शनिबार, जेठ ५, २०८१

मिडियाको बुझाइमा केही समस्या, अलिकति आफ्नै समस्या

प्रनिशा अधिकारी २०७८ फागुन १२ गते १०:३१

घटना – १
२०७७ माघ ८ गते गोंगबु बसपार्कमा तेस्रोलिङ्गी महिलाद्वय सञ्जु लामा र क्रिस्टिना कालीमाथि निर्घात कुटपिट भयो । प्रहरीले नै कुटपिट गरेका कारण घटना तत्काल सार्वजनिक भएन । घटनाको दोस्रोदिन राति बल्ल केही अनलाइन न्युज पोर्टलमा समाचार आयो । संघीय राजधानीमा सम्झाँझै प्रहरीले गरेको दुर्व्यवाहार अधिकांश सञ्चारमाध्यमका लागि समाचार बनेन् ।

घटना – २
२०७६ माघ ५ गते हेटौंडा ५ क्याम्पाडाँडामा एक महिलाको शव फेला पर्छ । बलात्कारपछि हत्या गरिएकी २९ वर्षीया ती महिला थिइन् हेटौंडा ११, नवलपुरकी २९ वर्षकी तेस्रोलिङ्गी अजिता भुजेल । सामूहिक बलात्कारपछि पैसामा कुरा नमिल्दा उनलाई शरीर र टाउकोमा हतियार प्रहारगरी हत्या गरिएको थियो । प्रहरीले हत्यारा पनि सार्वजनिक गर्‍यो । तर, त्यो घटना अधिकांश नेपाली नागरिकले थाहा पाएनन् । कारण-मूलधारका सञ्चारमाध्यमले स्थान दिएनन् ।

यी दुई त प्रतिनिधिमूलक घटना मात्र हुन् । तेस्रोलिङ्गी अधिकारकर्मी पिङ्की (सञ्जीव) गुरुङका अनुसार, दिनदिनै यस्ता घटना काठमाडौंसहित देशका मुख्य सहरहरूमा भइरहेका छन् तर आफूलाई मूलधारका दाबी गर्ने सञ्चारमाध्यमहरू यसबारे प्रायः बेखबर हुने गर्छन् ।

घटना नं. १ बारे उनी भन्छिन्, प्रहरी नै घटना घट्नुको मुख्य दोषी थियो । ‘कामबाट फर्किरहेका तेस्रोलिङ्गी सञ्जु र क्रिस्टिनालाई अपशब्द प्रयोग गर्दै प्रहरीले जिस्क्यायो । बर्दीधारी प्रहरीले नै दुर्व्यवहार गरेपछि उनीहरू पनि आक्रोशित भए । र, त्यो घटना घट्न पुग्यो,’ उनी भन्छिन्, ‘अरुले दुर्व्यवहार गर्दा समेत आवश्यक सम्झाइबुझाई गरेर घटना साम्य बनाउनुपर्ने वा कारबाही गर्नुपर्नेमा उल्टै ड्युटीमा रहेको प्रहरीले नै तेस्रोलिंगीलाई अपशब्द प्रयोग गर्दै दुर्व्यवहार गर्छ । प्रहरीले नै यस्तो गरेपछि तेस्रोलिङ्गीको समस्या बुझ्ने कसले ?’
पिङ्की गुरुङ अध्यक्ष रहेको नीलहीरा समाजले दोषीलाई कारबाहीको माग गर्दै विज्ञप्ति जारी गर्‍यो । प्रतिवादमा महानगरीय प्रहरी परिसर टेकुले विज्ञप्ति जारी गर्‍यो । उनी भन्छिन्, ‘कारबाही गर्ने निकाय नै दोषी भएपछि हामीले न्याय पाउने कुरै भएन । उल्टै हामीलाई दोषी देखाउँदै प्रहरीले वक्तव्यवाजी गरेपछि घटना त्यत्तिकै सेलायो ।’ उनी यसलाई ‘रक्षक नै भक्षक’भएको घटनाको रूपमा टिप्पणी गर्छिन् ।

