मंगलबार, फागुन १५, २०८०

नेपालको एकमात्र घुमन्ते प्रजाती राउटे

सुनिल उलक २०८० असोज ६ गते ७:४७

राउटेको अचेल सामाजिक सञ्जालमा निकै चर्चा परिचर्चाले धेरैले राउटेहरुको रहनसहन, भेषभुषा तथा बोलीचाली बारे जानकारी पाउन थालेका छन् । पहिले एनजिओ तथा आइएनजिओको नाममा डलर कमाउनेहरु राउटे बस्तीमा पुग्दथे ।

अहिले यूट्यूवरहरु डलर कमाउन राउटे बस्ती पुग्ने गरेका छन् । तर राउटेको जीवनशैलीमा भने कुनै परिवर्तन आएको देखिदैन । कतिपय सुधार र सामाजिक कुराहरु उनिहरु स्विकार्दैनन् । कतिपय सरकार र यहाँको समाजले स्विकार्न दिदैनन् ।

वास्तवमा भनौ भने राउटेहरु घुमन्ते आदिवासी जनजातिको अन्तिम र एक मात्र बचेको प्रजाति हो । तसर्थ यि राउटेहरुको लागी स्थाइ घर बनाइदिने र अन्य ब्यबस्था मिलाउने भनेको एक मात्र घुमन्ते प्रजातिलाई हाम्रो समाजमा समाहित गरेर बिलुप्त गर्नु हो । यिनीहरुलाई यसरी नै बाँच्न दिनुपर्छ ।

सरकार वा यहाँको समाजले यिनीहरुको जीवन रक्षा गर्नको लागी यिनीहरुलाई यिनीहरुले उत्पादन गर्ने सामग्री उत्पादनमा सहयोग गर्ने तथा सो उत्पादित सामग्री खरिद गरिदिने हो । यि सामग्री बजारमा बिक्छन् वा बिक्दैनन् भन्नु भन्दा पनि यिनीहरुबाट उचित मुल्यमा खरिद गरिदिएमा अन्य आर्थिक सहयोगको अपेक्षा राख्ने गर्दैनन् ।

बजारमा आँउदा यिनीहरुले तैयार बनाएर बिक्रिका लागि ल्याइएका सामग्री किन्न नखोज्ने वा सस्तोमा किन्न खोज्ने गर्दा यिनीहरुमा आर्थिक अभावको अवस्था सिर्जना भयो । जसले गर्दा यिनीहरु आफू बसेको नजिकको बस्तीमा माग्नको लागी पनि पस्न थाले । नेपाल सरकारले मासिक लोपोन्मुख भत्ता बापत ३००० र कर्णाली प्रदेश सरकारबाट २००० गरि मासिक ५००० पाउने ब्यबस्था गरेको छ । यस किसिमको ब्यबस्थाले सरकारले राउटे प्रजातिको सुरक्षण गरेको भन्ने गरेको छ । वास्तवमा यसरी रकम उपलब्ध गराउनु गलत हो ।

यसको सत्ता उनिहरुलाई उनिहरुले तैयार गर्ने काठको सन्दुस, कौशी, औखल तथा सिलौटाहरु उत्पादन गर्न सहयोग गर्ने तथा ति उत्पादित वस्तु सरकारले खरिद गरिदिने ब्यबस्था मिलाएको भए उनिहरु आत्मनिर्भर हुन्थे । तर अचेल उनिहरुले यि सामग्री उत्पादन गर्न बिस्तारै छोडिसके । काठ पाइदैन काट्न दिदैन भनेर पन्छिन थालेका छन् । साथमा सरकारसंग बिभिन्न सहयोगको माग गर्न थालेका छन् । सरकारले लोपोन्मुख भत्ता उपलब्ध गराउँदा उल्टो अझ बढि रकमको अपेक्षा गर्न थालेका छन् ।

नेपालमा राउटेहरुको बारेमा बिस्तृत अध्ययन २०२५ सालमा भएको थियो । अमेरिकी मानवशास्त्री एवं पुरातत्वविद योहन रेयनहर्डले २०२५ साल पुसदेखि फागुन सम्म राउटे बस्तिमा नै बसेर अध्ययन गरेका थिए । हुन त रेयनहर्ड २०२४ को अन्तमा नै नेपाल आउनु भएर नेपालको अर्को आदिवासी कुसुण्डा सम्बन्धी अध्ययन गर्दै थिए ।

