कमल थापाले उठाएको विषयमा छलफल भइरहेको छ : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्र कोही पनि असन्तुष्ट नरहेको बताएका छन् । उनले आज पार्टीको केन्द्रीय कार्यालयमा पार्टीको विधान बमोजिम मनोनयन गरेका पदाधिकारीहरुलाई स्वागत गरे ।
लिङ्देनले पार्टीभित्र कुनै सदस्य पनि असन्तुष्ट नरहेको स्पष्ट पारे । निवर्तमान अध्यक्ष कमल थापाले उठाएको विषयमा छलफल भइरहेको भन्दै उनले सो विषयलाई निकट भविष्यमै टुंगोमा पुर्याउने बताए ।
पार्टीका कार्यकर्ता र शुभेच्छुकहरुलाई चाँडै सकारात्मक सन्देश प्रवाह गरिने उनले बताए । उनले भने, ‘अहिले कोहीपनि सदस्य साथीहरु राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र असन्तुष्ट हुने अथवा असन्तुष्ट रहनुभएको अवस्था छैन । निवर्तमान अध्यक्षजीसँग केही विषयहरु छन्, त्यस विषयमा हामी छलफलमा छौं । र त्यो विषयमा पनि हामी निकट भविष्यमै टुंगोमा पुर्याउँछौ र राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ता र शुभेच्छुकहरुलाई हामी निराश बनाउँदैनाैँ । चाँडै हामी सकारात्मक सन्देश प्रवाह गर्छौ ।’
अध्यक्ष लिङ्देनले मनोनित गरिएका पदाधिकारीहरुलाई पार्टी कार्यालयमा स्वागत गरेका हुन् । मनोनित २४ जना पदाधिकारीहरु मध्ये केही पदाधिकारी भने उपत्यका बाहिर भएकाले उनीहरुले पछि पत्र बुझ्ने पनि अध्यक्ष लिङ्देनले जानकारी दिए ।

प्रतिक्रिया