मंगलबार, वैशाख १६, २०८२

नाम जस्तै काम, शिखर चुम्दै शिखर इन्स्योरेन्स

नेपालखोज २०७८ माघ २५ गते ९:५३

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड नेपाली निर्जीवन बिमा क्षेत्रको अग्रणी कम्पनी हो । २०६१ मंसिरमा स्थापित यस निर्जीवन बिमा कम्पनीले हवाई, बैंकिङ, उत्पादन, उद्योग, पर्यटनजस्ता क्षेत्रमा संलग्न व्यावसायिक समूहको प्रवर्द्धनमा भूमिका खेलेको छ । शिखर इन्स्योरेन्सले ग्राहकमाझ अन्तर्राष्ट्रिय स्तरको बिमा सेवा प्रदान गर्दै आइरहेको छ । पछिल्लो समय यस कम्पनीको सेयर मूल्य पनि उच्च हुँदै गएको छ । यस बिमा कम्पनीले पशु बिमा कार्यक्रममा पहिलोपटक आरएफआईडी चिप्स प्रयोगमा ल्याएको छ ।

विगतका वर्षमा झैं यस कम्पनीले आ.व. ०७५/७६ तथा आ.व. ०७६/७७ मा निर्जीवन बिमाका प्रमुख वित्तीय सूचकांकहरूमा अग्रणी स्थान हासिल गर्न सफल भयो । राष्ट्रिय पुनर्बिमा कम्पनीमा डाइरेक्ट सेसनअन्तर्गत पुनर्बिमा प्रदान गर्नुपर्ने व्यवस्थाका कारण पुनर्बिमा खर्च बढेको जनाइएको छ ।

२०७५ माघदेखि जारी सम्पति बिमा दर निर्देशिका बमोजिम सम्पत्ति/अग्नी बिमा अन्तर्गत बाढी, पहिरो, भूक्षयजस्ता जोखिमको बिमासमेत अनिवार्य भएको कारण कम्पनीको अग्नि बिमाअन्तर्गतको दावी खर्च बढन गई कम्पनीको मुनाफा प्रभावित भएको शिखर इन्स्योरेन्सका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले जनाएका छन् ।

विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरस संक्रमणको कारण आ.व.२०७६/७७ को व्यवसायमा केही प्रभाव परेता पनि कोरोना भाइरस संक्रमणको दीर्घकालीन असर न्यून रहने कम्पनीले अपेक्षा गरेको छ ।कोरोनाभाइरस संक्रमणको कारण प्रभावित व्यवसायीहरूलाई राहत प्रदान गर्ने उद्देश्यले मोटर बिमा तथा सम्पत्ति बिमाको नवीकरणमा छुट प्रदान गर्ने सम्बन्धमा बिमा समितिले निर्देशन दिएको छ । मोटर बिमा तथा सम्पत्ति बिमाको नवीकरण बिमाशुल्कमा केही असर पर्ने जनाइएको छ ।

कम्पनीले व्यवसायिक बृद्धिदर तथा जोखिमको प्रकृतिअनुरुप जोखिम व्यवस्थापन तथा पुर्नबिमा व्यवस्थापन गर्दै आएको छ । यस्तै महाविपत्ती जोखिमलाई व्यवस्थापन गर्न कार्यान्वयन गरेको पुर्नबिमा नीतिका कारण कम्पनीलाई थप व्यवहार पर्न गई नाफामा केही असर परेपनि कम्पनीको स्थायित्वका लागि जोड दिइएको छ ।

कम्पनीले अवलम्बन गरेको जोखिम व्यवस्थापन नीतिको साथै कम्पनीको समग्र वित्तीय अवस्था, कम्पनीको व्यवस्थापन पक्ष दाबी भुक्तानी क्षमताको कारण यो कम्पनी ‘ए रेटिङ’ प्राप्त गर्ने नेपालकै पहिलो तथा हालसम्मको एक मात्र बिमा कम्पनी बन्न सफल भएको कम्पनीका अध्यक्ष श्रेष्ठले पन्ध्रौं तथा सोह्रौं वार्षिक प्रतिवेदन पुस्तिकामा उल्लेख गरेका छन् ।

कम्पनीको पुँजी बृद्धिका लागि अन्य बिमा कम्पनीहरूसँग मर्जर एक विकल्पका रूपमा रहेको र कम्पनीको चौंधौं वार्षिक साधारणसभाबाट अन्य बिमा कम्पनीहरुसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा निर्णय भएको छ । तर हाल बिमा कम्पनीहरूको मर्जरसम्बन्धी बाध्यकारी व्यवस्था नभएको अवस्थामा मर्जरको वातावरण बनिनसकेको यस कम्पनीको गतवर्ष प्रस्तुत वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