कुसुण्डाका राजामामा संग बसेका थिए । कुसुण्डाको भाषा र लिपि सम्बन्धी पनि अध्ययन गरेका थिए । कुसुण्डा सम्बन्धी अध्ययन गर्ने क्रममा नै राउटेहरुको बारेमा पनि सुनेपछि उनले राउटेको अध्ययन पनि थालेका थिए । यस अगाडि राउटेको विषयमा योगी नरहरीनाथले २०१३ सालमा प्रकाशित आफ्नो पुस्तक ‘इतिहास प्रकाश’मा राउटे बारेमा लेखेका छन् । बिदेशीको हकमा भने रेयनहर्ड नै पहिलो ब्यक्ति थिए जो राउटे बस्तिमा पुगेर राउटेहरुसंग बसेर उनिहरुको विषयमा अध्ययन गरेका थिए ।

रेयनहर्डसंग दुइ पटक मेरो भेट भएको थियो । भेटमा फोटोहरु मलाई हस्तान्तरण पनि गरेको थिए । भेटमा वहाँसंग कुसुण्डा तथा राउटेको विषयमा कुराकानी नभए पनि उनले गरेको अध्ययनहरु समेटेको लेख दिएको थिए ।

नेपालमा कुसुण्डा प्रजाति र उनिहरुको बिलुप्त हुदै गरेको भाषा सम्बन्धी अध्ययन गर्ने मनसायले नेपालमा आएका रेयनहर्डले कुसुण्डाहरुसंगको कुराकानीकै समय राउटेको बारेमा सुने पछि राउटेहरुको विषयमा पनि बिशेष चासो लिन थालेका थिए । राउटेहरुको विषयमा सुनेपछि राउटेहरुको बस्ति खोज्न २०२५ पुस ५ गते रेयनहर्ड काठमाडौबाट सुर्खेत लागेका थिए । त्यसपछि पनि राउटेहरुलाई खोज्न करिव ३ हप्ता लागेको थियो ।

अन्तत २०२५ पुस २७ गते उनले बस्ति सर्दै गरेका लामबद्ध राउटेहरुलाई टाढाबाट देखे । त्यस पछि उनिहरुको नजिक जाने खोजे । राउटेहरु अन्य मानिसहरुको नजिक जान खोज्दैनन् तथा नजिक आएको रुचाउदैनन् । त्यसमा झन एक बिदेशीको लागी अझ गाह्रो थियो उनिहरुको बारेमा बुझ्न । उनिहरुको मुख्य बसोबास क्षेत्र कर्णाली भेरी र बबइ नदि वरपर सुर्खेत, दैलेख र सल्यान जिल्ला नै थियो । २०२२ को पुस देखी २०२९ को पुस सम्मको अध्ययनमा उनिहरुको बसाइ स्थल यहि सेरोफेरो नै थियो ।

यी प्रजाती जंगलको राजाको रुपमा धेरै अगाडि देखी वनरावत, जंगली तथा वनमानुस भन्ने गरिन्थ्यो । राउटेहरुको बारेमा जेना फोर्टियरले “Kings of the Forest” लेखेका छन् भने ओम गुरुङले Route of Nepal लेखेका छन् । त्यस्तै गणेश ओलीले The Rautes: The Endangered Jungle Tribe of Nepal लेखेका छन् । त्यस्तै रेयनहर्डको Raute (Nepal): Camp Scenes and Bartering को साथै अन्य पुस्तकहरु पनि भेटिन्छ । साथै

बिबिसी टेलिभिजनले Living with Nomads शिर्षकको श्रृंखलामा केथ हम्बलले नेपालका राउटेहरुको साथ बिताएको डकुमेन्ट्री नै बनाएको थियो ।

