विश्वकप छनोट : फिलिपिन्सलाई १ सय ३६ रनले पराजित गर्दै नेपालको दोस्रो जित

काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले फिलिपिन्सलाई १ सय ३६ रनले पराजित गरेको छ । ओमानको अल अमेरात क्रिकेट मैदानमा २ सय १९ रनको लक्ष्य पछ्याएको फिलिपिन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै मात्र ८२ रन जोड्न सक्यो ।
नेपालको यो लगातार दोस्रो जित हो । यस अघि नेपालले आयोजक ओमानलाई ३९ रनले पराजित गरेको थियो । योसँगै नेपाल विश्वकप ग्लोबल छनोटको सेमिफाइनल नजिक पुगेको छ ।
नेपालविरुद्ध फिलिपिन्सका लागि जोर्डन अलेग्राले २७, ड्यानियल स्मीथले २०, कप्तान जोनाथन हिलले ११, कपिल कुमारले ४ रन जोडे । नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए । गुल्सन झा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, अविनाश बोहरा, जितेन्द्र मुखियाले एक–एक विकेट लिए ।
यस अघि ओमानको अल अमेरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय १८ रन जोड्यो ।

प्रतिक्रिया