‘निर्मला पन्त सम्झिन्छु’
घटना नं. २ अर्थात् दुई वर्षअगाडि हेटौंडामा अजिताको बलत्कारपछि हत्या भएको घटनाबारे तेस्रोलिङ्गी महिला समेत रहेकी पिङ्की भन्छिन्, ‘जब म अजिता सम्झन्छु, मलाई कञ्चनपुरकी निर्मला पन्तको याद आउँछ ।’ बलात्कारपछि हत्या भनिएको उक्त घटनाले देशभरका सञ्चारमाध्यममा वर्षौंसम्म ठाउँ पायो, पाइरहेकै छ । घटनाको विरोध र दोषीलाई कारबाहीको मागगर्दै देशभर महिनौंसम्म प्रदर्शन भए । प्रदर्शनमा उत्रिएका प्रशर्नकारीको समेत मृत्यु भयो । काठमाडौंबाट दर्जनौं सञ्चारकर्मी घटनास्थल पुगेर रिपोर्टिङ गरे । दोषी पत्ता लगाउन नसकेको भन्दै उच्च प्रहरी अधिकारीहरूको सरुवा भयो । तत्कालीन प्रहरी प्रमुख र गृहमन्त्रीको नै राजीनामा माग भयो ।

‘तर, अजिताको घटनाबारे न कसैले चासो देखाए, न कुनै संवेदनशीलता नै देखियो,’ नीलहीरा समाजकी अध्यक्ष समेत रहेकी पिङ्की गुरुङ भन्छिन्, ‘मलाई यो घटनाले सधैँ झस्काइरहन्छ । यदि अजिता तेस्रोलिङ्गी नभएर महिला भएको भए के यो घटना यसैगरी सामसुम हुने थियो त ?’

उनलाई लाग्दैन अजिता तेस्रोलिङ्गी हुन्न थिइन् भने घटना यसरी सेलाउँथ्यो । घटनाले अर्कै रुप लिने र यस्ता घटना हुन नदिन सरोकारबाला निकायको ध्यान खिचिने तथा यसबारे सञ्चारमाध्यम तथा अधिकारकर्मीहरूले लामो समय बहस तथा पैरबी गर्ने उनी बताउँ छिन् । सञ्चारमाध्यम र मानवअधिकारकर्मी यो घटनामा मौन हुनुको कारण तेस्रोलिङ्गी समुदायप्रतिको विभेद भएको उनको ठहर छ । अन्यथा निर्मला पन्त र अजिता भुजेलबीच लिङ्गीय पहिचानबाहेक केही फरक नरहेको पिङ्की बताउँछिन् । ‘एकै प्रकृतिका घटना हुँदा किन कसैप्रति चासो देखाइन्छ भने कुनै घटनाप्रति देखेको नदेखै गरिन्छ,’ उनी भन्छिन्, ‘हाइप्रोफाइल घटना भएको भए फरक कुरा । माथि उल्लेख गरिएका दुवै घटना भुईंमान्छेका घटना हुन् ।’

यसले सञ्चारमाध्यममा तेस्रोलिङ्गी समुदायको उपस्थिति र पहुँच कस्तो छ भन्ने इङ्गीत गर्छ । ठूला-ठूला घटना हुनु तर राज्य संयन्त्र तथा सञ्चारमाध्यमले चासो नदेखाउनुले तेस्रोलिङ्गी समुदायको मिडियामा पहुँचनगन्य रहेको स्पष्ट हुन्छ ।

