केसीद्वारा लिखित ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’ नामक पुस्तक सार्वजनिक

काठमाडौं । पूर्वमन्त्री अर्जुननरसिंह केसीद्वारा लिखित पुस्तक ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’ नामक पुस्तक सार्वजनिक भएको छ । काठमाडौंमा आज एक कार्यक्रमबीच प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केसीद्वारा लिखित पुस्तकको विमोचन गरेका हुन् ।
पुस्तकमा नेपाली कांग्रेसको इतिहास र २००७ सालमा राणाविरोधी आन्दोलनलाई सफलता दिलाउन सहयोग गरेका व्यक्तित्वबारे चर्चा गरिएको छ । लेखक केसीले पुस्तकभित्र आफूले २०२६/२७ वर्षयता स्वदेश तथा विदेशमा नेपाली कांग्रेसबारे उठाइएका खुल्दुलीलाई समेट्ने प्रयत्न गरेको जानकारी दिए ।
नेता केसीले पुस्तकमा नेपाली कांग्रेसमाथि उठ्ने गरेका प्रश्न र लाग्ने गरेका आरोप तथा नेपाली कांग्रेसको अहिलेसम्मको कार्यदिशा, पार्टीका संस्थापक नेता बिपी कोईरालाले देखाएको समाजवाद र नेपाली कांग्रेसको सन्तुलित परराष्ट्रनीतिका बारेमा बिस्तृत रुपमा उजागर गरिएको बताए ।
उनले पुस्तकबाट नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले नेपाली कांग्रेसको बारेमा धेरैकुरा जान्न र बुझ्न सक्ने उल्लेख गरे ।कांग्रेस केन्द्रिय सदस्य केसीले भने, ‘यो किताव झन्डै झन्डै म केन्द्रिय कार्यसमितिको सदस्य भएको २६/२७ वर्ष भयो । त्यहाँ नेपाली कांग्रेस र यसको इतिहासका बारेमा विभिन्न पक्षको प्रश्न हुन्थ्यो । जिज्ञासा राखेर सोध्ने काम गर्दथे । त्यही जिज्ञासाको उत्तर मैले जे दिन्थें त्यसलाई साधारण नोट बनाएर मैले राख्दै गएको थिए । यसमा नेपाली कांग्रेसमाथि उठ्ने विभिन्न खालको प्रश्नहरुलाई कार्यकर्ताको लेभलमा शिक्षणको रुपबाट यथार्थता र बास्तविकता पुगोस भन्ने प्रयास हो ।’

केसीले क्रान्तिको निम्ति योगदान पुर्याएका सबै समेटिएकाे दाबी गरे । उनले भने, ‘इतिहासमा कांग्रेस नभएर पनि २००७ सालको क्रान्तिको निम्ति जसले योगदान पुर्याएका छन् । उनीहरुले गरेको त्याग, तपस्या र समर्पण त्यो सम्पूर्णको उत्तराधिकार संस्था कांग्रेस हो । त्यसैको आडले हामीले २००७ सालको सफलता प्राप्त गरेका छौं । भन्ने दृष्टिकोण र विलुप्त भएका व्यक्तित्व, जनताको बीचमा मानसपटलमा नसम्झेका व्यक्तिलाई उत्खनन गरेर राखेको छ ।’

प्रतिक्रिया