स्काउट कार्यालय तोडफोडको विरोधमा शान्तिपूर्ण प्रदर्शन

काठमाडौं । नेपाल स्काउटका स्वयंसेवी सदस्यहरुले आज खड्का ल्याण्ड डेभलेपमेन्ट प्रालिका सञ्चालक दिपक खड्काको कार्यालय अगाडी शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन् । हिजो नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयमा संखुवासभाका कांग्रेस नेतासमेत रहेका खड्काकै नेतृत्वमा तोडफोड र कार्यालयको ल्यापटप चोरीसमेत भएको थियो ।

उक्त घटनाका दोषी उपर कारवाही गर्न मागसहितको निवेदन र किटानी जाहेरी सोह्रखुट्टे प्रहरीले दर्ता गर्न नमाने पछि स्काउटका सदस्यहरु त्यसको विरोधमा उत्रिएका हुन् ।

नेपाल स्काउटसँग करार सम्झौता गरी व्यवसायिक भवनहरु भाडामा लिएको खड्का ल्याण्ड डेभलेपमेन्ट प्रालिले वर्षौंदेखिको करिब ३ करोड १७ लाख बक्यौता भाडासमेत बुझाउन बाँकी रहेको, सम्झौता विपरीत भवन तथा संरचनाहरु बनाएको र नेपाल स्काउटले बाँकी रहेको भाडाको लागि ताकेता गर्दा राजनैतिक शक्तिको आडमा कांग्रेस नेता खड्काले गुण्डा प्रयोग गरी कार्यालयमा तोडफोड गर्ने, कर्मचारीहरुलाई तर्साउने, प्रिन्टर नेमप्लेट लगायतका कार्यालय सामग्री फुटाउने र कर्मचारीको कार्यकक्षमा रहेको ल्यापटप चोरी गरी लगेका थिए ।

हिजै नेपाल स्काउटले पत्रकार सम्मेलन गरी दिपक खड्का र संलग्न व्यक्तिहरुमाथि प्रमाणसहित कारबाहीको माग गरिसकेको छ । घटनामा संलग्न अधिकांशको पहिचानसमेत खुलिसकेको अवस्थामा नेपाल स्काउटले लिखित उजुरी दर्ता गराउन खोज्दा दिपक खड्काकै कारण प्रहरीले उजुरी दर्ता गर्न मानेको छैन् ।

लैनचौरस्थित कार्यालय परिसमै भाडामा लिएको भवनमा रहेको दिपक खड्काको कार्यालय अगाडि १०० भन्दा बढी संख्यामा उपस्थित स्काउट सदस्य तथा स्काउट प्रधान कार्यालयका कर्मचारीहरुले “बालबालिकाको पवित्र संस्था माथिको गुण्डागर्दी बन्द गर” “स्काउटको सम्पति अतिक्रमण बन्द गर”, “स्काउटमाथि गुण्डागर्दी बन्द गर”, “बाँकी भााडा तुरुन्तै तिर” “दोषीमाथि कारबाही गर” जस्ता नारा लगाउँदै एकघण्टा कार्यालयको प्रवेश द्धार घेराउ गरेका थिए ।


प्रतिक्रिया