शुक्रबार, वैशाख २८, २०८१

‘प्रेम प्रस्ताव राख्ने, मन नपरे गाली होइन माया दिऔं’

नेपालखोज २०७८ फागुन २ गते ८:१३

काठमाडौं । ‘भ्यालेन्टाइन डे’ लाई सेन्ट भ्यालेन्टाइन डे पनि भनिन्छ । यस दिन प्रेमी–प्रेमिकाले एक–अर्काबीच प्रेमभाव दर्शाउँदै माया साटासाट गर्ने गर्छन् । प्रेम प्रस्ताव गर्ने अवसर भनिए पनि प्रेम सफल भएका र अभिभावकको मन्जुरीमा विवाह बन्धनमा बाँधिएका दम्पतिहरूले पनि भ्यालेन्टाइन डे विशेष गरी मनाउने गरेका उदाहरणहरू छन् ।

भ्यालेन्टाइन डे फेब्रुअरीको मध्यमा लुपरकालियाको रोमन उत्सवबाट भएको मानिन्छ । वसन्तको आगमनमा मनाइने यो पर्वमा प्रजनन् संस्कार र चिठ्ठामार्फत महिलालाई पुरुषसँग जोड्ने कार्यसँग समावेश थियो । १४औं शताब्दीसम्म भ्यालेन्टाइन डेलाई रोमान्सको दिनको रूपमा मनाउन पाइँदैनथ्यो । अर्कातिर यो दिवस मनाउने अर्को कथा पनि गाँसिएको छ ।

भ्यालेन्टाइन डे कसरी सुरुवात भयो भन्ने कुरा सवैको चासोको विषय हो । धेरैजसो युवायुवतीलाई यसको सम्बन्धमा थाह पनि भइसकेको छ । यसको औपचारिक सुरुवात इस्वी संवत २६९ मा रोमबाट सुरु भएको मानिन्छ । भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस एउटा दुखान्त प्रेम कथासँग जोडिएको छ । उक्त दुखान्त प्रेमकथा अहिलेका युवायुवतीलाई प्रेम गर्ने माध्यम बनेको छ ।

इतिहासअनुसार तत्कालीन रोमन सम्राट क्लोडियस द्वितीय थिए । उनले आफ्ना सैनिकलाई प्रेम तथा विवाह गर्न रोक नै लगाएका थिए । देशमा प्रेम त के विवाह पनि गर्न नपाइने भनेपछि भित्रभित्रै एक किसिमको आन्दोलन सुरु भयो ।

प्रेम तथा विवाहले सैनिक कजोर हुन्छन् भने रोमन सम्राटको भनाइ पटक्कै व्यवहारिक तथा तार्किक थिएन । उनको सैनिकलाई प्रेममा रोक लगाउनुको कारण पनि अचम्मको नै थियो । युद्धसँग सम्बन्धित गोप्य सूचना बाहिर सार्वजनिक हुने आशंकामा सम्राट क्लोडियसले सैनिकलाई ‘प्रेम तथा विवाह नगर’ भनेर आदेश दिएका थिए ।

त्यो बेलाको समयमा राजाले बोलेको कुरामा कसैले जवाफ फर्काउन सक्दैन थिए । धेरै सैनिक युवालाई सम्राटको नियम मन परेको थिएन । तर आवाज निकाल्न सक्दैन थिए । सम्राटको नियम परेन भनेर पादरी सन्त भ्यालेन्टाइनले प्रेमको पक्षमा सशक्त आवाज उठाएका थिए । सन्त भ्यालेन्टाइनले सम्राटको प्रतिबन्धको सशक्त उल्लंघन गरे । उनले धेरै सैनिकको सार्वजनिक रुपमा विवाह नै गराइदिए । सम्राटलाई सन्त पादरीको क्रियाकलाप मनै परेन । अन्ततः पक्राउ गरेर मृत्युदण्डको सजाय सुनाउँदै जेलमा राखिदिएका थिए ।

