शुक्रबार, वैशाख २१, २०८१

उपचार गर्न हिँडेका बिरामीलाई पनि अध्यागमनमा सास्ती !

केशव भट्टराई २०७८ फागुन ११ गते १३:१७

काठमाडौं । भारतका विभिन्न अस्पतालमा उपचार गराइरहेका र फलोअपका लागि नियमित उडिरहनुपर्ने यात्रुले अध्यागमन विभागबाट हैरानी खेप्नुपरेको गुनासो गरेका छन् । मोरङ उर्लाबारीका जितबहादुर भण्डारीले दुःख खेपेको खबर सञ्चारमाध्यमबाट बाहिरिएको छ । उनले उपचार गर्न जाने बेलामा हतार हुने भएकाले बिरामीको प्रकृति हेरेर पर्याप्त कागजपत्र नभए मानवताका आधारमा जान दिनुपर्ने जनाएका छन् ।

नेपालीहरू विभिन्न उद्देश्य राखेर विदेश जाने गर्छन् । को यात्री के उद्देश्यले विदेश जाँदै छ भन्ने अध्यागमन विभागले सोचविचार गर्नुपर्ने सर्वसाधारणको भनाइ छ । पहुँच हुनेहरू सजिलै उड्ने र सामान्य नागरिकले भने अनावश्यक हैरानी खेप्नुपर्ने घटना अध्यागमनमा दोहोरिरहन्छन् । कर्मचारीको लापारबाही र कार्यदक्षताको कमीले यात्रुले दुःख पाउने गरेका छन् ।

‘सरकारी काम कहिले जाला घाम’ को सोचले पनि विभागमा प्रभावकारी काम नहुने गरेको जानकारहरू बताउँछन् । यात्रुहरूको बढ्दो चापले बेलाबेला केही यात्रुलाई समस्या हुने गरेको भन्दै अध्यागमनको केही कर्मचारीहरूले आफ्नो बचाउ पनि गर्ने गरेका छन् । विभागले कमजोरीको पुनरावलोकन गर्न कमिटी नै गठन गरेको र तुरुन्तै समाधानको पहल गर्ने गरेको भने पनि त्यो प्रभावकारी नभएको पाइएको छ ।

अध्यागमन विभागलाई चित्त बुझ्ने केही कागजात हुँदाहुँदै पनि यात्रुले दुःख पाएका धेरै उदाहरण छन् । विमानस्थलमा प्रत्येक दिन एक अध्यागमन अधिकारीले औसतमा तीन सय यात्रुका निम्ति सेवा दिनुपर्ने बाध्यता पनि छ । बेलाबेला विदेश जाने यात्रुको चाप एक्कासि बढ्ने गरेको छ । यात्रुको चाप बढेका बेला अध्यागमनमा त्रुटि हुने जोखिम उत्तिकै हुने अध्यागमन विभागको दाबी छ । आफूहरूले जानेर नियतवश भने यात्रुलाई दुःख नदिने गरेको कर्मचारीहरू दाबी गर्छन् ।

कतिपय यात्रीले टिकट काटेर विमानस्थल पुगेपनि फर्किनुपर्ने बाध्यता छ । तर कागजपत्र नपुगे पनि विमानस्थल अध्यागमनकै कर्मचारीसँगको सेटिङमा यात्रु उडेका घटना पनि बारम्बर सार्वजनिक हुने पनि गरेका छन् । केही सञ्चारमाध्यममा सार्वजनिक समाचारअनुसार केही समयअघि यात्रु सिर्जन गौतम, नीरञ्जन पराजुली र प्रकाश भुसाल क्यानडाका लागि उडे । उनीहरू भिसा देखाएर सजिलै प्रस्थान अनुमतिको छाप लगाएर उडेका थिए । चीनको गोन्जाओस्थित विमानस्थलमा कार्यरत चिनियाँ अध्यागमन अधिकारीले उनीहरूको भिसा नक्कली भएको बताए । भोलिपल्ट गन्तव्य देश नै नपुगी बीचबाटै फर्कन बाध्य भए ।

उनीहरूलाई अगाडिको उडान भर्न नमिल्ने भन्दै काठमाडौं नै फकाईएका थियो  । उनीहरू फर्किएपछि मात्रै विमानस्थल अध्यागमन अधिकारीले नक्कली भिसाको भरमा उडान अनुमति दिएको तथ्य खुलेको थियो ।

अध्यागमनमा हुने अर्को कमजोरी भनेको यात्रुको विवरण राख्दा हो । यात्रुहरूको विवरण राख्दा इमी सफ्टवेयर प्रयोग गर्ने गरिन्छ । तर बारम्बार बिग्रँदा सेवा नै प्रभावित हुने गरेको छ । सफ्टवेयर ह्याङ हुने र इन्ट्री गरेको डाटा रेकर्डबाट हराउनेलगायतका समस्याहरू हुँदा विदेश जाने यात्रु समस्यामा पर्ने गरेका छन् । अध्यागमनमा नेपाल आएका विदेशीको तथ्यांक पनि नरहेको देखिने गरेको छ ।

