‘आफ्ना कार्यकर्तालाई सडकमा ढुंगा हान्न पठाएर गठबन्धन दोहोरो भूमिकामा’

नेपालखोज २०७८ फागुन ९ गते १७:०९

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन आफैंले आफ्ना कार्यकर्ता परिचालन गरेर प्रहरीमाथि लाठी चार्ज गराएको आरोप लगाएका छन् । अध्यक्ष ओलीले प्रहरीमाथि प्रर्दशनकारीहरुले ढुंगा प्रहार गर्दा पनि, बाटो भत्काउँदा पनि केही नगर्न प्रहरीलाई किन आदेश दिएको भनेर गृहमन्त्री बालकृष्ण खाँणलाई प्रश्न समेत गरे ।

काठमाडौंको दहचोकस्थित काजी कालु पाँडेको समाधिस्थलमा आज आयोजित एक कार्यक्रममा उनले आफूले त्यस सम्बन्धमा गृहमन्त्री खाँणसँग फोन संवाद गरेको बताए । उनले सत्ताधारी गुटले आफ्ना कार्यकर्तालाई सडकमा ढुंगा हान्न पठाएर दोहोरो चरित्र देखाएको बताए ।

अध्यक्ष ओलीले आन्दोलनको नाममा सडकमा इँटा हान्ने, तोडफोड गर्ने तर केही पनि नगर्नु भनेर सत्तारुढ दलहरुले नै आदेश दिएको भन्दै आक्रोश व्यक्त गरे । उनले एमसीसी सम्झौंता गर्ने, त्यसलाई संसदमा टेवल गर्नेमाथि सडकमा आन्दोलन गर्नेहरुले विरोध समेत नगरेको चर्चा गर्दै आपत्ति जनाए । एमसीसी संसदमा टेवल गर्न समेत सत्तारुढ दलहरुले षडयन्त्र गरेको अध्यक्ष ओलीको दाबी थियो ।

उनले एमसीसीबारे सत्तारुढ दलहरुले दोहोरो–तेहोरो चरित्र देखाईरहेको पनि दोहोर्‍याए । उनले सत्तारुढ नेकपा (एकीकृत समाजवादी)मा आवद्ध विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीको नामै लिएर बाटो भत्काउनेहरुलाई क्रान्तिकारी भन्न नमिल्ने बताए ।

त्यस अवसरमा अध्यक्ष ओलीले काजी कालु पाँडेजस्ता पूर्वजहरुले नेपालको एकीकरणमा महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै उनीहरुको बुद्धि विश्लेषण, बहादुरी र वीरताको सदा सम्मान गर्ने बताए । उनले नेपालको एकीकरणमा पृथ्वीनारायण शाहको योगदान उल्लेखनीय रहेपनि कीर्तिपुरमाथिको आक्रमणको क्रममा गल्ती गरेको दावी गरे । अध्यक्ष ओलीले इतिहासको तथ्यलाई स्मरण गर्दै राष्ट्र निर्माणको अभियानमा आफूहरु प्रतिवद्ध भएर लागिपर्ने पनि बताए ।

प्रतिक्रिया