रावलको खुलासा : बाबुरामले गोप्यरूपमा सुरू गरेका थिए एमसीसी

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले एमसीसी सम्झौतामा तत्कालीन अर्थमन्त्री डा. बाबुराम भट्टराईले अनुचित साँठगाँठ गरेको हुनसक्ने आरोप लगाएका छन् । रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर रावलले नेपालमा संविधानसभाबाट संविधान निर्माणको काम भइरहेका बेला डा. भट्टराईले एमसीसी ल्याएको दाबी गरे ।
उनले कसैलाई जानकारी नगराई भट्टराईले एमसीसी गोप्यरूपमा सुरू गरेको दाबी गरे । उनले आफैँले ल्याएको भएर भट्टराईको स्वर एमसीसी पारित गर्ने पक्षमा रहेको दाबी गरे । रावलले भने, ‘नेपाल संविधान निर्माण र शान्ति प्रक्रियाको संवेदनशील चरणमा थियो । म आफैं र हामी संविधान निर्माण र शान्ति प्रक्रियामा संलग्न व्यस्त थियौं । त्यो बेला हामीलाई जानकारी नगराई तत्कालीन अर्थमन्त्री डा. बाबुराम भट्टराईले गोप्यरूपमा सुरू गर्नुभएको हो । त्यही भएर अहिले ठुल्ठूलो स्वरमा एमसीसी पारित गर्नुपर्छ भनेर चिच्याइरहनुभएको छ । हुनसक्छ उहाँले त्यहीबेला गोप्य साँठगाँठ गर्नुभएको थियो होला ।’
एमसीसी सम्झौताको बारेमा आफूले प्रतिनिधिसभामा सम्झौता वितरण भएपछिमात्र थाहा पाएको रावलले दाबी गरे । उनले एमसीसी कुनै हालतमा पास गर्न नदिने अडान लिएका छन् । उनले एमसीसी नेपालको पक्षमा नरहेको दाबी गरे ।

प्रतिक्रिया