माधव नेपाल भन्छन्- गठबन्धन टुट्ने समाचार मनगढन्ते

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धन नतोडिने जनाएका छन् । बालुवाटारमा आज (बुधबार) प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र आफूबीचको भएको छलफलले गठबन्धनलाई अझ मजबुत बनाएको उनले जनाएका छन् । अध्यक्ष नेपालले गठबन्धन तोड्न खोज्नेहरूको चाहना पूरा नहुने र गठबन्धन दिगो रूपमा जाने दाबी गरेका छन् ।
बालुवाटारमा छलफल सकेर आफ्नो पार्टी निकट अनेरास्ववियुले आयोजना गरेको रक्तदान कार्यक्रममा पुगेका अध्यक्ष नेपालले ‘गठबन्धन टुट्नेवाला छैन’ भने । अध्यक्ष नेपालले कसैले टुटाउन खोजे पनि गठबन्धन नटुट्ने जनाए । केही सञ्चारमाध्यममा आएका समाचारबारे पनि सत्यतथ्य के हो भनेर छलफल गर्दा मनगणन्ते कुरा धेरै आएका उनले जनाए ।
उनले गठबन्धन भत्कनेजस्ता समाचारमा सत्यता नभएको दाबी गरेका थिए। ‘यो गठबन्धनलाई बलियो बनाएर लैजानुपर्दछ भन्ने कुरा हामी सबैले प्रतिवद्धता व्यक्त गरेका छौं,’ उनले भने, ‘जनताको हितलाई केन्द्रमा राख्ने नीति हामीले लिएका छौं।’

प्रतिक्रिया