छ । भर्खरै एउटा शक्तिशाली ज्वालामुखी विस्फोटनका कारण तार चुँडिएको हो । महासागरमुनि ४९ हजार ८ सय ८९ किलोमिटर लामो तार मर्मतका लागि एक महिनाभन्दा बढी समय लाग्ने भएको छ ।

समुद्रमुनिको ज्वालामुखी विस्फोटन भएपछि उत्पन्न सुनामीका कारण आजभोलि टोंगाका एक लाख १० हजार मानिसहरूको बाहिरी विश्वसँगको सम्पर्कविच्छेद भएको छ । साउथ प्यासिफिक विश्वविद्यालयको भूउपग्रह प्रयोग गरेर मुख्य टापुमा टूजी प्रविधिको ताररहित इन्टरनेट स्थापना गरिएको छ । तर यो इन्टरनेट निकै सुस्त गतिमा चल्ने गरेको छ ।

टोंगा केबलले सञ्चालन गरिरहेका तारहरू तटीय क्षेत्रमा ३७ किलोमिटरसम्म चुँडिएको आकलन गरिएको छ । ज्वालामुखीपछि कम्पनीले गरेको जाँचका क्रममा तार छिनेको पत्ता लागेको थियो ।

युरोपेली सब सी केवल एसोसिएसनका उपाध्यक्षसमेत रहेका भर्जिन मिडियाका इन्जिनियर पिटर जेमिसनका अनुसार यसको जाँच एकदमै सरल छ । उनले भने, ‘उनीहरूले टापुबाट प्रकाशको एउटा फ्ल्यास पठाउँछन्, जसलाई यात्रा गर्न कति समय लाग्छ भनेर एउटा मेसिनले मापन गरेपछि कहाँ तार टुटेको छ भनेर थाहा हुन्छ ।’

मर्मत गर्ने डुंगा समुद्रमुनि तार टुटेको पहिलो ठाउँमा पठाइन्छ । त्यसपछि यसले आरओभी भनिने टाढैबाट सञ्चालन गर्न सकिने पनडुब्बी साधन वा ग्रापनेल भनिने एउटा चेनजडित हुकको सहायताले टुटेको ठाउँ पत्ता लगाउँछ ।

पानीमुनिको केबल मर्मत गर्न प्रयोग गरिने विशेष डुंगा यो टापु राष्ट्रमा पुग्न केही समय लाग्ने बताइन्छ । यसले तार टुटेको ठाउँमा डुंगामार्फत लगिएको नयाँ तार जोड्छ । तार चुँडिएको अर्को छेउमा पनि त्यसरी नै जोडिन्छ । सबै काम फटाफट हुँदा यसका लागि पाँचदेखि सात दिनसम्म लाग्नसक्छ ।

तर मर्मतका लागि प्रयोग हुने विशेष डुंगा सबैभन्दा पहिले यो टापुमा पुग्न नै समय लाग्छ । यी टापुहरूबाट सबैभन्दा नजिक मर्मत गर्ने डुंगा पपुवा न्युगिनीको मोर्सबाई बन्दरगाहमा छ । जुन ४,७०० किलोमिटर टाढा छ । रिलायन्स नामको यो विशेष डुंगाले दक्षिण प्रशान्त क्षेत्रको ५० हजार किलोमिटर क्षेत्रमा सेवा दिँदै आएको छ ।

टोंगामा ज्वालामुखी विस्फोटनपछि सञ्चारसन्जालमा अवरोध भएको छ । क्षतिको अवस्था अझै अस्पष्ट रहेको छ । तर त्यसअघि विज्ञहरूले हालै ज्वालामुखी विस्फोट भएको सामुद्रिक डुंगा र कर्मचारीहरू सुरक्षित रहे नरहेको निर्क्योल गर्नुपर्ने भएको छ ।