पहिलाभन्दा अहिले कम पहुँच र स्पेस
तेस्रोलिङ्गी अधिकारकर्मी भूमिका श्रेष्ठ तुलानात्मक रूपमा पहिलाको भन्दा अहिले आफूहरूका समाचार कम आउने गरेको बताउँछिन् । सुुरुका दिनमा सञ्चारमाध्यम आफूहरूलाई खोज्दै आउने तर अहिले आफूहरूले नै खोज्नुपर्ने अवस्था रहेको उनको अनुभव छ । ‘केही वर्षअगाडि हाम्रो समाचार तथा घटनाहरू सञ्चारमाध्यममा निकै आउँथे । तर, केही वर्षयता तेस्रोलिङ्गी र समलिङ्गीका समाचार निकै कम आउँछन्,’ उनको अनुभव छ ।

भूमिका र तेस्रोलिङ्गी अधिकारकर्मी तथा नीलहीरा समाजका निर्देशक मनीषा ढकालले राष्ट्रपतिबाट पदक पाए । अरूले पनि यही पदक पाएका थिए । उनीहरूको समाचार धेरै मिडियाबाट आयो तर भूमिका र मनीषाले पाएको कतै पनि आएन । सञ्चारमाध्यमहरूलाई भूमिकाको प्रश्न छ, ‘यो समाचार आउनैपर्छ भन्ने होइन तर मेरो प्रश्न यति मात्रै हो- अरुको समाचार आउँदा हामी किन छुट्यौं ?’

प्रश्न मात्रै होइन, यसको कारण पनि उनीसँग छ । कारण हो- उनीहरूका मुद्दा वर्षौंदेखि एकै प्रकृतिका हुनु । भूमिकालाई लाग्छ, अधिकार, रोजगारी, समान पहुँच, विभेदको अन्त्य जस्ता उही मुद्दा धेरै वर्षदेखि उठाइरहनु परेका कारण सञ्चारमाध्यमले धेरै चासो नदिएका हुन् । समलिङ्गी तेस्रोलिङ्गीका माग के हुन् त ? ‘पहिचानको आधारमा नागरिकता र राहदानी, परिवार र राज्यमा निकायमा समान पहुँच आदि ।’ दुई दशक अगाडिदेखि उठाउँदै आएका पुराना माग भएकाले पत्रकारले खासै वास्ता नगरेको उनको बुझाइ छ ।

‘हाम्रो आवाज बुलन्द रूपमा उठाउने व्यक्तिको अभाव भएका कारण पनि आफूहरूको आवाज छायामा परेको र मिडियाले प्राथमिकता नदिएको हो भन्ने पनि लाग्छ,’ नेपाली कांग्रेसकी पूर्व महाधिवेशन प्रतिनिधिसमेत रहेकी भूमिका भन्छिन्, ‘पहिला संविधान सभामा सुनीलबाबु पन्त सभासद हुँदा उहाँलाई धेरैले चिन्थे । त्यसैले हाम्रा कुरा पनि धेरै आउँथे ।’ सन् २००१ मा नीलहीरा समाज स्थापना गरेका सुनीलबाबु पन्त संविधानसभा सदस्य भए । पहिलो संविधानसभा निर्वाचनमा उनी तत्कालीन नेकपा संयुक्तको तर्फबाट संविधानसभा सदस्य भएका थिए । उनी दक्षिण एसियाकै पहिलो समलिङ्गी सभासद थिए ।

नीलहीरा समाजकी अध्यक्ष पिङ्की गुरुङ पनि तेस्रोलिङ्गी भन्ने बित्तिकै अरुले आफूहरूसँग यही समुदायका कुरामात्रै गर्ने र समस्या र विषय के-के छन् भनेर सोध्ने गरेको बताउँछिन् । ‘नागरिकको अधिकार र समतामूलक समाजनिर्माणको अभियानबोकेर हिँडेको व्यक्तिले महिला, दलित, आदीवासी, जनजातिलगायत हरेक समुदायको अधिकारका विषयमाआवाज उठाउनसक्छ’,उनी भन्छिन्- तर यी विषय तेस्रोलिङ्गीले उठाउँदैनन् भनेझैं व्यवाहार हुने गरेको छ । ‘समाज, दर्शन, राजनीतिक तथा आर्थिक विषयमा पनि हामीसँग सोध्ने वा बोल्ने गरिएको भए सायद हाम्रो उपस्थिति र पहुँच पनि मिडियामा हुने थियो,’ डा. बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीकी केन्द्रीय सदस्यसमेत रहेकी पिङ्की भन्छिन्, ‘तेस्रोलिङ्गी भन्ने बित्तिकै तेस्रोलिङ्गीको अधिकार र उनीहरूका समस्याबारे मात्रै केन्द्रित हुँदा हाम्रो उपस्थिति नै मिडियामा कम हुन्छ ।’

