‘विपत् न्यूनीकरण गर्न सरकार क्रियाशील’

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले प्राकृतिक विपतलाई विज्ञान र सीपको प्रयोग गरेर न्यूनीकरण गर्न सरकार क्रियाशील रहेको बताएका छन् । भर्चुअल माध्यममा भएको विपत् न्यूनीकरणसम्बन्धी कार्यक्रममा आज गृहमन्त्री खाँणले प्राकृतिक विपतबाट नागरिकलाई बचाउन सबैको हातेमालो जरुरी रहेको बताए।
मुलुकका ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी भर्चुअल माध्यमबाट जोडिएको कार्यक्रममा गृहमन्त्री खाँणले पुर्खाले अवलम्वन गर्दै आएका परम्परागत सीपको प्रयोग विपत् जोखिम न्यूनीकरणमा लगाउनसमेत आग्रह गरे ।
गृहमन्त्री खाँणले भवन निर्माणको मापदण्ड पालना गर्न पनि आग्रह गरेका छन्। पहाडमा जथाभावी खनेर बाटो बनाएका कारण जोखिम बढेको र नयाँ निर्माणले पुरानो संरचनामा जोखिम ल्याएकाले त्यसलाई कसरी घटाउने भन्नेबारेमा सरकार लागिरहेको बताए।
गरिब तथा अशक्तलाई तराईमा शीतलहर र हिमालमा हिमपातबाट बचाउन सक्रियरूपमा लाग्न प्रमुख जिल्ला अधिकारीलाई गृहमन्त्री खाँणले निर्देशन दिए। उनले कोभिड–१९ बाट बच्न स्वास्थ्य मापदण्ड पालना गर्नसमेत आग्रह गरे।
कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डेले पूर्वसूचना प्रणालीजस्ता नवीन प्रविधिहरूको प्रयोग विपतको न्यूनीकरणमा लगाउन आवश्यक रहेको बताए । समयमै सानो सावधानी अपनाएमा ठूलो विपतबाट जोगिन सक्ने उनको भनाइ थियो । यस विषयमा मन्त्रालय सकारात्मक रहेको गृहसचिव पाण्डेले बताए ।

प्रतिक्रिया