समय अनुसार राउटेहरुको जीवनशैलीमा पनि फरक आएको छ । पहिले पहिले छाप्रो बनाउँदा रुखका हाँगा पातपतिङ्गरले छाउँथे । अहिले भने पालमा निर्भर हुन थालेका छन् । बलियो पालको लागी सरकारलाई गुहार्छन् । बस्ति नजिकै बस्न थालेपछि बियरको स्वादमा रम्न थालेका छन् । खाजाको रुपमा चाउचाउको प्रयोग बढ्दै गएको छ । केहीले मोबाइल पनि चलाउन थालेका छन् ।

राउटेहरुको इतिहास

राउटेहरुसंग आफ्नो कुनै इतिहास छैन । घुमन्ते र देवताको सन्तान भन्ने गरिए पनि राउटेहरुको उद्गम स्थल फुकोट भन्ने गरिन्छ । उनिहरुकै कथन अनुसार फुकोटमा बस्ने बिष्णु ठकुरीका सात भाइ छोरा मध्य माहिलो छोराले पारिवारिक सजाय बापत गाउँबाट निष्कासित भएर जंगल बस्नु परेको भन्ने कथन छ ।

कति सय वर्ष अगाडिको कुरा हो भन्ने कुनै यकिन तथ्य छैन । अहिलेका राउटे तिनै माहिलोका सन्तान हुन भनिन्छ । राउटेहरुको जनसंख्या ७०० जति भए पनि अहिले वास्तविक राउटेहरुको संख्या मुश्किलले १५० जति मात्र छ । बाकी अन्य राउटे समाजमा घुलमिल भइसकेका छन् । राउटेहरुमा आफ्नो संख्या गन्नु हुदैन भनेर यकिन संख्या भन्ने गर्दैनन् ।

मुख्य गरेर राउटेहरु तीन गोत्रका छन् कल्याल गोत्र, रास्कोटी गोत्र र सूर्यवंशी छत्याल गोत्र । यि तीन गोत्र बिच बिबाह चलाउछन् । आफ्नै गोत्रमा बिबाह गर्न नहुने हुँदा कल्यालहरु रास्कोटीसंग र समालहरु कल्यालसंग बिहे गर्दछन् । कल्यालहरुको संख्या सबैभन्दा अधिक र रास्कोटी तथा समालहरुको संख्या न्यून हुँदा बिबाहको उमेर पुगे तापनि बिहे हुन नपाएका कल्याल युवायुवतीहरुको संख्या बढ्दै गएको छ ।

राउटेहरुमा समुहगत महामुखिया र गोत्र अनुरुप तीन मुखिया हुने गर्दछ । निकै लामो समय देखी राउटेहरुको महामुखिया मइनबहादुर कल्याल (शाही) छन् भने अन्यमा कल्याल मुखिया बीरबहादुर शाही, रास्कोटी मुखिया सूर्यनारायण शाही तथा समाल मुखिया डीलबहादुर शाही हुन ।

२०७५ असार ३० गते देखि गुराँस गाउँपालिकाले परिचय पत्र प्रदान गरेको थियो । जस अनुसार उनिहरुलाई नागरिकता पनि दिने प्रयासहरु भइरहेको छ । केही समय देखी सुर्खेतको दमारमा बस्दै आएका राउटेहरु हालै सल्यान जिल्लाको काल्चे डाँडामा बसाइसरेका छन् । अहिले यिनीहरु ४६ घरधुरीका १४३ जना भएको जनाइएको छ ।

राउटेहरु मुख्यतया कुनै पनि ठाउँमा बस्दै गर्दा कुनै सदस्यको मृत्यु भयो भने बसाइसर्ने गर्दछन । शवलाई आफू बस्दै आएको ठाउँमा नै गाड्दछन् र सो ठाउँ छोडेर नयाँ ठाउँको खोजीमा निस्कन्छन् । पछिल्लो पटक सुर्खेतको बसाइमा राउटे बस्तिमा आएर यूट्यूव तथा टिकटक बनाउनेले दुख दिन थालेपछि पनि सर्न बाध्य भएका थिए । तर मुखियाले भने सुर्खेतमा बढि गर्मी भएको हुँदा बसाइ सर्नुपरेको जानकारी दिएका थिए ।

प्रतिक्रिया