शुक्रबार, जेठ ३, २०८२

सैन्य ‘कू‘ को १ वर्षपछिको म्यानमार !

नेपालखोज २०७८ माघ २२ गते १८:४२

काठमाडौं । म्यानमारमा १ फेब्रुअरी २०२१ मा त्यहाँको सैनिकले सत्ता हातमा लिएयता हजारौं नागरिकले ज्यान गुमाइसकेका छन् । त्यसमा प्रदर्शनकारीका अतिरिक्त प्रतिरोध संघर्षकर्ता, सरकारी अधिकारी, सैनिक तथा आम नागरिक सामेल छन् । यद्यपि, यसरी मारिनेहरुको विश्वसनीय तथ्यांक भने उपलब्ध छैन ।

सैन्य शासनको विरोध गर्ने मानवअधिकार संगठन ‘असिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (बर्मा)’ का अनुसार, सेनाले सत्ता हातमा लिने सिलसिलामा १४६३ जनाको ज्यान गएको थियो । गैरसरकारी संगठन ‘द आर्म्ड कन्फ्लिक्ट लोकेसन एन्ड इभेन्ट डेटा प्रोजेक्ट’ (एसीएलईडी) ले गएको वर्षका समाचारपत्रका लेखहरु, गैरसरकारी संगठन तथा सोसल मिडियाको रिपोर्टका आधारमा ११ हजारभन्दा बढीको मृत्यु भएको तथ्यांक तयार पारेको छ ।

विश्व बैंकका अनुसार, म्यानमारको आर्थिक उत्पादनमा २०२१ मा १८ प्रतिशतले कमि आएको छ । संयुक्त राष्ट्रसंघको अर्को तथ्यांकअनुसार लगभग साढे तीन लाख मानिस देशभित्रै विस्थापित भएका छन् । त्यहाँ पत्रकारहरुको हत्या रेकर्ड स्तरमा बढेको छ, भने पत्रकारहरुलाई थुनामा राख्ने क्रम पनि उत्कर्षमा छ ।

यही परिस्थितिमा असुरक्षाका कारण पत्रकारहरुले देश छोड्ने क्रम पनि बढेको छ । म्यानमारसम्बन्धी विशेषज्ञ डेभिड स्कट माथिसनले बर्मिज तथा अंग्रेजी मासिक समाचारपत्र ‘द इरावदी’ क‍ो अनलाइन संस्करणसँगको एक अन्तर्वार्तामा भनेका छन्, ‘म्यानमारको अहिलेको स्थिति द्वितीय विश्वयुद्धपछि म्यानमारले प्राप्त गरेक‍ो स्वतन्त्रतापछिको सबैभन्दा खराब स्थिति हो । साँचो रुपमा भन्नु पर्दा यहाँको सेनाले आफ्नै देशका जनताविरुद्ध युद्धको घोषणा गरेको छ ।’

प्रतिरोधका विविध रूप
एक‍ दशकको परिदृष्यविपरीत आज बर्माको हार्टल्यान्डमा समेत भयंकर लडाइँ भइरहेको छ । पहिले त संघर्ष मुख्य रूपले बामार जाति बहुल सेनाका जवान तथा जातीय अल्पसंख्यकहरुबीच हुने गरेको थियो र त्यसको केन्द्र केन्द्रीय राज्य सागिङ थियो । म्यानमारमा लाखौं मानिसको राष्ट्रव्यापी विरोध प्रदर्शन शिथिल भएपछि अहिले सशस्त्र प्रतिरोध बढेर गएको छ ।

स्वतन्त्र पर्यवेक्षकहरु पनि के कुरामा सहमत छन् भने म्यानमारको जनसंख्याको एउटा ठूलो भाग वा बहुमत सैनिक सरकारको विरुद्धमा छ । यसबीच मिलिसिया तथा नागरिक आन्दोलनका अतिरिक्त जातीय समूह तथा तिनका सशस्त्र समूह देशमा सेनाको विरोधमा तेस्रो तागत बनेर अगाडि आएका छन् ।

तीन परिदृश्य
म्यानमारको स्थिति कसरी विकसित हुन्छ वा कसरी अगाडि बढछ कसैलाई थाहा छैन्। यद्यपि, अहिले तीन परिदृश्यक‍ो कल्पना गर्न सकिन्छ : पहिलो सेनाले स्थितिमा नियन्त्रण पाउनेछ, दोस्रो विपक्ष बलियो भएर अघि बढने छ वा तेस्रो देशको गतिरोध जारी रहनेछ ।

यी तीन वटै परिदृश्य म्यानमारको शान्ति तथा विकासको पक्षमा भने देखिदैन्। यस्तो परिस्थितिमा म्यानमारको आर्थिक तथा राजनीतिक विकास थप कठिन हुनेछ । नयाँ मिलिसिया तथा सशस्त्र समूहहरुले म्यानमारलाई लगातार अस्थिर बनाइराख्ने खतरा पनि उत्तिकै छ । यस क्रममा म्यानमारको विघटनको खतरा पनि देखिन्छ ।

कोही शक्तिशाली छैनन्
विशेषज्ञहरुका अनुसार, म्यानमारमा निकट भविष्यमा कुनै समाधानको आशा गर्नु बेकार छ । त्यहाँको मिलिसिया तथा विपक्षी आफ्नै समस्याहरुमा अल्झिएको छ । सत्ता कब्जा गरेको सेनाका लागि भुंग्रोमा हात हालेजस्तो भएको छ । देशमा सेनालगातार बदनाम भइरहेको छ र घृणाको पात्र पनि ।

मानवीय सहायताको खाँचो
इन्टरनेसनल क्राइसिस ग्रुपको निष्कर्ष छ, निकट भविष्यमा न त सेना न त विपक्ष बलियो देखिने स्थिति छ र यो संघर्ष बढ्दै गएर गम्भीर मानवीय संकट सिर्जना हुन सक्छ । अर्को शब्दमा भन्दा यसमा कुनै पक्षले जित्ने छैन तर पूरा देश तथा म्यानमारका नागरिकहरु हार्नेछन् ।

राजधानी यांगुनका एक बासिन्दा भन्छन्, भयानक युद्ध र ठुलो क्षतिपछि अन्ततः कहिले न कहिले आपसमा कुराकानी र सम्झौता गर्नैपर्ने हुन्छ, भलै अहिले त्यो समय टाढा छ वा यो कल्पना सम्भव छैन । यदि दुवै पक्षले आफू एक्लैले जित्न नसक्ने कुरा बुझे भने देशमा रक्तपात तथा विनाशकारी आर्थिक क्षति रोकिनेछ र तत्काल छलफल अनिवार्य हुनेछ । जबसम्म यो कुरा सम्बद्ध पक्षले महसुस गर्दैनन् तबसम्म म्यानमार अधोगति जारी रहनेछ ।

डीडब्ल्यूका लागि रोडियोन एबिगहाउजेनको रिपोर्टमा आधारित

प्रतिक्रिया