वामदेवले भने- नो एमसीसी

नेपालखोज २०७८ माघ २५ गते १३:४१

काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) फिर्ता गर्न अमेरिकी सरकारलाई आग्रह गरेका छन् । नेकपा एकता राष्ट्रिय अभियानका संयोजकसमेत रहेका गौतमले आज विज्ञप्तिमार्फत अमेरिकालाई एमसीसी फिर्ता लैजान आग्रह गरे ।

अमेरिकी सहयोग परियोजना एमसीसी नेपालमा विवादित हुँदा जनमत पनि विभाजित हुन पुगेको गौतमले बताएका छन् । उनले संसदबाट पारित हुने स्थिति पनि न्यून रहेको स्पष्ट पारे । विवादित परियोजनाले नेपालको अहित गर्ने गौतमले बताए ।

उनले नेपाल सरकारलाई समेत एमसीसी फिर्ता गर्न आग्रह गरे । उनले भने, ‘अहिले आएको एमसीसी परियोजनाले नेपालको हितभन्दा पनि जनमतको विभाजनका कारण गम्भीर अहित हुने अवस्था सिर्जना भएको स्थिति देखिएको छ । नेपालको अहिलेको जटिल अवस्थामा जुन सरकार बनेको छ र जस्तो अवस्थामा संसद् रहेको छ, नेपाल सरकार र संसदले पनि अनुमोदन गर्नसक्ने अवस्था देखिन्न । यस्तो अवस्थामा म नेपाल सरकार र अमेरिकी सरकारसमक्ष एमसीसी परियोजना फिर्ता गर्न विनम्र अनुरोध गर्दछु ।’

नेपालको हितका लागि एकपक्षीय रूपमा भए पनि अमेरिकी सरकारले परियोजना फिर्ता गर्नुपर्नेमा पनि गौतमको जोड छ । उनले एमसीसी सम्झौता कार्यान्वयन गरिँदा नेपालको स्वतन्त्रता र सार्वभौमिकतामा आँच पुग्ने शंका गर्न थालिएको पनि बताए ।

एमसीसीले गर्दा सत्ता गठबन्धन पनि संकटमा छ । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पास गरेर छाड्ने रणनीतिमा छन् । तर, उनलाई गठबन्धनको प्रमुख दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको साथ छैन । प्रचण्ड र माधव नेपाल संशोधनसहित एमसीसी पास गर्ने पक्षमा छन । नेकपा एमाले भने पर्ख र हेरको रणनीतिमा छ ।

प्रतिक्रिया