सातै प्रदेशमा एकसाथ चुनावी प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै अध्यक्ष ओली

काठमाडौं। नेकपा एमालेले चुनावी प्रशिक्षण सुरु गर्न लागेको छ । एक भर्चुअल कार्यक्रममार्फत आज एमाले अध्यक्ष केपी ओलीले सातै प्रदेशमा एकसाथ ‘स्थानीय तह निर्वाचन तयारी केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम’ उद्घाटन गर्न लागेको हो ।
एमालेको थापाथलीस्थित पार्टी कार्यालयबाट दिउँसो १ बजे अध्यक्ष ओलीले प्रशिक्षण उद्घाटन गर्ने एमाले केन्द्रीय प्रचार विभागले जनाएको छ । प्रशिक्षण कार्यक्रममा पार्टीका केन्द्रीय कमिटीका पदाधिकारी, सदस्य, प्रदेश कमिटीका पदाधिकारी, संघीय सांसद, प्रदेशसभा सदस्य तथा जिल्ला कमिटीका पदाधिकारी तथा प्रशिक्षणका लागि तोकिएका प्रशिक्षार्थीहरु भर्चुअल माध्यमबाटै सहभागी हुने जनाइएको छ ।
सरकारले चुनावको मिति घोषणा गरेपछि एमाले चुनावकेन्द्रित भएको हो । अगामी २०७९ सालको वैशाख ३० गते देशभरका स्थानीय तहमा एकै चरणमा निर्वाचन गर्ने मन्त्रिपरिषद्ले निर्णय गरिसकेको छ । एमालेले पहिलो स्थान हासिल गर्ने दाबीसहित चुनावी माहोल ह्वातै बढाएको छ ।

प्रतिक्रिया