मंगलबार, वैशाख १८, २०८१

ग्यास्ट्रिक कारक १५ खानेकुरा

डा. हेमराज कोइराला २०७८ माघ २३ गते ११:२९

जीवनको कुनै न कुनै कालखण्डमा अम्लपित्त बढ्ने समस्याबाट तपाई हामी सबै ग्रसितभएकै हुनुपर्छ । मुखमा अमिलो पानी उलुकउलुक आउने, पेटको माथिल्लो भाग र छातीको तत्लो भागमा हल्का दुख्ने, छाती पोल्नेहरू जस्ता लक्षण देखिने यो रोग पेटको हाइड्रोक्लोरिक एसिड खाना नली हुँदै मुखतिर उक्लिँदा देखापर्ने गर्दछ । हाम्रो खानपान र जीवनशैलीसँग सम्बन्धित यो रोग अम्लकारक खानेकुराहरूको सेवनले गर्दा हुने गर्दछ । खानपानमा पहरेज र जीवनशैलीमा सुधार नै यस रोगको मुख्य उपचार हो ।

१. तारे भुटेको खानेकुरा : उच्चमात्रामा तेल हालेर तारे भुटेका खानेकुराहरूको सेवनले अम्लपित्तको जोखिम बढाउँछ । तारे भुटेका खानेकुराहरूमा उच्च मात्रामा तेल हालिएको हुँदा चिल्लो पदार्थले तल्लो इसोफेजियल स्फिनेक्टरलाई शिथिल गराएर पेटमा भएको हाइड्रोक्लोरिक एसिड अन्ननलीतिर आउँदा अम्लपित्तको समस्या देखापर्छ । यसैगरी चिल्लो खानेकुराले कोलेसिस्टोकाइनिननामक हार्मोनको उत्सर्जन गराउने र यो हार्मोनले तल्लो इसोफेजियल स्फिनेक्टरलाई शिथिल गरिदिन्छ र अम्लपित्त गराउँछ ।

२. ससेज : मासुलाई प्रशोधन गरी उच्च मात्रामा नुन, तेल, मसला हालेर बनाइएको रोललाई ससेज भनिन्छ । ससेजमा हालिएको नुन, तेल, मसला उच्च अम्लपित्त कारक छन् । यी खानेकुराहरूको सेवनले तल्लो इसोफेजियल स्फिनेक्टरलाई शिथिल गरिदिने, एसिड उत्पादनलाई बढाउने र पेट एवं अन्ननलीमा जलन पैदा गर्ने हुँदा अम्लपित्त बढ्छ ।

३. मसलादार खानेकुराहरू : मसलाहरू उसै त पेटको स्वास्थ्यका लागि अत्यन्त राम्रो मानिन्छन् तर जब मसलालाई तेलमा पकाउने, तार्ने र भुट्ने गरिन्छ त अम्लपित्त कारक बन्छ । मसलामा क्यापसाइसिननामक तत्त्व पाइन्छ जसलाई अम्लपित्त कारक तत्त्व मानिएको छ ।

४. चकलेट : चकलेटको सेवन पनि अम्लपित्त कारक खानेकुरा हो । यसको सेवनपश्चात् पनि तल्लो इसोफजियल स्फिनेक्टर शिथिल हुने र आमशयको एसिड अन्ननलीतिर आउने हुँदा अम्लपित्त बढ्ने गर्छ । यसैगरी चकलेटमा बन्ने कोकामा खुसीकारक हार्मोन सेरोटोनिन, थियमेब्रोमाइन र क्याफिनजस्ता तत्त्व हुने हुँदा यी तत्त्वहरूले पनि तल्लो इसोफजियल स्फिनेक्टरलाई शिथिल बनाइदिन्छ र अम्लपित्त गराउँछ ।

५. अमिला फलफूलहरू : कागती, अंगुर, निबुवा, सुन्तला, भोगटे, बयर जस्ता अम्लीय फलफूल सेवन गर्दा पनि अम्लपित्त बढ्छ ।

