तेस्रो लहरमा मृत्यु हुनेमा खोप नलगाउने बढी, भ्याक्सिनेसनको प्रभाव सकारात्मक

नयाँदिल्ली । कोरोना भाइरसको तेस्रो लहरमा संक्रमितहरुको संख्या निकै बढी भएको एक अध्ययनले देखाएको छ । निजी अस्पतालद्वारा गरिएको उक्त अध्ययनअनुसार तेस्रो लहरको कोभिड महामारमा मृत्यु हुनेको ६० प्रतिशत मानिस सिंगल डोज खोप लिने वा खोप नै नलगाउनेहरु छन् । म्याक्स हेल्थकेयरको यो अध्ययनअनुसार मृतकमा धेरैजसोको आयु ७० वर्षभन्दा बढी भएको पाइएको छ । त्यसमा पनि धेरै जसो डायबिटिज, क्यान्सर, मिर्गौला वा मुटुका विभिन्न समस्याबाट ग्रस्त भएको बताइएको छ ।
अस्पतालद्वारा जारी तथ्यांकअनुसार म्याक्सका अस्पतालहरुमा मृत्यु भएका ८२ जना कोभिडका बिरामीमा ६० प्रतिशत अनभ्याक्सिनेटेड थिए वा उनीहरुले एक मात्रा मात्र खोप लगाएका थिए । यसमा कमजोर इम्युनिटी भएका वा पहिलेदेखि नै कुनै दीर्घरोगको सिकारहरु मृत्युको ठूलो जोखिममा रहेको पनि देखिएको छ ।
महामारीको तीनवटै लहरको तुलनात्मक अध्ययनबाट के देखिन्छ भने कोरोनाको तेस्रो लहरमा २३.४ प्रतिशत बिरामीलाई अक्सिजन सपोर्टको आवश्यकता पर्यो । कोरोनाको डेल्टा भेरियन्टका कारण उत्पन्न दोस्रो लहरमा ७४ प्रतिशत तथा पहिलो लहरमा ६३ प्रतिशत संक्रमितलाई अक्सिजन सपोर्ट दिनुपरेको बताइन्छ ।
पहिलेको जस्तो संकट छैन
अस्पतालको नेटवर्कमा ४१ जना नाबालिग भर्ना भए पनि यो आयु वर्गमा कसैको पनि मृत्यु भने नभएको अध्ययनले देखाएको छ । यसमा सात जनालाई आईसीयू तथा दुई जनालाई भेन्टिलेटरमा राख्नुपरेको थियो । तथ्यांकअनुसार विगतका लहरमा २८ हजारसम्म बिरामी भर्ना भएको अस्पतालको कुनै पनि शय्या खाली नभएको परिस्थिति थियो । आईसीयूमा समेत भरिभराउ बिरामी थिए । गएको साता जब कोरोनाको तेस्रो लहर उत्कर्षमा पुगेको थियो त्यतिबेला पनि अस्पतालहरुमा खासै अभाव वा संकट देखिएन ।
मृत्युदर पनि कम
रिपोर्टअनुसार, पहिलो लहरमा २० हजार ८८३ जना बिरामी अस्पतालमा भर्ना भएको ठाउँमा दोस्रो र तेस्रो लहरमा क्रमश: १२ हजार ४४४ तथा एक हजार ३७८ जना मात्र अस्पतालमा भर्ना भएको पाइयो । तथ्यांकअनुसार, पहिलो लहरमा मृत्युदर ७.२ प्रतिशत थियो भने दोस्रो लहरमा मृत्युदर बढेर १०.५ प्रतिशत पुग्यो । २०२२ लागेयताको मृत्युदर भने ६ प्रतिशत मात्र छ ।
भ्याक्सिनेसनको सकारात्मक प्रभाव
अध्ययनअनुसार कोरोनाको तेस्रो लहर ओमिक्रोनमा पछिल्लो समय अस्पताल भर्ना हुने संक्रमितको संख्या केही बढेको तथा मृत्यु हुनेको संख्यासमेत बढेको छ । यद्यपि ओमिक्रोन भेरियन्ट कोरोनाको पछिल्लो स्ट्रेनको तुलनामा निकै माइल्ड साबित भइरहेको छ । कोरोनाविरुद्धको भ्याक्सिनेसनका कारण हस्पिटलाइज हुनुपर्ने वा अक्सिजन दिनुपर्ने आवश्यकता पनि कम देखिएको यो अध्ययनको निष्कर्ष छ ।
(भारतीय सञ्चारमाध्यमहरुको सहयोगमा)
प्रतिक्रिया