कालो दिन ! माघ १९, राजतन्त्र अन्त्य भयो तर जनताका समस्या उस्तै

नेपालखोज २०७८ माघ १९ गते १३:१८

काठमाडौं । तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन व्यवस्था आफ्नो हातमा लिएको दिन हो माघ १९ । यो दिनलाई नेपालको प्रजातान्त्रिक आन्दोलनमा कालो दिनको रुपमा लिइन्छ ।

२०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नो हातमा लिने घोषणा गरेका थिए । उनले आफैंले नियुक्त गरेका प्रधानमन्त्री शेरबहादुर देउवालाई हटाएर आफ्नो अध्यक्षतामा मन्त्रिपरिषद् गठनको घोषणा गरेका थिए ।
दरबार हत्याकाण्ड लगत्तै राजा बनेका ज्ञानेन्द्रले मुलुकमा राजनीतिक अधिकार, मानवअधिकार तथा प्रेस स्वतन्त्रता कुण्ठित गरेर मोबाइल र टेलिफोन लाइन बन्द गराएका थिए । रेडियोमा समाचार रोक लगाइएको थियो । राजनीतिक दलका नेतालाई नजरबन्दमा राखिएको थियो ।

ज्ञानेन्द्रको यस कदमले जनयुद्ध चलाइरहेको तत्कालीन माओवादी र संसदवादी दलहरुलाई एकजुट बनायो । दलहरु राजाको उक्त प्रत्यक्ष शासनको विरुद्ध एकजुट भए र आन्दोलन चर्कियो । २०६२–०६३ को जनआन्दोलनको सुत्रपात पनि यहि दिनको कदम मानिन्छ । २०६२ मंसिरमा दिल्लीमा द्वन्द्वरत माओवादी र तत्कालीन सात दलबीच १२ बुँदे समझदारी भएको थियो । त्यसपछि माओवादीसहित ८ राजनैतिक शक्तिले राजसंस्था विरुद्ध आन्दोलन गरेका थिए । त्यहि आन्दोलनको सफलतापछि २ सय ३८ वर्षीय राजसंस्थाको अन्त्य भएको थियो । तर निरंकुश राजसंस्था अन्त्य भएको लामो समय भइसक्दा समेत मुलुक संक्रमणकालबाट अगाडि बढ्न सकेको छैन ।

विकास निमार्णका कार्यले गति लिन सकेका छैनन् । भ्रष्टाचार रोकिएको छैन भने जनताको जीवनस्तर माथि उठ्न सकेको छैन । तत्कालीन राजा ज्ञानेन्द्र अहिले आम नागरिकका रुपमा रहे पनि उनी विभिन्न ठाउँमा जाँदा ‘राजा आउ देश बचाउ’ नारा लागिरहन्छ । अहिले देशमा फेरि आन्दोलन सुरु भएको छ । १७ वर्षपछि अहिले देउवाले नै सरकारको नेतृत्व गरिरहेका छन् ।

ज्ञानेन्द्रले सत्ताबाट हट्दा जनताको नासो जनतालाई नै भनेर छाडेका थिए । उनले जनताको जीवनस्तर उकास्न आफ्नो सत्ता बाधक भएको भए छाड्ने भन्दै सत्ता छाडे । आज पनि ज्ञानेन्द्रले सजिलै सत्ता छाडेको भनेर उनको प्रशंसा गर्ने उत्तिकै छन् । पार्टीले गर्दा दिक्क भएर कतिपय मानिसहरु फेरि देशमा राजतन्त्र फर्किने वकालत गर्न थालेका छन् । पूर्वराजाको लोकप्रियता बढेको भनेर सामाजिक सन्जालमा राजसंस्थाका पक्ष र विरोधीबीच बहस हुने गरेको छ ।

प्रतिक्रिया