केहीवर्ष पहिला नर्वेजियन दूतावासको आर्थिक सहयोगमा नीलहीरा समाजले दैनिक रेडियो कार्यक्रम ‘पहिचान’ आफैं सञ्चालन गर्‍थ्यो । देशभरिका करिब डेढ दर्जन एफएम रेडियोबाट उक्त कार्यक्रम प्रसारण हुन्थ्यो । व्यावसायिक पत्रकार समेतको सहभागितामा तयार हुने उक्त कार्यक्रमले नेपालमा तेस्रोलिङ्गी, समलिङ्गी, अन्तरलिङ्गी तथा द्विलिङ्गी (एलजीबीटीआई) समुदायका समस्याहरूलगायत उनीहरूको राजनीतिक, आर्थिक तथा सामाजिक अधिकार, मुद्दा, अवस्था र आवश्यकताबारे जानकारी दिन्थ्यो । उक्त कार्यक्रमले उठाएका विषयका आधारमा सञ्चारमाध्यमले यो समुदायका मुद्दा तथा समस्या खोजी गरेर प्रकाशन तथा प्रसारण गर्थे । तर, करिब चार वर्षयता उक्त कार्यक्रम चलेको छैन । नेता, मन्त्री, सांसद तथा नीतिनिर्माण तहमा रहेका व्यक्तिहरूसँग हुने गरेको भेटघाट पनि कम भएको छ । यसरी सार्वजनिक जानकारी र पहुँच नै कम हुँदा पनि धेरैले चासो नदिने गरेको भूमिकाको बुझाइ छ ।

तेस्रोलिङ्गीको पनि कमजोरी
एलजीबीटीआई समुदाय ओझेलमा पर्नुमा अरुको मात्र नभएर स्वयम् उनीहरूकै पनि कमजोरी छ । त्यसैले उनीहरूका मुद्दा पनि छायामा परेका छन् । उनीहरू आफैं पनि मिडिया-मैत्री छैनन् । अधिकांशतः आफ्नो पहिचान खुलाउँदैनन् । अनौपचारिक रुपमा आफू के हो र समस्या के हुन् भन्ने बताए पनि आमरुपमा खुल्न चाहँदैनन् । सका कारण सञ्चारमाध्यम सामु धेरै कुरा पत्रकारले चाहेर पनि पुग्दैन ।

अर्को तथ्य तेस्रोलिङ्गी र समलिङ्गी भन्नेबित्तिकै यौन पेसाकर्मी (सेक्स वर्कर) का रूपमा धेरैले चिन्छन् । साँझको समयमा काठमाडौंको रत्नपार्क, ठमेल, लाजिम्पाट, बसपार्क क्षेत्रमा बसेर यौन पेसाका लागि ग्राहक खोज्ने समुदायका रुपमा उनीहरूको छवि छ । यसलाई तेस्रोलिङ्गी अधिकारकर्मी पिङ्की स्वीकार गर्छिन् । यस्तो पेसामा रहेकाले पनि वैकल्पिक पेसा खोज्नुपर्नेमा उनी जोड दिन्छिन् । अन्यथा यही छवि कायम रहिरहने र समग्रमा यो समुदायलाई हेर्ने नकारात्मक दृष्टिकोण परिवर्तन हुन नसक्ने उनको धारणा छ ।