६. खुर्सानी : खुर्सानीको सेवन गर्दा पनि अम्लपित्तको समस्या हुने गर्छ । खुर्सानी आफैंमा तीक्ष्ण प्रकृतिको खानेकुरा भएले एसको सेवनपश्चात पेटमा जलन, एसिडिटी र अपच अजीर्णताको समस्या हुने गर्दछ ।

७. नुन : धेरै नुन हालिएको खानेकुराहरूको सेवनले पनि अम्लपित्त बढ्छ ।

८. प्याज : काँचो प्याजको सेवनले पनि अम्लपित्त बढ्छ भने प्याज हालेर तारे-भुटेका खानेकुराहरूको सेवन गर्ने गर्दा अम्लपित्त बढ्छ । प्याजले अम्लपित्त गराउनुमा यसमा विद्यमान फर्मेन्टेबल रेशालाई जिम्मेदार ठहर्‍याइएको छ ।

९. रक्सी : रक्सी पनि अम्लपित्त कारक पेय हो । रक्सीको सेवनपश्चात तल्लो इसोफजियल स्फिनेक्टर शिथिल हुने, हाइड्रोक्लोरिक अम्लको उत्पादन बढ्ने र रक्सी आफैंले पनि अन्ननली एवं पेटको भित्रीपत्रमा जलन पैदा गर्ने हुँदा पेट दुख्ने एवं अम्लपित्त बढ्ने गर्छ ।

१०. चिया-कफी : चिया र कफीको सेवनपश्चात पनि तल्लो इसोफजियल स्फिनेक्टर शिथिल हुने हुँदा पेटको एसिड अन्ननलीतिर बढ्न जाँदा छाती पोल्ने र अमिलो पानी आउने समस्या देखापर्छ ।

१. सफ्टड्रिंक : कोकाकोला, पेप्सीकोला, फ्यान्टा, मिरिन्डा, स्प्राइट र ड्युजस्ता शीतल पेयको सेवनले पनि अम्लपित्त बढ्छ । सफ्टड्रिंकले अम्लपित्त बढाउनुमा यसले पेट एवं अन्ननलीको भित्रीपत्रलाई जलाउने, तल्लो इसोफजियल स्फिनेक्टरलाई शिथिल गराउने र एसिड उत्पादनलाई बढाइदिने जस्ता कारणहरू पहिचानमा आएका छन् ।

१२. दूध : दूधको सेवनलाई पनि अम्लपित्त कारक मानिएको छ । दूधले पेटमा एसिड उत्पादन बढाइदिने र उच्च चिल्लो भएको दूधले धेरै अम्लपित्त गर्ने पाइएको छ।

१३. पनिर : पनिर पनि अम्लपित्त कारक खानेकुरा हो । पनिरको सेवनले तल्लो इसोफजियल स्फिनेक्टर शिथिल बन्ने, एसिड उत्पादन नै उच्च हुने र पेटमा जलन पैदा हुने हुँदा अम्लपित्त बढ्छ ।

१४. प्रशोधित खानेकुराहरू : जंकफुडको नामले चिनिएका प्रशोधित खानेकुराहरूको सेवनले पनि अम्लपित्त बढ्छ । प्रशोधित खानेकुराहरूमा विशेषतः खाद्य रेशा झिकिएको र अन्य प्राकृतिक गुण-धर्म पनि नष्ट गरिएको हुँदा एसिड उत्पादन ज्यादा गराउने, तल्लो इसोफजियल स्फिनेक्टरलाई शिथिल बनाउने जस्ता समस्या निम्त्याएर अम्लपित्त गराउँछ ।

१५. पुदिना : पुदिनालाई पेटका लागि अत्यन्त राम्रो जडीबुटी मानिन्छ तर अम्लपित्त र एसिडिटीको सम्बन्धमा भने यो वनस्पतिलाई त्यत्ति राम्रो मानिँदैन । अनुसन्धानले दर्शाएअनुरूप पुदिनाले तल्लो इसोफजियल स्फिनेक्टरलाई शिथिल बनाई दिने र अन्ननलीको भित्रीपत्रमा जलनसमेत गर्ने हुँदा अम्लपित्त हुन्छ।

डा. हेमराज कोइराला

डा. काेइराला भरतपुर १, बागिश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।

प्रतिक्रिया