यस्ता खाले मर्मतहरू वर्षमा दुई सयवटा मात्र हुने गरेको अनुमान छ, त्यसमा पनि प्राकृतिक विपत्तिका कारण तारहरू चुँडिने घटना कमै मात्र हुने गर्छन् । अधिकांश तारहरू चुँडिने घटना माछा मार्ने डुंगामा लगाइने जाली र बल्छीका कारण हुने गर्छन् ।

तर रोचक के छ भने तारहरू बिछ्याइएको ठाउँ नजिक कुनै पनि डुंगाहरू आएको अवस्थामा जानकारी दिने प्रविधिको प्रयोग भएको हुन्छ । जसले तारहरू छेउ आउने डुंगाहरूलाई सचेत गराउन मद्दत पुग्छ । डेटा केबलहरू सिसाको फाइबर अप्टिक तत्त्वबाट बनेका हुन्छन् । फाइबरलाई सुरक्षाका लागि बाहिरी आवरणमा प्रयोग गरिएको तत्त्वका कारण मात्रै यस्ता तारहरू मोटो देखिने गर्छन् ।

एउटा महाद्वीपबाट अर्को महाद्वीपसम्म पुग्ने तारहरू समुद्रमुनि एकदेखि दुई मिटर गहिराइसम्म पुरिनुपर्छ । तर धेरे गहिरो समुद्रमा तारहरूमा क्षति पुग्ने सम्भावना कम हुने भएकाले अधिकांश यस्ता तारहरू समुद्रमुनिको सतहमा यत्तिकै छोडिने गरिएका छन् । समुद्रमुनि बिछ्याइएका तारहरूमा क्षति पुग्ने भनेको टोंगामा भएको जस्तो अपवादमा हुने प्राकृतिक विपत् हो ।

सन् २००६ मा ताइवानको तटीय क्षेत्रमा गएको भूकम्पले पनि तारहरू चुँडाएको थियो । त्यसपछि उक्त क्षेत्रमा इन्टरनेट र अन्तर्राष्ट्रिय टेलिफोन सम्पर्क टुटेको थियो । पश्चिमा देशहरूमा एउटा तार टुटिहाले पनि खासै समस्या हुँदैन किनभने यहाँ धेरै यस्ता तारहरू छन् । उदाहरणका लागि यूकेसँग देशमा डेटा आदानप्रदानका लागि यस्ता ५० वटा तार छन् ।

तर टोंगामा यस्तो तार एउटा मात्रै थियो । ‘यस्ता तारहरू दुई वटासम्म हुनु राम्रो हो,’ जेमिसन भन्छन् । तर तारहरू महँगा छन् र फेसबुक, गुगल कुनैले पनि त्यहाँसम्म तार लगेका छैनन् । विश्वभरि अहिले झन्डै ४३० वटा समुद्रमुनि बिछ्याइएका तार छन् । करिब १३ लाख किलोमिटर फैलिएका यस्ता तारहरूले संसारभरि इन्टरनेट र सञ्चार सेवा पुर्याउँछन्

सन् २०१९ मा एउटा जहाजको लंगरका कारण यस्तो तार चुँडिएपछि टोंगाले भूउपग्रहमार्फत सञ्चारका सन्जालका लागि १५ वर्षे सम्झौतामा हस्ताक्षर गरेको थियो । तर ज्वालामुखीको खरानीले देशको आकाश ढाकिएपछि स्याटलाइट फोनहरूले पनि काम गरेनन् । केही व्यक्तिहरूले आफूहरूले फोन गर्न सके पनि आएका फोनहरू उठाउन नसकेको बताएका छन् ।

धेरै खर्चिलो हुने भएकाले स्याटलाइट फोनहरू पनि सरकारी अधिकारी र केही व्यापारिक घरानाहरूले मात्रै प्रयोग गर्ने गरेका छन् । मोबाइल सेवा प्रदायक डिजिसेलले टोंगाटापु भनिने मुख्य द्विपमा साउथ प्यासिफिक विश्वविद्यालयको भू-उपग्रह उपकरणमार्फत टूजी सेवा प्रदान गर्न अन्तरिम प्रणाली जडान गरेको छ ।

-बीबीसी

प्रतिक्रिया