संसारमा सबैभन्दा बढी बिक्री हुने कार

काठमाडौं । संसारका विभिन्न देशमा अलग-अलग संस्कृति छ । देशअनुसार खानपानदेखि लगाउने पहिरनमा पनि विविधता पाइन्छ । यो कुरा कारको मामिलामा पनि लागु हुन्छ ।
कारका विषयमा पनि देशअनुसार मानिसको फरक-फरक रुचि पाइन्छ । जस्तो हाम्रो नेपालमा साना कार तथा एसयूभी (SUV) को बजार राम्रो छ । समाजको स्ट्रक्चर तथा आर्थिक स्थितिका कारण पनि नेपालमा साना कारको बिक्री बढी भएको हो । यसै गरी युरोपेली देशहरुमा ह्याचब्याक (Hatchback) लोकप्रिय छ भने अमेरिकीहरु पिकअप बढी मन पराउँछन् । अमेरिकामा बढी गाडी बिक्री हुने हुँदा संसारमा सबैभन्दा बढी बिक्ने कार पनि पिकअप नै हो ।
अमेरिकामा सर्वाधिक बिक्री हुने कार
अटो सेक्टरको डाटा एनलाइसिस गर्ने कम्पनी JATO Dynamics ले अलग-अलग देशमा मन पराइने कारका सम्बन्धमा एउटा रिपोर्ट तयार गरेको छ । उक्त रिपोर्टअनुसार, अमेरिकीहरुलाई सबैभन्दा बढी मनपर्ने गाडी पिकअप हो । अमेरिकीहरुले खासगरी फोर्डको पिकअप बढी मनपराउँछन् । बितेको वर्ष अमेरिकीहरुले फोर्ड एफ सिरिज (Ford F Series) गाडी ७,२६,००४ युनिट खरिद गरे । फोर्डको यही एफ सिरिज संसारमा सबैभन्दा बढी बिकेको गाडी बन्न सफल भयो ।
भारतमा सर्वाधिक बिक्ने कार
भारतमा सबैभन्दा बढी बिक्री हुने कार मारुती सुजुकी वेगनआर (Maruti Suzuki WagonR) हो । २०२१ मा भारतमा वेगनआर को १,८३,८५१ युनिट बिक्री भएको थियो । भारतमा अहिले पनि कारको खरिद-बिक्रीमा मूल्यले सर्वाधिक प्रभाव पार्छ । भनिन्छ कोरोना महामारीका कारण भारतमा पर्सनल कारको भूमिका पनि परिवर्तन भएको छ । अब भारतमा पर्सनल कारलाई लग्जरी नमानेर आवश्यकता मान्न थालिएको छ । यही कारणले पनि भारतीय बजारमा साना कारको वर्चस्व छ । यसमा मारुतीको बिक्री सबैभन्दा बढी छ ।
अन्य मुलुक
अन्य देशको रुचि हेर्ने हो भने Lada Vesta रूसमा सबैभन्दा बढी बिक्ने कार हो । २०२१ मा रूसमा यो कारको १,१३,६९८ युनिट बिक्री भएको बताइन्छ । उता ब्राजिलका मानिसहरुलाई फिएटको Strada सबैभन्दा मन परेको कार हो । गएको वर्ष ब्राजिलमा यो कारको १,०९,१०७ युनिट बिक्री भएको थियो ।
युरोपेली देशमा ह्याचब्याकको धुम
युरोपेली देशमा कारको सबैभन्दा ठूलो बजार जर्मनी हो । जर्मनीमा पनि सर्वाधिक बिक्री हुने कार भक्सवागन गोल्फ (Volkswagen Golf) हो । गत साल जर्मनीमा यो कारको ९१,६२१ युनिट बिक्री भएको थियो । यता फ्रान्सका मानिसहरुको पहिलो रुचि Peugeot २०८ हो । २०२१ मा फ्रान्समा यो कारको ८८,०३७ युनिट बिक्री भएको थियो । ब्रिटेनमा ४०,९१४ युनिट बिक्रीका साथ Vauxhall Corsa पहिलो स्थानमा छ । स्पेनमा २१,९४६ युनिट बिक्रीका साथ Seat Arona सबैभन्दा अगाडि छ ।
धेरै देशमा फिएट अगाडि
संसारका अन्य प्रमुख बजारमा नजर दौडाउने हो भने फिएट सबैभन्दा धेरै देशमा सर्वाधिक बिक्री हुने कारका रुपमा अगाडि आउँछ । ब्राजिलका अतिरिक्त टर्की तथा अर्जेन्टिनामा पनि फिएटको दबदबा छ । गएको वर्ष टर्कीमा Fiat Egea ४९,६९८ युनिट बिक्रीका साथ सबैभन्दा माथि रहयो । उता अर्जेन्टिनामा Fiat Cronos कार ३७,४३५ युनिट बिक्रीका साथ पहिलो स्थानमा रहन सफल भयो । इन्डोनेसियामा टोयोटाको कार मानिसहरुले सर्वाधिक रुचाउने कार हो । गएको साल इन्डोनेसियामा टोयोटाको Avanza ६६,१०९ युनिट बिक्री भएको थियो ।
प्रतिक्रिया