बुधबार, जेठ २, २०८१

कोरोनाले हरेक साता ७० हजारको मृत्यु

नेपालखोज २०७८ फागुन १० गते २०:३९

म्युनिख । कोरोना भाइरसको विनाश अहिले निकै कम भए पनि यसप्रति लापरवाही गर्ने अवस्था छैन । किनभने कोरोनाको खतरा अझै टरिसकेको छैन । जर्मनीको म्युनिख सहरमा भर्खरै ‘सुरक्षा सम्मेलन-२०२२’ को आयोजना भएको थियो । जसलाई सम्बोधन गर्दै विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अदनोम घेब्रेयसले अहिले संसारको ध्यान यो महामारी समाप्त गर्ने कुरामा केन्द्रित हुनुपर्नेमा जोड दिए ।

उनले भने, ‘हामीले यसमै फोकस हुनुपर्छ ।’ किनभने अहिले पनि संसारमा प्रत्येक साता ७० हजार मानिस कोरोना भाइरसको संक्रमणले मरिरहेका छन् । त्यसैले अहिले कुनै किसिमको जोखिम लिनु निकै घातक सिद्ध हुनसक्छ । विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अदनोम घेब्रेयसका अनुसार- कोरोना भाइरस त्यतिबेला मात्र समाप्त हुनेछ, जब हामी सबै जना मिलेर यसलाई समाप्त गर्ने प्रयास गर्नेछौं । अहिलेको समय कोरोना भाइरसको नयाँ भेरियन्ट उत्पन्न हुने निकै उपयुक्त समय हो र यहि समयमा हामी सावधानी अपनाउन लापरवाहि गरिरहेका छौं । यस्तोमा नयाँ भेरियन्ट फैलने खतरा निकै बढि हुन्छ ।

उनले कोरोना महामारीसम्बन्धी एक आकलन रिपोर्ट प्रस्तुत गर्दै भने महामारी एक समय विस्फोटक स्थितिमा पुग्छ अनि यो घट्छ र एकपटक फेरि विस्फोटक स्थितिमा पुग्छ ।

डब्ल्यूएचओ प्रमुखको चेतावनी
डब्ल्युएचओ प्रमुख घेब्रेयसले सचेत गराउँदै भने, ‘वास्तवमा अहिलेको वातावरण महामारी अधिक संक्रामक तथा अधिक खतरनाक रूपमा फर्कने आदर्श स्थिति छ । यद्यपि यही वर्ष यो स्वास्थ्य आपतकालका रूपमा हामीमाथि आइलागेको कोभिडको महामारी समाप्त पनि गर्न सकिन्छ ।’ डब्ल्यूएचओ प्रमुखका अनुसार केही देशमा भ्याक्सिनेसनको दर उच्च छ अनि ओमिक्रोन भेरियन्ट कम घातक भएकाले ती देशमा कोरोना महामारी समाप्त भएको कुरा गर्न थालिएको छ, यो निकै गम्भीर कुरा हो किनभने अहिले कोरोनाको महामारी समाप्त भएको स्थिति होइन बरु यो महामारी फेरि फर्कन सक्ने उपयुक्त समय हो ।

प्रत्येक साता ७० हजारको मृत्यु
डब्ल्युएचओ प्रमुख भन्छन्, ‘यो लापरबाही गर्ने समय होइन किनभने अहिले पनि प्रतेक साता कोरोना महामारीले ७० हजार मानिसको ज्यान लिइरहेको छ भने अफ्रिकी देशहरुमा अहिले पनि ८३ प्रतिशतभन्दा बढि मानिस कोरोनाको खोपबाट वञ्चित छन्, यहाँसम्म कि उनीहरुले खोपको एक मात्रा पनि पाएका छैनन् । ती देशको हेल्थ सिस्टम पनि कमजोर छ । त्यसैले पनि हामीले कुनै पनि हालतमा लापरबाही गर्नु हुँदैन । किनभने यतिबेला कोरोनाको कुनै नयाँ भेरियन्ट देखापर्यो भने संसारलाई त्यसलाई झेल्न निकै गाह्रो हुनेछ ।

निराशा र डर मात्र छैन
डब्ल्यूएचओ प्रमुखले भने- तर सबै कुरा गम्भीर र खतरनाक मात्र छैन । हामीसँग उपकरणहरु छन् र हामीलाई यो भाइरससँग कसरी लड्नुपर्छ भन्ने कुरा थाहा भइसकेको छ । हामीले अब यो महामारीलाई समाप्त गर्ने दिशामा काम गर्नुछ । डब्ल्यूएचओ प्रमुख डा. घेब्रेयस भन्छन्, ‘हामी तत्काल १६ अर्ब डलरको आर्थिक सहायताका लागि विभिन्न देशको बैठक बोलाउँदै छौं । सबै मुलुक सहयोगी हुने हो भने खोप उत्पादनदेखि लिएर बिरामीको परीक्षण, महामारी नियन्त्रण एवं उपचार तथा व्यक्तिगत सुरक्षाका उपकरण हरेक ठाउँमा पुर्याउने काममा जोड दिएर यो भाइरसलाइ परास्त गरिनेछ ।

प्रतिक्रिया