हकप्रद सेयरको माध्यमबाट चुक्ता पुँजी बृद्धि गर्न उपयुक्त देखिएकाले पन्ध्रौं र सोह्रौं साधारणसभाले ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको थियो । आगामी दिनमा अन्तर्राष्ट्रिय रूपमा प्रचलनमा रहेको जोखिममा आधारित पुँजीको अवधारणा नेपालमा समेत लागु हुनसक्ने सम्भावना भएको र सो सम्बन्धमा गृहकार्य भईरहेको अवस्थामा कम्पनीको पुँजी बृद्धि गर्दै जाने योजनामा शिखर इन्स्योरेन्स छ ।

हकप्रद सेयर जारी गरेपछि हुने पुँजी बृद्धिले कम्पनीको धारण रकममा बृद्धि भई पुनर्बिमा खर्चमा न्युनीकरण हुने कम्पनीको सोच छ । चुक्ता पुँजीमा भएको बृद्धिसँगै नियोजित पुँजीमा प्रतिफलको रकम समेत बृद्धि गर्दै जानुपर्ने चुनौतीप्रति संञ्चालक समिति सचेत छ । भविष्यमा चुक्तापुँजी बृद्धिपछि समेत नियोजित पुँजीमा अधिक प्रतिफल कायम गर्नका लागि आवश्यक व्यवसायिक रणनीतिका साथ अगाडि बढ्ने अध्यक्ष श्रेष्ठले बताएका छन् ।

‘ए रेटिङ’ प्राप्त गर्ने नेपालकै पहिलो कम्पनी शिखर इन्स्योरेन्स

स्थापनाकालदेखि नै नेपाली बिमा क्षेत्रमा विशिष्ट छाप छोड्दै नेपालको अग्रणी बिमा कम्पनीका रूपमा रहँदै आएको यस कम्पनीले देशब्यापी रूपमा बिमाको पहुँच अभिवृद्धि गर्न अग्रणी भूमिका खेल्दै आएको प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डे बताउँछन् । देशको समग्र आर्थिक अवस्थालाई उकास्न एवं मध्यम तथा न्युन आय भएका जनताको जीवनस्तर अभिवृद्धि गर्नसमेत देशभर बिमाको पहुँच पुर्याउनु आजको आवश्यकता भएको कम्पनीको ठहर छ ।

बिमाको पहुँचलाई देशब्यापी रूपमा पुर्याउने उद्देश्यसहित हालसम्म बिमा कम्पनीले १०३ शाखा कार्यालय विस्तार गरिसकेको छ । आगामी दिनहरू थप शाखा विस्तार गर्दै जाने लक्ष्य यस बिमा कम्पनीले लिएको छ ।

राष्ट्रिय महत्त्वको कृषि तथा पशुपक्षी बिमालाई तोकिएका जिल्लाहरूमा मात्र नभई जुम्ला, मुगु, कालीकोटलगायत अन्य जिल्लामा समेत विस्तार गर्दै आएको कम्पनी सञ्चालकहरू बताउँछन् । ग्रामिण क्षेत्रका वासिन्दामा बिमाको पहुँच पुर्याउनका लागि घुम्ती बिमामार्फत बिमा सेवाको थालनी पनि गरेको छ ।

सहज तथा सरल बिमा दाबी सेवाबाट नै आम जनतामा बिमाप्रतिको विश्वास कायम रहेको हुँदा कम्पनीको दाबी सेवालाई चुस्त बनाउँदै आएको जनाइएको छ । अत्यधिक दाबी अनुपात रहेको कृषि बिमाका केही क्षेत्रहरूमा समेत बिमा सेवाहरूलाई निरन्तरता दिई आम जनतामा बिमा दुख पर्दाको साथी हो भन्ने भावनालाई आत्मसाथ गराउने अभियानलाई निरन्तरता दिने कम्पनीको योजना छ ।

कम्पनीको मुनाफामा केही प्रभाव परे तापनि आम जनतामा बिमाप्रतिको विश्वास तथा बिमा सचेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका शिखर इन्स्योरेन्सले महत्त्वपूर्ण भूमिका खेलेको छ । बिमा कम्पनीको चुक्ता पूँजीमा भएको बृद्धिका कारण पुँजी प्रतिफल अनुपात कायमै राख्न सवै कम्पनीहरूलाई व्यवसाय अभिबृद्धि गर्नुपर्ने बाध्यता छ । विभिन्न बाध्यतासँगै नयाँ बिमा कम्पनीको आगमनले बिमा क्षेत्र थप प्रतिस्पर्धात्मक भइरहेको अवस्थालाई मध्येनजर गर्दै कम्पनीको व्यवसाय वृद्धि गर्न आवश्यक योजना तथा रणनीतिहरू तर्जुमा गर्दै कम्पनी अगाडि बढ्दै छ ।

