आइतबार, वैशाख १४, २०८२

अध्यागमनमा यात्रुलाई सकस

संशाेधित नियम सार्वजनिक रूपमा जानकारी दिइँदैन

नेपालखोज २०७८ फागुन ७ गते १९:०२

काठमाडौं । विदेश जानेहरूका लागि अध्यागमन विभाग सेवा दिने निकाय हो । तर उचित संयन्त्र तथा नीति नबन्दा यात्रुले दुख पाउने गरेका उदाहरणहरू छन् ।

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आमयात्रुले प्रस्थान अनुमति लिएर विदेश पुगे पनि धेरैजसो ट्राभल डकुमेन्ट नक्कली भएको भन्दै फर्किने गरेका छन् । यस्तै केही समयका लागि विदेश जान भनेर टिकेर काटेर एयरपोर्ट पुगेकाहरू फर्किनु परेका उदाहरणहरू छन् । काठमाडौंबाट उडेका यात्रीको राहदानी तथा डकुमेन्ट नक्कली ट्राभल डकुमेन्ट भएको विदेशस्थित निकायले बताउने गरेका छन् ।

भारतको कानपुर निवासी प्रशान्त पाण्डेले भोगेको घटना पनि सञ्चारमाध्यममा सार्वजनिक भएको छ । उनी दिल्लीबाट काठमाडौं ओर्लेका थिए । उनलाई अध्यागमन अधिकारीले राहदानीको मिति नै नहेरी आगमन अनुमति दिए। यसरी काठमाडौं भित्रिएका उनी केही दिन घुमेर सोही राहदानीमा प्रस्थान अनुमतिको छाप लगाएर बायुसेवाकै जहाजबाट दिल्लीतर्फ गए । दिल्लीस्थित इन्धिरा गान्धी विमानस्थलका अध्यागमन विभागले उनी मिति गुज्रिएको राहदानी प्रयोग गरेर यात्रा गरेको थाहा पायो।

यो त एउटा प्रतिनिधि उदाहरण मात्रै हो । नक्कली कागजात पहिचान गर्ने बलियो प्रविधि नहुँदा धेरै यात्रुले दुख पाउने गरेका छन् । अध्यागमन विभागका कर्मचारीहरूले वेवास्ता गर्दा पनि धेरै यात्रु सकसमा पर्ने गरेका छन् । सक्कली कागजात हुँदाहुँदै पनि उडान अनुमति नपाएर हैरानी खेपेका यात्रु पनि धेरै छन् ।

भारतका विभिन्न अस्पतालमा उपचार गराइरहेका र फलोअपका लागि नियमित उडिरहनुपर्ने यात्रुले पनि अध्यागमन विभागबाटै हैरानी खेप्नु परेको छ । मोरङ उर्लाबारीका जितबहादुर भण्डारीले एक महिनाअघि त्यस्तै दुःख खेपेको खबर सञ्चारमाध्यमबाट बाहिरीएको थियो ।

पहुँच हुनेहरू सजिलै उड्ने र सामान्य नागरिकले भने अनावश्यक हैरानी खेप्नुपर्ने घटना अध्यागमनमा दोहोरिरहन्छन् । कर्मचारीको लापारवाही र कार्यदक्षताको कमीले यात्रुले दुख पाउने गरेका छन् । यस्तै ‘सरकारी काम कहिले जाला घाम’को सोचले पनि विभागमा प्रभावकारी काम नहुने गरेको जानकारहरू बताउँछन् । यात्रुहरूको बढ्दो चापले बेलाबेला केही यात्रुलाई समस्या हुने गरेको भन्दै अध्यागमनका केही कर्मचारीहरूले आफ्नो बचाउ पनि गर्ने गरेका छन् । विभागले कमजोरीको रिभ्यु गर्न कमिटी नै गठन गरेको र तुरुन्तै समाधानको पहल गर्ने गरेको भने पनि त्यो प्रभावकारी नभएको पाइएको छ ।

अध्यागम विभागलाई चित्त बुझ्ने केही कागजात हुँदाहुँदै पनि यात्रुले दुःख पाएका धेरै उदाहरणहरू छन् । विमानस्थलमा प्रत्येक दिन एक अध्यागमन अधिकारीले औसतमा तीन सय यात्रुका निम्ति सेवा दिनुपर्ने बाध्यता पनि नभएको होइन । बेलाबेला यात्रुको चाप एक्कासि बढ्ने र त्यस्तो बेला त्रुटि हुने जोखिम रहेको विभागको दाबी पनि छ ।

अध्यागमनमा सामान्य यात्रुले दुःख पाइरहेका छन् । टिकट काटेर विमानस्थल पुगेपनि फर्किनु पर्ने बाध्यता छ । तर कागजपत्र नपुगेपनि विमानस्थल अध्यागमनकै कर्मचारीसँगको सेटिङमा यात्रुहरू उडेका घटना पनि बारम्बर सार्वजनिक भईरहेकै छन् ।

