बिहीबार, जेठ ३, २०८१

लासा भाइरसले घचघच्यायो ढोका, यसको पनि छैन उपचार !

नेपालखोज २०७८ फागुन ४ गते ९:१७

काठमाडौं । कोरोना भाइरसको प्रकोपले गाँजेको यो समयमा यो भाइरसको ताण्डव कहिलेसम्म चल्ने हो भन्ने चिन्ता सारा संसारभर छ । नयाँ-नयाँ भेरियन्ट फेला परिरहेकाले कोरोनाले छिटै मानिसलाई छोड्छ जस्तो देखिँदैन । भलै यो मत्थर नै किन नहोस् ? उता अर्कातिर एउटा नयाँ भाइरसको आगमनले धेरैको चिन्ता बढाएको छ । बेलायत (यूके) बाट आएको समाचारअनुसार त्यहाँ लासा (Lassa) नामको एक भाइरसको तीन संक्रमित फेला परेका छन् । दुर्भाग्यको कुरा के भने ती तीनमध्ये एकजनाको मृत्युसमेत भइसकेको छ ।

यो भाइरस अहिलेसम्म केही अफ्रिकी देशका अतिरिक्त कहीँ नपुगेको बताइए पनि बेलायतमा फेला परेको केसले वैज्ञानिक एवं चिकित्सकहरुको चिन्ता बढाएको छ । यो भाइरसबाट हुने बिरामीलाई लासा भनिन्छ जसको हालसम्म कुनै उपचार विधि छैन ।

लासा भाइरसको संक्रमणको सुरुवातमा कुनै खास लक्षण देखिँदैन । यो बिरामीको मृत्युदर पनि बढी छैन भने ८० प्रतिशत केसमा कुनै लक्षण देखिँदैन । युरोपियन सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार यो रोगको कुनै उपचार छैन । यसमा केही संक्रमितमा धेरै जटिलता उत्पन्न हुन्छन् जसका कारण उनीहरुलाई अस्पताल भर्ना गर्नुपर्ने हुन्छ । अस्पताल पुगेका लासा भाइरसका १५ प्रतिशत बिरामीको मृत्यु हुने बताइन्छ ।

लासा भाइरस के हो ?
इन्डियन एक्सप्रेसका अनुसार यो रोगका बिरामी १९६९ मा पश्चिमी अफ्रिकी देश नाइजेरियाको लासा भन्ने ठाउँमा पहिलोपटक फेला पारिएको थियो । यो भाइरसले दुई नर्सको ज्यान लिएपछि पहिचान गरिएको थियो । लासा भाइरसको संक्रमणमा सबैभन्दा पहिले ज्वरो आउँछ । यो भाइरस मुसाबाट मानिसमा सर्छ । सियरा लियोन, नाइजेरिया, गिनी तथा लाइबेरियामा यसलाई महामारी घोषित गरिएको छ ।

कसरी फैलन्छ संक्रमण ?
यो संक्रमण मुसाबाट मानिसमा सर्छ । खासगरी मुसाको मलमूत्र वा त्यसबाट दूष‍ित भएको खानेकुरा खाएपछि यो संक्रमण हुनसक्छ । यो रोगका संक्रमितलाई छुँदा वा उसको नजिक रहँदा सर्ने सम्भावना निकै कम हुन्छ । यदि संक्रम‍ित व्‍यक्त‍िको कुनै तरल पदार्थसँग कसैको सम्पर्क भयो भने उसलाई पनि यो रोग हुन वा सर्न सक्छ । अर्कातिर जबसम्म कसैमा कुनै लक्षण देखिँदैन तबसम्म उसले अर्को व्यक्तिलाई संक्रमित गर्न सक्दैन । यो रोग लागेका व्यक्तिलाई अँगालो हाल्दा, हात मिलाउँदा वा छेउमै बस्दा पनि सर्दैन ।

कसलाई छ बढी जोखिम ?
लासा भाइरसको सबैभन्दा बढी प्रभाव गर्भवती महिलामा देखिएको छ । सीडीएसका अनुसार गर्भावस्थाको तेस्रो तीन महिनामा लासा भाइरसले महिलाहरुलाई बढी संक्रमण गरेको पाइएको छ ।

कति दिनमा देखिन्छ लक्षण ?
लासा भाइरसको संक्रमणमा १ देखि ३ सातासम्म कुनै लक्षण देखिँदैन । त्यसपछि देखिने लक्षण पनि निकै साधारण हुन्छन् । सामान्य ज्वरोलाई साधारण मानेर मानिसहरुले यसको बास्ता गर्दैनन् । यसका हल्का लक्षणमा ज्वरो , थकान, कमजोरी, टाउको दुख्ने आदि हुनसक्छ । त्यसपछि गम्भीर परिस्थितिमा बिरामीलाई श्वास फेर्न अप्ठ्यारो हुन थाल्छ । त्यसका अतिरिक्त अनुहार सुन्निएर कम्मर, छाती तथा पेट दुख्न थाल्छ । यसको अत्यधिक गम्भीर स्थितिमा रक्तश्राव हुन्छ ।

स्थायी बहिरोपनको आशंका
यो भाइरसको असर १ देखि ३ सातापछि देखिन्छ भने लक्षण देखिएको दुई सातापछि यदि जटिलता बढ्दै गयो भने मृत्युको जोखिमसमेत बढ्छ । यसबाट मृत्युदर कम भए पनि रोगको जटिलताले स्थायी बहिरोपन सिर्जना गर्न सक्छ ।

जोगिने उपाय
यो संक्रमण मुसाबाट फैलने हुँदा सधैं मुसाबाट टाढै रहनु उपयुक्त हुन्छ । मुसालाई कुनै पनि हालतमा आफ्नो खानेकुराको सम्पर्कमा आउन दिनु हुँदैन । मुसालाई रोग फैलिएको ठाउँबाट भगाउने मात्र होइन अन्यत्र पनि बढ्न दिनु हुँदैन ।

प्रतिक्रिया