शनिबार, जेठ ४, २०८२

जेएमके वुमन इन बिजनेस छात्रवृत्ति पाउने बाराकी रुबी शाह को हुन् ?

नेपालखोज २०७८ माघ २७ गते ६:२९

काठमाडौं । बाराकी रुबी शाहलाई १०,००० डलरबराबरको जोन्टा इन्टरनेसनल २०२१ जेनएम क्लाउजम्यान (जेएमके) वुमन इन बिजनेस छात्रवृत्तिबाट सम्मानित गरिएको छ । उनलाई जोन्टा क्लब अफ काठमाडौं–२५, क्षेत्र २ बाट मनोनयन गरिएको थियो र पुरस्कारको लागि आवेदन जोन्टा इन्टरनेसनल डिस्ट्रिक्ट छनोटमा पठाइएको थियो जहाँ उनले थप २००० डलर पनि प्राप्त गरिन् ।

उनीसँगै अरु ३२ जनाले २००० डलर बराबरको थप छात्रवृत्ति पनि प्राप्त गरेका थिए । यसका साथै उनले संयुक्त राज्य अमेरिकाको इलिनोइसस्थित जोन्टा हेडक्वार्टरबाट थप ८००० डलर पनि प्राप्त गरेकी छन् । उनी शैक्षिक वर्ष २०२१–२०२२ का लागि यस अन्तर्राष्ट्रिय छात्रवृत्ति प्राप्त गर्ने विश्वभरका ६ जना क्षमतावान प्रतिभामध्ये एक हुन् ।

उनी वित्त र लेखा विषय लिएर ब्रिटिस कलेजमा स्नातक अन्तिम वर्षमा अध्ययनरत छिन् । १९ वर्षको उमेरदेखि नै रुबीले विभिन्न विधामा व्यवसाय इन्क्युबेसन, कन्टेन्ट क्रिएसन, मार्केटिङ र परामर्श सेवाजस्ता धेरै स्टार्टअपहरूसँग काम गरिरहेकी छिन् । उनी उद्यमी नेपालीको पूर्वप्रमुख अपरेटिङ अफिसर पनि हुन् । त्यहाँ उनले कम्पनीको कर्मचारीहरूलाई मार्गदर्शन गर्ने र उद्यमीहरूका लागि आवश्यक सामग्रीहरू बनाउने देखि लिएर कार्यक्रम संयोजन गर्ने विषयमा रणनीतिहरू बनाइन् । हाल उनी कीर्तिपुरको रोटरयाक्ट क्लबको चार्टर प्रेजिडेन्टको रूपमा नेतृत्व गरिरहेकी छिन् जहाँ उनले ४० भन्दा बढी स्थानीय युवासँग मिलेर सामुदायिक परियोजनाहरू र क्षमता विकाससम्बन्धी कार्यक्रमहरू संयोजन गरिरहेकी छिन् ।

महिलाहरूलाइ आर्थिक रुपले सशक्त गर्ने दृढ उद्देश्य र प्रतिबद्धताका साथ रुबीले धेरै फेलोसिप र प्रशिक्षण सेमिनारहरूमा भाग लिएकी छन् । उनले सन् २०१९मा मलेसियामा भएको अन्तर्राष्ट्रिय युवा संलग्नता सम्मेलनमा एसडिजि प्रस्तोताको रूपमा नेपालको प्रतिनिधित्व गरिन् जहाँ उनले ‘नेपालमा महिलाहरूलाई सशक्तिकरण गर्न युवा क्लबहरूको भूमिका’ भन्ने विषयमा प्रस्तुति दिएकी थिइन् । त्यहाँ उनले लैंगिक समता र समान पेशागत र आर्थिक वृद्धि हासिल गर्न युवा केन्द्रहरूको भूमिकाको विषयमा वकालत गरिन् ।

जोन्टा क्लब अफ काठमाडौँका अध्यक्ष सीमा गोल्छाले भनिन्, ‘हामीलाई थाहा छ कि उनी व्यवसाय अध्ययन गर्न र महिलाहरूलाई सशक्तिकरणको क्षेत्रमा नेतृत्व लिन चाहने धेरै किशोरीहरूको लागि उत्कृष्ट रोल मोडेल हुनेछिन् । उनलाई उच्च शिक्षा अध्ययनको लागि शुभकामना र छात्रवृत्तिको लागि बधाई छ ।’

जोन्टाले प्रत्येक वर्ष क्षमतावान महिलाहरूलाई व्यवसाय र व्यवस्थापनलाई पेशा बनाउन र नेतृत्वदायी भूमिकाहरू लिन प्रोत्साहन गर्ने उद्धेश्यले जेएमके छात्रवृत्ति प्रदान गर्दछ । यो छात्रवृत्ति पाउन आवेदकहरूको राम्रो शैक्षिक पृष्ठभुमि हुनुपर्छ र उनीहरूमा लगनशीलता, उच्च महत्त्वाकांक्षा र व्यवसायमा करियर बनाउने प्रतिबद्धता झल्किनुपर्छ ।

रुबीले स्थानीय युवाहरूसँग मिलेर विपन्न विद्यार्थीहरूलाई शैक्षिक सामग्रीहरू प्रदान गर्ने, अत्यावश्यक खाद्यान्न र सरसफाइ सामग्रीहरू प्रदान गर्ने, महामारीको समयमा सुकुम्वासी वस्तीका परिवारहरूलाई खुवाउने जस्ता कार्यक्रमहरू सन्चालन गरेकी छन् ।

प्रतिक्रिया