केही सञ्चारमाध्यममा सार्वजनिक समाचार अनुसार केही समयअघि क्यानाडाको भिसा देखाएर सजिलै प्रस्थान अनुमतिको छाप लगाएर उडेका सिर्जन गौतम, नीरञ्जन पराजुली र प्रकाश भुसाल भोलिपल्ट गन्तव्य देश नै नपुगी बीचबाटै काठमाडौं फर्किए । चीनको गोन्जाओस्थित विमानस्थलमा कार्यरत चिनियाँ अध्यागमन अधिकारीले उनीहरूको भिसा नक्कली भएको बताए । अगाडिको उडान भर्न नमिल्ने भन्दै काठमाडौं नै फकाईदिएका थिए। उनीहरू फर्किएपछि मात्रै विमानस्थल अध्यागमन अधिकारीले नक्कली भिसाको भरमा उडान अनुमति दिएको तथ्य खुलेको थियो ।

अध्यागमनमा हुने अर्को कमजोरी भनेको यात्रुहरूको विवरण राख्दा हो । यात्रुहरूको विवरण राख्दा इमी सफ्टवेयर प्रयोग गर्ने गरिन्छ । तर बारम्बार बिग्रँदा सेवा नै प्रभावित हुने गरेको छ । सफ्टवेयर ह्याङ हुने र इन्ट्री गरेको डाटा रेकर्डबाट हराउनेलगायतका समस्याहरू हुँदा विदेश जाने यात्रु समस्यामा पर्ने गरेका छन् । नेपाल आएका केही विदेशीको तथ्यांक पनि नरहने गरेको देखिन्छ ।

अध्यागमन विभागले विदेश जान हिँडेकालाई फर्काइ दिएको विभिन्न उदाहरणहरू छन् । यस्तै शुक्रबार मात्रै सांगीतिक कार्यक्रममा सहभागी हुन दुबई हिँडेका ३५ जना कलाकारको टोलीलाई त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले फर्काइदिएको छ ।

कलाकारहरू काठमाडौंको अनामनगरस्थित प्रियसी म्युजिक प्रालिबाट सांस्कृतिक कार्यक्रमका लागि दुबई जान लागेका थिए । उनीहरुमध्ये प्रालिका सञ्चालक लगायत केही व्यक्ति मात्रै गृहमन्त्रालयको परिपत्रअनुसार दुवई जान पाउने देखिएको छ । बाँकी कलाकारसँग गृहमन्त्रालयले चाहाने आवश्यक कागजपत्र र यूएईस्थित नेपाली राजदूतावासको ‘नो अब्जेक्सन लेटर’ नभएको पाइएको अध्यागमन विभागका कर्मचारीले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।

गृहमन्त्रालले माघ ९ गते एक सूचना जारी गरेको थियो । उक्त सूचनामा माघ १० गतेदेखि लागू हुने गरी विभिन्न मुलुकमा भिजिट भिसाको लागि जानेहरूलाई कडाइ गरिएको जनाइएको छ । नियम अनुसार केही कलाकार मात्रै जान पाउने व्यवस्था छ । तर ठूलो संख्यामा प्रक्रिया नपुर्याइ जान लागेकालाइै फर्काइएको जनाइएको छ ।

वास्तवमा माघ १० गतदेखि अध्यागमन विभागले लागु गरेको थप नियम भने सर्वसाधारणलाई अझैसम्म पनि पत्तै छैन । गतिलो प्रचारप्रसारमार्फत सूचित गरिएको भए ३५ जना कलाकारको टोली दुवई जानबाट रोकिने थिएन ।

अध्यागमन विभागको नियम पूर्वजानकारी नहुँदा कलाकार फर्किएजस्तै अरु धेरैले पनि दुख पाइरहेका उदाहरणहरू छन् । विदेश उड्नै लागेका बेला विमानस्थल पुगेपछि त्यहाँका कर्मचारीले अनावश्यक झन्झट दिनु भनेको नागरिकमाथिको अपमान हो । अध्यागमनले विदेश उड्ने क्रममा दिने दुख धेरै यात्रुलाई चित्त बुझेको छैन । बिमानस्थलमा दुख दिने कामको साथै सही कागजपत्र निदिइँदा गन्तब्यसम्म पुग्न नपाई मध्य बाटोबाटै यात्रुहरू फर्किनु पर्ने अवस्था छ ।

नागरिकलाई दुख नहोस् भन्नका लागि पर्यटन मन्त्रालयले सोचविचार गरेर सहज किसिमको नीति बनाउन आवश्यक देखिएको छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले विमानस्थल तथा अध्यागमनमा सर्वसाधारणलाई हुने कठिनाईको सम्बन्धमा थप अनुसन्धान गर्नुपर्ने देखिएको छ ।

मन्त्री आलेले पछिल्लो समयमा विमानस्थल र अध्यागमन विभागमा सुधारको प्रयास त गरेका छन् । तर पनि यात्रुलाई सकस हुने क्रम रोकिएको छैन । यसतर्फ पुनर्विचार गरेर शीघ्र यात्रुलाई दुख नहुने नीति ल्याइनु पर्छ । बनाइएको नीति सवै नागरिकलाई थाह हुनेगरि सार्वजनिक गरिए, यात्रुहरूले अनावश्यक दुख पाउँदैन थिए कि !

प्रतिक्रिया