एमसीसी संसदबाट पास भए देश गृहयुद्धमा जान्छ : सिपी गजुरेल

नेपालखोज २०७८ फागुन ६ गते १८:०६

काठमाडौं । देशभक्त जन गणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेलले एमसीसी पास भए देश गृहयुद्धमा जानसक्ने बताएका छन् । आज एमसीसीको विपक्षमा रहेका विभिन्न पार्टी तथा भातृ संगठनहरुले काठमाडौंमा गरेको बिरोध प्रदर्शनका क्रममा बोल्दै अध्यक्ष गुजरेलले एमसीसी संसदबाट पास भए राष्ट्रिय युद्धको खतरा रहेको बताएका हुन् ।

उनले नेपाली कांग्रेस प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग मिलेर एमसीसी पास गराउने षड्यन्त्रमा लागि रहेको आरोप लगाउँदै एमसीसी पास भएमा देशमा विकराल अवस्था सिर्जना हुने दाबी गरे ।

अध्यक्ष गजुरेलले कतिपयले एमसीसीलाई ५० करोड डलरमा मात्रै सिमित गरिरहेको भन्दै युद्धलाई पैसाले रोक्न नसकिने जिकिर गरे । उनले प्रधानसेनापतिले पूर्वमा गएर देश विदेशीको हातमा सुम्पिए नेपाली सेना चुप लागेर नबस्ने बताएको भन्दै नेपालको राष्ट्रिय स्वाधीनतामाथि बाह्य हस्तक्षेप भयो भने राष्ट्रिय युद्ध हुन सक्ने बताए ।

अध्यक्ष गजुरेलले अहिले देश गम्भीर मोडमा रहेको बताए । उनले अमेरिकी सरकारद्वारा प्रायोजितरुपमा दिएको एमसीसी पास गर्न अमेरिकाले दबाब दिइरहेको समेत आरोप लगाए । अध्यक्ष गजुरेलले देशलाई शंकटबाट बचाउन नयाँ तरिकाबाट अघि बढ्न आवश्यक रहेको बताउँदै लाखौँ जनता, देशभक्त, क्रान्तिकारीहरु एमसीसी सम्झौता खोरेजीको पक्षमा रहेको दाबी गरे ।

त्यस्तै उनले शासक वर्गहरुले कुनै पनि बेला राष्ट्रघाती एमसीसी सम्झौता पारित गर्न सक्ने शंका व्यक्त गर्न सक्ने भएकोले अझै सशक्त भएर आन्दोलन गर्न आह्वान गरे । अध्यक्ष गजुरेलले एमसीसी पारित भए अमेरिकी सेनालाई, अमेरिकी सरकारलाई नेपालबाट लखेट्न गाह्रो हुने बताए ।

त्यस्तै राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले सडक र संसदमा एमसीसीबारे आन्दोलन गरिरहेको बताइन् । उनले एमसीसी राष्ट्रघाती रहेको दाबी गर्दै कुनै पनि हालतमा एमसीसी पारित गर्न नदिने बताइन् । उपाध्यक्ष पौडेलले एमसीसीमा अनन्तकालसम्म नेपाललाई बन्देज बनाउने कुराहरु समावेश भएकोले यो नेपाली जनालाई स्वीकार्य नहुने बताइन् ।

उपाध्यक्ष पौडेलले एमसीसी संसदमा टेबुल हुन पनि दिन नहुने भन्दै एमसीसीका कारण सार्वभौम सम्पन्न स्वतन्त्र देशलाई कसैको गुलाम बनाउन नदिने बताइन् ।

प्रतिक्रिया