मंगलबार, जेठ १, २०८१

‘सरकारले मेडिकल कलेजमा लगाम लगाइदियो’

नेपालखोज २०७८ माघ १५ गते १८:३३

नेपालमा १८ वटा मेडिकल कलेज छन् । यी मेडिकल कलेजहरूले डाक्टर तथा नर्स उत्पादन गर्नका साथै बिरामीको उपचार पनि गर्ने गरेका छन् । पछिल्लो चार वर्षदेखि भने सरकारका नीतिका कारण वित्तीय रूपमा कमजोरी भएर कलेजै बन्द गर्नुपर्ने र लगानीकर्ताहरू बाहिरिनु पर्ने अवस्था आएको सञ्चालकहरूले गुनासो गरेका छन् । नेपालखोजका लागि सहकर्मी केशव भट्टराईले नेपालमा निजी मेडिकल कलेजको अवस्था, चुनौती, काठमाडौं मेडिकल कलेज (केएमसी) को पठनपाठन, बिरामीलाई गर्ने उपचारलगायतको विषयको सेरोफेरोमा रहेर कलेजका प्रिन्सिपल प्राध्यापक डा. रतिन्द्रनाथ श्रेष्ठसँग कुराकानी गरेका छन् ।

हाइलाइट्स :
–लगानीकर्ताहरू मेडिकलबाट बाहिरिने अवस्था हुनु दुखद् पक्ष हो । तीन–चार वर्षदेखि नेपालमा लगानीको वातावरण छैन । निजी संस्थाहरू बैंकबाट निकालिएको ऋणमा चलेका हुन्छन् । खर्च धान्नै गाह्रो छ ।
–मेडिकल कलेज चल्ने भनेकै विद्यार्थीको ट्युसन शुल्कबाट हो । तर विगत तीन–चार वर्षदेखि त्यस्तो छैन । ट्युसन शुल्क नबढाइँदा र विद्यार्थीको सिट संख्या नघटाइँदा आम्दानीभन्दा खर्च बढी देखिएको छ । यसले गर्दा संस्था धरासायी हुने अवस्थामा पुगेको छ ।
–जब कुनै संस्था घाटामा हुन्छ भने उसले बेच्छ, नाफामा भएको संस्था कसैले बेच्दैन । एकातिर सरकारले यो संस्था कम्पनी रजिस्ट्रारको कार्यालयमा स्थापना भएको शैक्षिक उद्योग हो भन्छ । शैक्षिक उद्योग सञ्चालन गर्न नाफा नभईकन सम्भव पनि छैन ।
–सरकारले मेडिकल कलेजमा लगाम लगाइदिएको छ । कलेज चलाउन नसकेको स्थिति भएकाले पुराना लगानीकर्ताले धमाधम बेचिरहेको अवस्था छ ।
–मेडिकल कलेजले ४० लाख रुपैयाँ बढी शुल्क असुलेको हल्ला फिँजाइएको छ । तर त्यो एक महिनाको ४० लाख होइन, साढे पाँच वर्ष (६६ महिना) अवधिको हो । यसमा अर्कातिर १० प्रतिशत विद्यार्थी छात्रवृत्तिमा पढाउनुपर्ने अवस्था पनि छ । खर्च धेरै छ ।
–काठमाडौंको एक विद्यालयमा दुई कक्षा पढ्ने विद्यार्थीको शुल्क प्रतिमहिना ५० हजार रुपैयाँ छ । अर्को विद्यालयमा तीन कक्षाको विद्यार्थीको शुल्क ७० हजार छ । हाम्रो महिनाको खर्च ६ करोड रुपैयाँ छ । तर मेडिकल कलेजमा हिसाब गर्दा महिनाको ४६ हजार मात्रै तिर्नुपर्छ ।
–सरकारले उपयुक्त नीति नबनाउँदा वित्तीय व्यवस्थापनमा चुनौती आएको छ । कोरोना संक्रमणले बिरामीको सेवामा मात्रै निश्चित समयसम्म असर गर्यो । सरकारको नीति सही नहुँदा, भएका नियम कार्यान्वयन नगर्दा र सम्बन्धित विषयलाई राजनीतिसँग जोड्दा मेडिकल कलेजमा समस्या भएको हो ।
–काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजमा मात्रै विद्यार्थी आन्दोलन भयो । आन्दोलन हुनुका कारण यी दुई कलेज बढी इमानदार भएर हो जस्तो लाग्छ । अर्कातिर चिकित्सा शिक्षा आयोगले ऐनमा नभएको कुरोलाई हस्तक्षेप गरेर जथाभावी निर्देशन दिँदा आन्दोलनको स्थिति आएको हो ।
–काठमाडौं मेडिकल कलेज विभिन्न मेडिकल कलेजहरूमा नम्बर एक छ । केही समयअघि नेपाल मेडिकल काउन्सिलमा लिइएको लाइसेन्स परीक्षामा यस कलेजका विद्यार्थीहरूले ७८ दशमलव ०२ प्रतिशत पास रेटमा रिजल्ट निकालेका छन् ।
–केएमसीमा बढी बिरामी उपचार गर्न आउनुको कारण बेस्ट डाक्टर भएर हो, म गर्वका साथ भन्छु । काठमाडौंका ठूलाठूला कर्पोरेट अस्पतालमा काम गर्ने डाक्टर यहीँ सेवा गरेर गएका छन् ।

प्रतिक्रिया