सन्त भ्यालेन्टाइन जेलमा बस्दाको पनि रोचक कथा छ । जेलरकी दृष्टिबिहीन छोरीसँग उनको गहिरो प्रेम बसेको थियो । आफूलाई मृत्युदण्ड दिनुअघि सन्त भ्यालेन्टाइनले जेलरकी छोरीलाई लभ लेटर लेखेका थिए । उनले ‘लभ फ्रम योर भ्यालेन्टाइन’ भन्ने हस्ताक्षरसहितको प्रेमपत्र आफ्नी प्रेमिकालाई दिएका थिए ।

सन्तकी प्रेमिका अर्थात जेलरकी छोरी दृष्टिविहीन थिइन् । आफूले मृत्युदण्ड पाएर संसार छोड्ने भएपछि आफ्ना दुवै आँखा प्रेमिकालाई दिएर भ्यालेन्टाइनले मृत्युदण्ड स्वीकार गरेका थिए । अन्ततः सन २६९ को फेब्रुवरी १४ मा उनलाई मृत्युदण्ड दिएरै छाडियो । उनलाई मृत्युदण्ड दिएको दिन अनि संसारका युवायुवतीलाई प्रेमको महत्त्व दर्शाएकाले, प्रेमका लागि गरेको त्यागको सम्झनालगायतका कारण हरेक वर्ष फेब्रुवरी १४ तारिखमा प्रेम दिवस अर्थात भ्यालेन्टाइन डे मनाउन थालिएको हो ।

भ्यालेन्टाइनको उल्लेख विभिन्न पुस्तकमा पाइन्छ । रोमका सम्राट क्लाउडियसको शासनकालमा सेन्ट भ्यालेन्टाइन संसारभर प्रेम बढेको हेर्न चाहन्थे । तर राजालाई यो कुरा पटक्कै मन परेन । क्लाउडियसले आफ्नी पत्नी र परिवारप्रतिको कडा लगावका कारण रोमीहरू सेनामा भर्ना हुन नसकेको महसुस गरे ।

‘भ्यालेन्टाइन डे’ का विभिन्न प्रतीकहरू छन्,जुन आज प्रयोग गर्ने गरिन्छ । हृदयको आकारको रूपरेखा, ढुकुर र पखेटा भएको कामदेवको आकृति ‘भ्यालेन्टाइन डे’को प्रतिकमा समावेश छ ।

प्रेम गर्न पाउनुपर्छ भनेर राजासँग आवाज उठाउने भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएपछि यसको लोकप्रियता अझ बढ्दै गयो । पहिले १४ फेब्रुअरीमा मात्रै मनाइन्थ्यो, विस्तारै यसलाई साता व्यापीरूपमा मनाउन थालिएको छ । अब ७ देखि १४ फेब्रुअरी अर्थात् साताभरि कसरी यो दिवस मनाइन्छ त चर्चा गरौं :

रोज डे (७ फेब्रुअरी)
भ्यालेन्टाइन डे साताव्यापी रूपमा मनाउने काम रोज डे बाट सुरु हुन्छ । रातो गुलावलाई प्रेमको प्रतिकका रूपमा लिइन्छ । कोही युवक वा युवतीले एक अर्कालाई मन पराए गुलावको फुल दिने चलन छ । नेपालमा पनि काठमाडौंलगायत धेरै सहरमा गुलावको फूल धेरै विक्री भएको छ । चुपचाप दिएको गुलावको फुललाई कोही युवा वा युवतीले स्वीकार गरे,प्रेम प्रस्ताव स्वीकार गरेको मानिन्छ ।

प्रपोज डे (८ फेब्रुअरी)
प्रपोज डे मा आफूलाई मन परेको युवा वा युवतीसामु ‘म तिमीलाई माया गर्छु’ भन्ने प्रस्ताव राख्ने गरिन्छ । तर यस दिन प्रस्ताव राख्ने केटा वा केटीलाई अस्वीकार गरे पनि गाली गर्नु हुँदैन भन्ने मान्यता छ । धेरैले यही मान्यतामा आधारित भएर एक अर्कामा प्रेम प्रस्ताव राख्ने गर्छन् ।

