देउवा-ओली जोडिने र गठबन्धन तोडिने, सभामुखविरुद्ध यसरी महाअभियोग आउने

नेपालखोज २०७८ फागुन ४ गते २०:३१

काठमाडौं । एमसीसीले गठबन्धन तोडिन सक्ने भएको छ । नेपाली कांग्रेसले एमसीसीलाई पास गराएर छाड्ने रणनीति लिएपछि गठबन्धन धरापमा परेको हो ।

कांग्रेसले एमसीसी टेबल गर्ने निर्णय गरेपनि नेकपा माओवादी केन्द्र फरक तरिकाले प्रस्तुत भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई गठबन्धन फलामको चिउरा बनेको छ । उनलाई पार्टीबाट एमसीसी पास गर्न नहुने दबाब छ । प्रचण्डलाई माओवादीले समर्थन गरे नेकपा एमालले विरोध गरेर चुनावी स्टन्ट बनाउन भन्ने पनि डर छ ।

एमसीसीको विरोधमा माओवादीका जनवर्गीय संगठन सडकमा ओर्लिएका छन् । सत्ता गठबन्धनको नेतृत्वकर्ता काँग्रेस भने एमसीसी पारित गर्न हतारिएको छ । उसले गठबन्धनको दल माओवादी केन्द्रको हर्कत देखेर अचम्ममा परेको छ । सरकारमा पनि बस्ने सडकमा जाने कारण माओवादीसँग कांग्रेस रुष्ट बन्दै गएको छ ।

एमसीसी पारित गर्ने वातावरण विकास गर्न कांग्रेसले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग लगाउन तयार भएको थियो । महाअभियोगमा कांग्रेस विगत देखि नै रोक्किएको थियो । माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल महाअभियोग लगाउन दबाब दिइरहेका थिए । उनीहरुले एमसीसी पास गर्न सहयोग गर्ने शर्त अघि सारेका थिए । देउवाले पनि प्रचण्ड–माधवको कुरा सुनेर महाअभियोगमा सहयोग गरे ।

महाअभियोग लगाएपनि पारित हुने अवस्था छैन । तर, राजनीतिक लेनदेनका लागि देउवाले यस्तो कदम चाले ।महाअभियोगलाई चुनाव सार्ने षड्यन्त्रका रुपमा नेकपा एमालेले लिएको छ । अब सबै विषय एमसीसीसँग जोडिएर आएको छ । एमसीसी पारित गर्न प्रचण्ड र माधव नेपाल तयार नहुने सम्भावना बढेको छ ।

देउवाको लाइन स्पष्ट छ । उनी एमसीसी पास गर्न जुनसुकै हदसम्म जान सक्ने सजिलै अनुमान लगाउन सकिन्छ । देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली मिल्ने डरले प्रचण्ड–माधव सरकारमा पनि छन् सडकमा पनि छन् । उनीहरुले सरकार छाड्ने धम्की मात्र दिएका हुन् । प्रचण्डको रणनीति स्पष्ट छ । गठबन्धनलाई उनी तीनै तहको चुनावसम्म जिवित राख्न चाहान्छन् ।

देउवाले विभिन्न माध्यमले एमाले अध्यक्ष ओलीसँग संवाद गरिरहेका छन् । यता दुई नेताबीच कुरा हुन्छ उता प्रचण्ड–माधवको मुटु दुख्छ । एमसीसी पारित गर्ने शर्तमा देउवा र ओलीबीच गठबन्धनको सम्भावना पनि छ । त्यतिबेला महाभियोगको अस्त्र अन्त सोज्जिन सक्छ ।

सभामुख अग्निप्रसाद सापकोटालाई हटाउने प्रस्ताव संसदमा दर्ता हुनसक्छ । देउवाले एमसीसीका लागि त्यो कदम चाल्ने सम्भावना पनि छ । एमाले सभामुख हटाउन खोजिरहेको छ । एमाले सभामुख अग्निप्रसाद सापकोटासँग रुष्ट छ । सापकोटाले हाल नेकपा एसका १४ जना सांसद्लाई कारबाही गरेका थिएनन् ।

एमालेको बुझाइ छ सभामुख प्रचण्डको निर्देशनमा चल्छन् । प्रचण्डले कारबाहीको सिफारिस गर्दा केही समयमा नै हाल एमालेमा रहेका प्रभु साह, लेखराज भट्ट लगायतलाई कारबाही भयो । तर एमालेले माधवसहित १४ सांसद्लाई कारबाही गर्न गरेको सिफारिसमा सभामुखले चासो दिएनन् ।

प्रतिक्रिया