वास्तवमा अध्यागमन विभाग विदेश जानेहरूका लागि सेवा दिने जिम्मेवार निकाय हो । तर उचित संयन्त्र तथा नीति बन्न सकेको छैन । यात्रुले दुःख पाउने गरेका अनगिन्ति उदाहरण छन् । केही समयका लागि विदेश जान भनेर टिकेर काटेर एयरपोर्ट पुगेकाहरू फर्किनुपरेका उदाहरणहरू छन् ।

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आमयात्रुले प्रस्थान अनुमति लिएर विदेश पुगे पनि धेरैजसो ट्राभल डकुमेन्ट नक्कली भएको भन्दै फर्किने गरेका छन् । काठमाडौंबाट उडेका यात्रीको कागजपत्र नक्कली भएको विदेशस्तिथत निकायले बताउने गरेका छन् । तर कतिपय अवस्थामा यात्रुले कुन कागजपत्र नक्कली र कुन सक्कली हो भनेर थाह नपाउने गरेका छन् ।

कतिपय यात्रीलाई अध्यागमनले मिति गुज्रिएको राहदानीको ख्यालै नगरेर उडाइँ दिँदा विदेश पुगेर सास्ती खेप्न पनि वाध्य भएका छन् । नक्कली कागजात पहिचान गर्ने बलियो प्रविधि नहुँदा धेरै यात्रुले दुःख पाउने गरेका छन् । अध्यागमन विभागका कर्मचारीहरूले बेवास्ता गर्दा पनि धेरै यात्रु सकसमा पर्ने गरेका छन् । सक्कली कागजात हुँदाहुँदै पनि उडान अनुमति नपाएर हैरानी खेपेका यात्रु पनि धेरै छन् ।

अध्यागमन विभागले विदेश जान हिँडेकालाई फर्काइ दिएको विभिन्न उदाहरण छन् । यस्तै शुक्रबार मात्रै सांगीतिक कार्यक्रममा सहभागी हुन दुबई हिँडेका कलाकारको ३५ जनाको टोलीलाई त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले फर्काइदिएको छ ।

अध्यागमन विभागको नियम पूर्वजानकारी नहुँदा धेरैले दुःख पाइरहेका उदाहरणहरू छन् । भिसा र टिकट हातमा लिएर विदेश उड्ने बेलामा रोकिनुपरेको केही यात्रुको गुनासो छ । अध्यागमन विभागले संशोधन भएका नियम सम्बन्धमा पूर्वजानकारी नदिँदा तथा सार्वजनिक रूपमा प्रचार–प्रसार नगर्दा दुःख पाइएको यात्रु गुनासो गर्छन् । उता अध्यागमन विभागका जिम्मेवार पदाधिकारी भने विदेश उड्नेहरूले हातमा पासपोर्ट र टिकट लिएर मात्रै नपुग्ने बताउँछन् । विदेश जाने सोच बनाएका यात्रुहरूले अध्यागमनमा पुगेर पूर्वजानकारी नलिँदा दुःख पाएको कर्मचारीहरू बताउँछन् ।

अध्यागमन विभागका प्रवक्ता शेखर पौडेल यात्रुको भिसा एउटा र उद्देश्य अर्कै हुने गरेको प्रतिक्रिया दिन्छन् । यात्रुले आवाश्यक कागजपत्र र प्रक्रिया नपुर्याउँदा दुःख पाएको पौडेलको भनाइ छ । प्रवक्ता पौडेल भन्छन्, ‘अध्यागमनमा सय किसिमका समस्या आउँदा यात्रुलाई समस्या हुन्छ, कर्मचारीको दुःख दिने नियत पटक्कै हुँदैन, विदेश उड्ने बेलामा पूर्वजानकारी पनि लिनुपर्यो नि ।’

पछिल्लो समय गृह मन्त्रालयले बनाएका आठवटा नियम यात्रुले पालना गर्नुपर्ने प्रवक्ता पौडेलले नेपालखोजसँगको कुराकानीमा बताए । उनले अध्यागमनका नियमहरू र विशेषगरी गृह मन्त्रालयले माघ ९ गते जारी गरेका नियमको प्रक्रिया नपुग्दा यात्रु फर्किन बाध्य भएको बताएका छन् । उनले अध्यागमन विभागका नियम र गृह मन्त्रालयको पछिल्लो विज्ञप्तिका सम्बन्धमा जानकारी राख्न पनि विदेश उड्न चाहनेहरूलाई आग्रहसमेत गरेका छन् ।

विदेश उड्नै लागेका बेला विमानस्थल पुगेपछि त्यहाँका कर्मचारीले अनावश्यक झन्झट दिनु भनेको नागरिकमाथिको अपमान हो । मन्त्री आलेले पछिल्लो समयमा विमानस्थल र अध्यागमन विभागमा सुधारको प्रयास त गरेका छन् । तर पनि यात्रुलाई सकस हुने क्रम रोकिएको छैन । यसतर्फ पुनर्विचार गरेर शीघ्र यात्रुलाई दुःख नहुने नीति ल्याइनुपर्छ ।

प्रतिक्रिया