सत्ता गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने, स्थानीय तह निर्वाचन समयमा गर्न देउवा तयार

काठमाडौं । सत्ता गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा स्थानीय तह निर्वाचनबारे छलफल भएको हो ।
नेपाली कांग्रेसभित्र सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई समयमा स्थानीय तहको निर्वाचन गर्न दबाब छ । देउवालाई तीनै तहको निर्वाचन समयमा गर्न कांग्रेसका शीर्ष नेताले दबाब दिएका हुन् । देउवा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई मनाएर समयमा तीनै तहको निर्वाचन गर्न अग्रसर रहेको बताइएको छ ।
देउवालाई पार्टीबाट निर्वाचनको मिति नसार्न दबाब आएपछि बरु देउवा प्रचण्ड र नेपाललाई फकाउन लागिपरेका छन् । बैठकमा स्थानीय तह निर्वाचनबारे ठोस निर्णय नभएको बताइएको छ । तर, आजै बस्ने अर्को बैठकले निर्वाचन सम्बन्धमा ठोस निर्णय गर्ने बताइएको छ ।
नेकपा एमालेले पनि प्रधानमन्त्री देउवालाई स्थानीय तह निर्वाचन समयमा गराउन दबाब दिएपछि देउवा अप्ठ्यारोमा परेका हुन् । उनले गठबन्धन पनि जोगाएर अघि बढ्न बैठक राखेका हुन् । नेपाल र प्रचण्ड सुरुमा संघीय निर्वाचन गर्ने लाइनमा छन् ।

प्रतिक्रिया