जायज मागहरू पूरा नभएसम्म कुनै पनि संसदीय प्रक्रियामा प्रवेश नगर्ने ओलीको प्रतिक्रिया

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।
आज साँझ करिब डेढ घण्टा भएको भेटमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेश्न (एमसीसी) लगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
छलफलमा प्रधानमन्त्री देउवाले सत्तारुढ गठबन्धनभित्रबाटै आफ्नो सरकारलाई असहयोग भएकाले प्रतिनिधिसभामा प्रस्तुत एमसीसी अनुमोदनमा सहयोगका लागि ओलीसमक्ष आग्रह गरेका थिए ।
भेटमा अध्यक्ष ओलीले आफ्नो पार्टीले विगत ६ महिनादेखि जायज मागहरू राखेर सदनमा आवाज उठाइरहेको स्मरण गराउँदै ती मागहरू पूरा नभएसम्म अन्य कुनै पनि संसदीय प्रक्रियामा प्रवेश गर्न नसक्ने स्पष्ट पारेका छन्।
सरकारले प्रतिनिधिसभाको आइतबारको बैठकमा एमसीसीसम्बन्धी प्रस्ताव अनुमोदनका लागि टेबुल गरेको थियो । एमसीसी सम्झौतालाई यही फागुन १६ गतेभित्र संसदबाट अनुमोदन गर्न सरकारले सो अवधिभित्र सबै राजनीतिक दलको सहमतिमा एमसीसीसम्बन्धी प्रस्ताव अनुमोदन गर्न सबै दलहरुबीच छलफल अघि बढाएको छ ।
भेटवार्तामा कांग्रेसका तर्फबाट पार्टी सभापति एवं प्रधानमन्त्री देउवा र उपसभापति पूर्णबहादुर खड्का थिए भने एमालेका तर्फबाट अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी थिए ।
प्रतिनिधिसभामा यही फागुन ८ गते एमसीसी प्रस्तुत भएपछि सत्तारूढ तथा प्रतिपक्षमा रहेका दलहरुबीच त्यसलाई पारित गराउन घनीभूत छलफल भइरहेको छ ।

प्रतिक्रिया