यस्तै कम्पनीले परम्परागत बिमा मात्रै नभइ भूगोल सुहाउँदो तथा बजारको आवश्यकताअनुसार नविन बिमालेखको थालनी गर्दै आएको छ । नयाँ बिमा विस्तारमा मौसमी सूचकाङकमा आधारित बिमा नेपाल र भारतमा पूर्ण नगदरहित स्वास्थ्य बिमा लगायतका बिमा सेवा प्रदान गर्ने एक मात्र बिमा कम्पनी शिखर रहेको सञ्चालक समितिको दाबी छ ।

मोटर, हवाई, ट्राभल, मेडिकल बिमा तथा बिमा कम्पनीका रुपमा रहदै आएको यस कम्पनीले देशव्यापी रुपमा बिमाको ट्रेकिङ लगायत क्षेत्रको बिमामा कोरोनाले प्रत्यक्ष असर परेसँंगै कम्पनीको व्यवसायमा पहुँच अभिवद्धि गर्नमा समेत अग्रणी भूमिका खेल्दै आएको छ ।

कोरोना भाइरस संक्रमणको कारण मोटर, हवाई, ट्राभल, मेडिकल बिमा तथा ट्रेकिङ बिमालगायतका बिमामा प्रत्यक्ष असर पारेसँगै कम्पनीको व्यवसायमा आंशिक प्रभाव परेको छ । चालु आ.व.२०७७/२०७८ मा कम्पनीको व्यवसायमा उल्लेख्य बृद्धिदर हासिल भएको छ । कोरोना भाइरस संक्रमण झै आगामी समयमा समेत विश्वब्यापी रूपमा फैलन सक्ने महामारीहरूका कारण हुने व्यवसाय तथा सन्चालन जोखिमलाई न्यूनीकरण गर्न आवश्यक योजना तथा व्यवसायिक निरन्तरता रणनीति बनाइ अघि बढ्ने कम्पनीको योजना छ ।

विगत आ.व.मा झै आ.व. २०७५/७६ तथा आ.व. २०७६/७७ मा समेत यो कम्पनी नेपालको निर्जिवन बिमा क्षेत्रमा सबैभन्दा बढी बिमा शुल्क आर्जन गर्ने तथा बिमालेख जारी गर्ने कम्पनीका रुपमा रहन सफल भएको छ ।

नेपालमा कोरोना भाइरस संक्रमण देखिएपश्चात बिमाको माध्यमबाट संक्रमित व्यक्तिको आर्थिक जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले २०७७ वैशाखबाट लघुबिमा अन्तर्गत सम्पूर्ण बिमा कम्पनीहरूको सहभागितामा बिमा पलको माध्यमबाट व्यवस्थापन हुने गरी कोरोना भाइरस बिमा जारी भएको थियो ।

कोराना भाइरस बिमाअन्तर्गत २०७७ असारसम्म २० वटै बिमा कम्पनीबाट संकलन गरिएको कुल बिमा शुल्कको समान हिस्साबमोजिम ७३ करोड ९१ लाख ५ हजार ४ सय ६४ रुपैयाँ आर्जन गर्न उक्त कम्पनी सफल भएको छ ।

शिखर इन्स्योरेन्सको लगानी व्यवस्थापन कम्पनीले बिमा समितिबाट जारी लगानी निर्देशिकाको अधीनमा रही लगानी व्यवस्थापन गर्दै आएको छ । कम्पनीले दीर्घकालीन उद्देश्यसहित सूचीकृत संस्थाको धितोपत्र तथा ऋणपत्रका अलावा राष्ट्र विकासमा प्रत्यक्ष टेवा पुर्याउने पूर्वाधार क्षेत्रमा पनि लगानी गर्दै आएको छ ।

दीर्घकालीन महत्वको पूर्वाधार क्षेत्रमा गरिने लगानीले सुरुका केही वर्षमा प्रतिफल प्रदान नभई कम्पनीको आम्दानी प्रभावित भएको छ । तर पनि आउँदा वर्षहरूमा लगानी प्रतिफल वृद्धि भई खुद नाफा वृद्धि हुनेमा शिखर इन्स्योरेन्स आशावादी छ ।

