एमसीसीलाई आँखा चिम्लेर समर्थन गर्न सकिँदैन : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसीलाई समर्थन गर्न नसकिने बताएका छन् । वीरगञ्जमा समाजवादी प्रेस संगठन पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमसीसीलाई वर्तमान अवस्थामा साथ दिन नसकिने स्पष्ट पारे ।
उनले एमसीसीबारे जनतालाई स्पष्ट पार्नुपर्ने चुनौति रहेको बताए । सत्ता गठबन्धनका प्रमुख नेता नेपालले यथास्थितिमा एमसीसीलाई आँखा चिम्लेर समर्थन गर्न नसकिने बताए । उनले भने, ‘एमसीसीको बारेमा नेपाली जनता र राजनीतिक दल विभाजित छन् । त्यसैले एमसीसीमा क्लयरिफिकेसन चाहिन्छ, कतिपय कुरा मिलाउनुपर्ने छ । तर, जनमत एमसीसीविरुद्ध छ । जनमतलाई कसरी आश्वस्त बनाउन सकिन्छ । यो पनि एउटा ठूलो चुनौति छ ।’
सम्झौता मिति पर सार्दा उचित हुने उनको भनाई छ । उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भाषा नै बोलेका छन् । प्रचण्डले पनि एमसीसीलाई चुनावपछि संसद्मा लैजान सुझाव दिएका थिए ।
प्रधानमन्त्री शेरबहादुर देउवा जसरी पनि एमसीसी पास गरेर छाड्ने रणनीतिमा अगाडि बढेपछि गठबन्धन अप्ठ्यारोमा परेको छ । माओवादी र एकीकृत समाजवादीका शीर्ष नेता एमसीसी संसद्मा लैजान नहुने अडानमा छन् । माधव र प्रचण्डलाई देउवाको दबाब त छ नै यता पार्टीका नेताको दबाब पनि बढ्दै छ ।
एमसीसीका कारण सत्ता गठबन्धन फुट्ने अनुमान लगाउन थालिएको छ । देउवाले एमसीसीलाई पहिलो प्राथमिकता दिएपछि प्रचण्ड र माधव अप्ठ्यारोमा परेका हुन् ।

प्रतिक्रिया