गठबन्धन बैठकपछि एमालेले धारणा बनाउने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। सत्ता गठबन्धनको बालुवाटारमा बिहीबार साँझ बसेको बैठकमा एमसीसीबारे सहमति हुन नसकेपछि देउवा ओली भेट्न बालकोट पुगेका हुन् ।
ओलीसँगको वार्ता सकेर राती सवा १० बजे प्रधानमन्त्री देउवा बालकोटबाट बालुवाटार फर्किए । बालकोटबाट बाहिरिने क्रममा देउवाले कुनै प्रतिक्रिया भने दिन मानेनन् । तर अध्यक्ष ओलीको सचिवालयले वार्ताका क्रममा वर्तमान राजनीतिक अवस्था र अमेरिकी अनुदान सहयोग एमसीसीका बारेमा छलफल भएको जानकारी दिएको छ ।
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच राजनीतिक अवस्थाका बारेमा कुराकानी भए पनि सञ्चारकर्मीलाई जानकारी गराउनुपर्ने गरी कुनै निष्कर्षमा नपुगेको अध्यक्ष ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले सञ्चारकर्मीहरुलाई बताए । शुक्रबार फेरि सत्ता गठबन्धनको बैठक छ, त्यसमा कस्तो छलफल हुन्छ, कस्तो प्रतिक्रिया आउँछ एमालेले त्यसलाई मध्यनजर गर्ने अवस्था रहेको उनले जानकारी दिए ।
देउवाले बालकोटमा ओलीसँग बिहीबार नै दुई चरण वार्ता गरे । पहिलो चरणको वार्ता गरेर फर्किएका देउवा फेरि बालकोट नै फर्किएका थिए । बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले एमसिसी संसद्बाट पास गर्नुपर्ने प्रस्ताव गरे पनि सहमति जुट्न नसकेपछि शुक्रबार १० बजे पुनःबैठक बस्ने गरी बैठक विना निष्कर्ष सकिएको थियो ।
एमाले अध्यक्ष ओलीसँग बिहीबार दिँउसो मात्रै पनि कांग्रेस नेता मिनेन्द्र रिजाल र ज्ञानेन्द्र कार्कीले भेटेका थिए । अन्य स्तरका नेताले समेत अनौपचारीक रुपमा संवाद गरीरहेको बताईएको थियो ।

प्रतिक्रिया