शिखर इन्स्योरेन्स मानव संसाधन कम्पनीको सफलता, कर्मचारीको दक्षता र लगनशीलतामा निर्भर रहने गर्छ । यसले आफ्नो कर्मचारीहरूको कार्यदक्षता तथा मनोबल अभिवृद्धि गर्न विभिन्न प्रकारका आन्तरिक तथा बैदेशिक प्रशिक्षण एवं तालिमहरू प्रदान गर्दै आएको छ । कर्मचारीहरूको कार्यकुशलता एवं अनुभवको आधारमा नियमित तलव बद्धि, वढुवा, गाडी तथा परिवहन सुविधा, जीवन बिमा सविधा र आवश्यकता अनुसार विभागीय हेरफेर तथा विभिन्न तहमा नयाँ निय्क्ति समेत गर्ने गरेको छ ।

यस कम्पनीले स्वास्थ्य तथा शिक्षा क्षेत्रमा आफनो संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्दै आएको छ । कम्पनीले नेपालको विकट जिल्ला ताप्लेजुङस्थित तीन विद्यालयहरूलाई सोलार विजुली उपकरणहरू तथा कम्प्यूटर उपकरण वितरण गरेको छ ।

कोरोना भाइरस संक्रमण नियन्त्रणको लागि महानगरीय ट्राफिक प्रहरी महाशाखा तथा विभिन्न अस्पताल एवं संस्थाहरूलाई पिपिई सेट, माक्स, फेस सिल्ड, स्यानिटाइजर लगायतका स्वास्थ्य सामाग्री पनि वितरण गरेको छ । साथै कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रका स्वास्थ्य संस्थाहरूलाई एम्बुलेन्स प्रदान गर्दै आएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको कारण कम्पनीको मोटर, हवाई, ट्राभल मेडिकल बिमा तथा ट्रेकिङ बिमामा प्रत्यक्ष असर परेको छ भने अन्य किसिमका बिमा व्यवसायमा समेत आंशिक प्रभाव परेको छ । विगत आ.व.मा झैं आ.व. २०७५/७६ तथा आ.व. २०७६/७७ मा समेत यस कम्पनीले नेपालको निर्जीवन बिमा क्षेत्रमा सबैभन्दा बढी बिमा शुल्क आर्जन गर्ने तथा बिमा लेख जारी गर्ने कम्पनीका रूपमा सफल भएको छ ।

आ.व २०७५/७६मा अग्नी बिमा, हवाई बिमा, पशुपंक्षी तथा बाली बिमा तथा विविध बिमामा उल्लेख्य रूपमा बृद्धिदर हासिल भएता पनि इन्जिीनियरिङ बिमामा भएको ऋणात्मक बृद्धिका कारण कुल बृद्धिदरमा असर परेको थियो । इन्जिनियरिङ बिमामा प्रोजेक्ट अवधिभरको बिमा हुने र प्रायः इन्जिनियरिङ बिमा नविकरण हुने कारण इन्जिनियरिङ बिमाको बृद्धिमा असर परेको थियो ।

आ.व. २०७५/७६मा समग्र अटोमोवाइल क्षेत्रमै नयाँ सवारीसाधनको बिक्री दरमा कमी आएका कारण कम्पनीको मोटर बिमा व्यवसायमा समेत असर परेको थियो । बिमालेख संख्याको हकमा आ.व. २०७४/७५ मा कम्पनीले जारी गरेको बिमालेख संख्याको तुलनामा आ.व. २०७५/७६ मा करिव १५ प्रतिशतको बृद्धि हासिल भएको जनाइएको छ । आ.व. २०७४/७५मा ३०२,४३४ बिमालेख जारी भएकामा आ.व. २०७५/७६मा ३४६,४५५ बिमालेख जारी भएको छ ।

शिखर इन्स्योरेन्स कम्पनीले नेपालभर १०३ शाखाबाट सेवा प्रदान गरिरहेको छ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको नेतृत्व राजेन्द्रप्रसाद श्रेष्ठले गरेका छन् । उनको सञ्चालक समितिमा सञ्चालकहरूमा क्रमशः रमेशकुमार लुइँटेल, सिद्धिमान सिंह बस्नेत, स्कन्द अमात्य, दिनेश बज्रचार्य, सौरभ जेबी राना र डा. स्रुजना श्रेष्ठ रहेका छन् । कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा दीपप्रकाश पाण्डे छन् ।

प्रतिक्रिया