संविधान च्यात्ने धुनमा छ पाँचदलीय गठबन्धन : विष्णु रिमाल

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले एमाले पाँच दलीय गठबन्धनभन्दा बलियो हुने बताएका छन् । उनले सामाजिक सन्जालमार्फत एक्लो एमाले मजबुत भएकाले गठबन्धन निर्वाचनबाट भाग्न खोजेको आरोप लगाए ।
उनले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको समेत दाबी गरे । बुधवार १९ सिटका लागि भएको राष्ट्रियसभा निर्वाचनमा एमालेले एक सिट मात्र जित्दा बाँकी सत्ता गठबन्धनले १८ गठबन्धन विजयी बन्यो । एमालेको तर्फबाट प्रदेश नं १ का सोनाम ग्याल्जेन शेपाले बाजी मारे ।
उपमहासचिव रिमालले भने, ‘अपहरित पूरानो जनमतको बलमा गठबन्धनले मनाउने अन्तिम उत्सव सकियो । चौतर्फी घेरा तोडेर विजयी सोनाम ग्याल्जेन शेर्पालाई हार्दिक बधाई ।’
उनले आगामी स्थानीय, प्रदेश र संघीय निर्वाचनबाट दलहरुको हैसियत पत्ता लाग्ने दाबी गरे । उनले भने, ‘अब हुने निर्वाचन रियल हो, जसले नयाँ जनादेशको मानक तय गर्नेछ । स्पष्ट छ, निर्वाचन हुँदा एक्लो एमाले सिङ्गो गठबन्धनमाथि भारी हुने भएकाले उनीहरू चुनावबाट भाग्ने बहानावाजी गर्दै छन् । संविधान र कानुनमा छिद्र पार्दै त्यसबाट छिरेर मिहेनतका साथ जारी गरिएको संविधान च्यात्ने धुनमा उनीहरू छन् ।’

प्रतिक्रिया