२०२२ मा २१ करोड बेरोजगार !

काठमाडौं । २०१९ मा संसारभर १८.६ करोड मानिस बेरोजगार थिए । २०२२ यो संख्यामा ११ प्रतिशतले वृद्धि हुँदै २.१ करोड बेरोजगार थपिने अनुमान छ । कोरोना महामारीका दौरान बेरोजगारी जुन हिसाबले बढ्यो त्यो पुरानै अवस्थामा फर्कन अझै केही समय लाग्नेछ । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) का अनुसार सन २०२२ मा संसारमा बेरोजगारको संख्या २०.७ करोड रहन सक्छ ।
आईएलओद्वारा जारी रिपोर्ट ‘वर्ल्ड एम्प्लायमेन्ट एन्ड सोसल आउटलुक- ट्रेन्ड २०२२’ अनुसार २०२२ मा कामको घण्टामा समेत कमी आउनेछ । अनुमानअनुसार ५.२ करोड फुल टाइम नोकरीबराबरले कामको घण्टामा समेत कमी आउनेछ । २०२१ मा कामको घण्टामा २.६ करोड पूर्णकालीन नोकरी बराबर कमी आएको थियो ।
आईएलओको रिपोर्टअनुसार २०२१ को तुलनामा २०२२ मा स्थितिमा केही सुधार भने देखिने सम्भावना छ । यद्यपि २०२२ मा काम गरेको समय (घण्टामा) मा महामारीभन्दा पहिलेको तुलनामा २ प्रतिशतले कमी आउनेछ । यसबाट के स्पष्ट हुन्छ भने रोजगारीको स्थितिमा सुधार आउन अझै केही समय लाग्नेछ । आईएलओका अनुसार संसारको बेरोजगारीको यो स्थिति कम से कम २०२३ सम्म महामारीभन्दा पहिलेको स्तरमा पुग्न सक्दैन ।
बेरोजगारहरुको तथ्यांक २०१९ मा १८ .६ करोड थियो जुन २०२० मा २२.४ करोड पुग्यो । २०२१ मा यसमा केही सुधार आएकाले बेरोजगारहरुको संख्या २१.४ करोडमा सीमित रह्यो । अनुमानअनुसार बेरोजगारहरुको संख्या २०२२ मा २०.७ करोड तथा २०२३ मा २०.३ करोड रहनेछ ।
अन्तर्राष्ट्रिय स्तरमा बेरोजगारी दरको कुरा गर्दा २०१९ मा यो ५.४ प्रतिशत थियो जुन २०२० मा बढेर ६.६ प्रतिशत पुग्यो । आईएलओका अनुसार बेरोजगारी दर २०२१ मा ६.२ प्रतिशत थियो भने अब २०२२ मा यो ५.९ प्रतिशत तथा २०२३ मा ५.७ प्रतिशत रहने सम्भावना छ ।
महामारीका कारण उत्पन्न अनिश्चितता जिम्मेवार
रिपोर्टअनुसार २०२२ को पूर्वानुमानमा कोभिड-१९ का डेल्टा तथा ओमिक्रोनले समेत प्रभाव पारेका छन् । यसले रोजगारीमा पर्ने असरका साथ-साथै महामारीलाई लिएर व्याप्त अनिश्चिततालाई पनि दर्शाउँछ ।
आईएलओका महानिर्देशक गाय राइडर भन्छन्, ‘श्रम बजारमा व्यापक सुधारबिना महामारीको यो संकटबाट पार पाउन सकिँदैन । त्यति मात्र होइन सुधारका लागि राम्रो कामको सिद्धान्तमा आधारित हुनुपर्नेछ । यसको अर्थ स्वास्थ्य, सुरक्षा, समानता, सामाजिक सुरक्षा तथा सामाजिक संवादमा सुधार हो ।’
रिपोर्टअनुसार यदि नोकरी तथा जीविकामा छाएको महामारीको यो कालो बादल चाँडै नहट्ने हो भने श्रम बजारमा स्थायी प्रतिकूल प्रभाव पर्नेछ । त्यति मात्र होइन बढ्दो बेरोजगारीले गरिबी तथा असमानतासमेत वृद्धि गर्नेछ । अहिले संसारभर खाद्य सुरक्षाको स्थिति थप खराब भइरहेको छ भने स्वास्थ्य सेवामा समेत दबाब बढेको छ । यसले आफ्नो जीविकाका लागि संघर्ष गरिरहेका मानिसहरुको समस्या अझ बढाएको छ ।
प्रतिक्रिया