के तपाईंको लाइसेन्स नक्कली त छैन ? सावधान ! ट्राफिक प्रहरीको फन्दामा परिएला है !

कमाठमाडौं । के तपाई नक्कली लाईसेन्स बोकेर सवारी साधन चलाई रहनुभएको त छैन ? होसियार, अबदेखि ट्राफिक प्रहरीले मोबाईल एप्समार्फत तत्कालै अन द स्पट चेकजाँच गर्ने व्यवस्था सुरू गरेको छ ।
आज एक कार्यक्रमका बीच यातायात व्यवस्था विभागले नक्कली सवारी चालक अनुमतिपत्रको प्रयोगमा नियन्त्रण गर्न मोबाईल एप्सको विकास गरी महानगरीय ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण गरेको हो । यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीलाई लाईसेन्स भेरिफिकेसन मोबाइल एप्स हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा बोल्दै महानिर्देशक घिमिरेले एक बर्षे परिक्षणकालिन अबस्थामा रहेका लाईसेन्समा रहेको विशेष क्यूआर कोडलाई ट्राफिक प्रहरीले मोबाईल एप्समार्फत स्क्यान गरि सजिलै नक्कली÷सक्कली छुट्याउन सक्ने बताए । उनले एक बर्षे परिक्षणकालको अवधिमा पाँच पटक भन्दा बढि ट्राफिक नियम उल्लंघन गरेको रेकर्ड देखिएमा उक्त लाइसेन्स खारेजसमेत गर्न सक्ने प्रावधान रहेको समेत जानकारी दिए ।

महाशाखा प्रमुख एसएसपी जोशीले यसअघि लाईसेन्स प्रमाणिकरणको लागि कुनै पनि प्रविधि नभएका कारण शंकास्पद लाईसेन्स चेकजाँचको लागि यातायात कार्यालयहरूमा सम्पर्क गर्नुपर्ने बाध्यात्मक अवस्था रहेकोमा अब आवश्यकताअनुसार ट्राफिक प्रहरीले तत्काल अन द स्पट मोबाईल एप्समार्फत लाईसेन्स प्रमाणिकरण गर्न सक्ने बताए ।
उनले नक्कली लाइसेन्सधारीले सवारी चलाउँदा दुर्घटनाको जोखिमसमेत बढ्ने भएकाले विकसित प्रविधिको प्रयोग गरि लाईसेन्स चेकजाँच प्रणाली सहज, सरल र प्रभावकारी हुने कुरामा जोड दिए । कोही कसैले नक्कली लाईसेन्स साथमा राखी सवारी चलाएमा त्यस्ता व्यक्तिहरू कानुनी दायराबाट उम्कन नसक्ने र नक्कली लाइसेन्स प्रयोगमा समेत नियन्त्रण हुने विश्वास ब्यक्त गरे ।

कसरी काम गर्छ त, एप्सले ?
विशेष प्रकारको मोबाइल एप्समार्फत यातायात व्यवस्था विभागले वितरण गरेको परिक्षणकालीन लाईसेन्स भेरिफाई गरिन्छ । उक्त लाईसेन्समा रहेको क्यूआरलाई यस एप्समार्फत स्क्यान गरी लाईसेन्स भेरिफाई गरिन्छ ।
उपत्यकामा कार्यरत ट्राफिक प्रहरीहरूको मोबाईलमा इन्स्टल गरि चेकजाँचको क्रममा अन द स्पटलाईसेन्स भेरिफाई गर्न सक्नेछन् । क्यूआर स्क्यान गरि लाईसेन्सको पूर्ण विवरण प्राप्त गर्न सकिने प्रावधान यस एप्समा रहेको छ ।

प्रतिक्रिया