चक्लेट डे (९ फेब्रुअरी)
यो दिनको पनि विशेष महत्त्व छ । अघिल्लो दिन गुलाफको फूल दिइएका मायालुलाई यस दिन चक्लेट दिएर खुसी बनाउन सकिन्छ । चाहे प्रेम स्वीकार गरेको होस् कि नहोस्, चक्लेट दिएर प्रेम अस्वीकार गरेको भए पनि खुसी बनाउन सकिन्छ । प्रेम स्वीकार गरेको भए चक्लेटजस्तै मिठास प्रेम हुने विश्वास गरिन्छ । भनिन्छ मन परेको मान्छेलाई पहिले गुलियो खान दिए, त्यो स्मरणीय हुनछ ।

टेडी डे (१० फेब्रुअरी)
यस दिन राम्रो तथा नरम खालको टेडी वियर दिएर प्रेमी वा प्रेमिकाप्रति प्रेमभाव दर्शाउन सकिन्छ । टेडी वियर दिएमा प्रेम सम्बन्ध गहिरो हुने विश्वास गरिन्छ । चक्लेट दिएपछि टेडी दिँदा अझ प्रेम सम्बन्ध झाँगिन सहयोग पुग्छ ।

प्रमिस डे (११ फेब्रुअरी)
अगाडिका दिनहरू सफल हुँदै गएपछि ‘म तिमीलाई साँच्चै माया गछुर्’ भनेर बाचा गर्ने प्रमिस डे मा हो । दुवै जनाले प्रेमको सम्बन्ध बनाइ सकेपछि प्रेम गर्दा एक–अर्कालाई धोखा नदिने बाचा गरिन्छ । यो दिन गरेको वाचा दिगो हुने विश्वास गरिन्छ । प्रेम सम्बन्ध इमान्दारी साथ निधाउने बाचा गर्ने दिन पनि यही हो ।

हग डे (१२ फेब्रुअरी)
यस दिन एक अर्कामा प्रेमले भरिएको अँगालो मार्ने गरिन्छ । यस दिनदेखि प्रेम र आत्मियता एक अर्कामा महसुस हुने गर्छ । यस दिन ‘टाइट हग’ गर्नुपर्छ भन्ने गरिन्छ ।

किस डे (१३ फेब्रुअरी)
प्रेम गर्ने जोडीका लागि चुम्बनले विशेष महत्त्व राख्छ । चुम्बनको अवस्थासम्म पुगेको यो दिनलाई एक किसिमले प्रेमको सफलताको दिनका रूपमा लिने गरिन्छ । चुम्बनपछिको आत्मियता अझै खुल्दै जाने छ । एक अर्काले चुम्बन स्वीकार गरे प्रेम सफल भएको पनि मानिन्छ ।

भ्यालेन्टाइन डे (१४ फेब्रुअरी)
यस दिन प्रेमीप्रेमिकाले पूरा दिन घुमफिर गर्दै खुसी साटासाट गर्दै विताउँछन् । साताव्यापी रूपमा विभिन्न किसिमले माया दर्शाएर उनीहरू एक सफल प्रेमी भइसकेका हुन्छन् । यस दिन आफ्नो प्रेमी वा प्रेमिकालाई गिफ्ट दिने गरिन्छ । टाढा घुम्न जान सकिन्छ । एक अर्काबीच इन्ज्वोइ गर्न सकिन्छ । साता भरिका प्रेमका रमाइला अनुभवहरू एक अर्कामा साटासाट गर्न सकिन्छ । यस दिनदेखि प्रेमीप्रेमिकाको आफ्नो जीवनका योजनाहरू बनाउँदै प्रेममा डुब्नेछन् ।

प्रतिक्रिया