‘हाम्रा केही साथीहरू बाध्यतावश सेक्स वर्कर छन् । उनीहरूले सकेसम्म यो काम छोडेर जीविकोपार्जनको अर्कै पेसा अँगाल्नुपर्छ’, पिङ्की भन्छिन्- जबसम्म यो पेसामा तेस्रोलिङ्गी र समलिङ्गी रहनेछन्, तबसम्म आम मान्छे मात्रै होइन, मिडियाले हेर्ने दृष्टिकोण पनि परिर्वतन हुँदैन ।

केही तेस्रोलिङ्गी तथा समलिङ्गीहरू अराजक रहेको पनि उनी बताउँछिन् । जिब्रोेमा लगाम नहुँदा र आवेग नियन्त्रण गर्न नसक्दा उनीहरूको व्यवहारले पनि समाजमा नकारात्मकता सिर्जना गरेको र त्यसको असर आमसमाजमा र सञ्चारमाध्यमा पनि परेको उनको ठहर छ ।

पिङ्कीले थाहा पाएको यस्तै अराजकताको एउटा उदाहरणको चर्चा गरौं । यही पुसको अन्तिम साता एक तेस्रालिङ्गी यौनकर्मीले बालाजुबाट एकजनाको ३५ हजार रुपैयाँ लुटिन् । ग्राहकका रूपमा आएका व्यक्तिको रकम लुटपाट गरेर ती तेस्रोलिङ्गी महिला हिँडिछन् । ‘उजुरी आएपछि व्यक्ति पत्ता लगाएर मैले उक्त पैसा फिर्ता गर्न भनेँ । तर तिनले,- २५ हजार रुपैयाँमात्रै फिर्ता गरिन्,’ उनी भन्छिन्, ‘आफैंले यस्तो व्यवहार गरेपछि कसरी समाजले राम्रो नजरले हेर्छ ?’ यसरी कमजोरी तेस्रोलिंगीहरूको पनि रहेको र उनीहरू सुध्रिनुपर्ने आवश्यकताको बोध उनीहरूको समाजमा पनि भएको छ । ‘समाजमाजस्तो छाप पर्छ, समाजकै पात्र भएकाले पत्रकारमा पनि त्यस्तै धारणा विकास हुने हो’, उनी भन्छिन्- त्यसको असर सञ्चारमाध्यमले हेर्ने दृष्टिकोणमा पर्छ,- र उनीहरूले उपलब्ध गराउने टाइम एन्ड स्पेस पनि यस्तै कुराले निर्धारण गर्छ ।’

यद्यपि, नेपालमा अझै पनि आमपत्रकारका साथै सम्पादकहरूमा पनि एलजीबीटीआई समुदायबारे यथार्थ जानकारी कम छ । अझै पनि यो समुदायलाई ‘अप्राकृतिक’ ठान्ने पत्रकारहरूको ठूलो जमात रहेको तेस्रोलिंगी समुदायको अनुभव छ । जसले एलजीबीटीआईबारे बुझेको छ, उसले आफ्नो सञ्चारमाध्यममा स्थान दिने गरेको र नबुझेकाले नदिने गरेको उनीहरू ठान्छन् । ‘जसले एलजीबीटीआईबारे राम्रोसँग बुझेको छ, उसैले यो समुदायबारे निरन्तर कलम चलाइरहेको छ’, उनी भन्छिन्, ‘जसले बुझेको छैन उसले हम्मेसी लेख्दैन र लेखे पनि नबुझी लेखेको पाइन्छ ।’

आमसञ्चारका माध्यममा तेस्रालिंगीको बारेमा आउने समाचारको अर्को रोचक पाटो पनि छ । पिंकीको अनुभवमा ठूला मानिने सञ्चारमाध्यमभन्दा पनि सानाले यो समुदायको बारेमा धेरै स्थान दिने गरेको छन् । उनकै वाक्यमा विशेषतः उच्च टीआरपीको खोजीमा रहेका अनलाइनहरूले बाक्लै समाचार दिने भए पनि उनीहरूमा तेस्रोलिंगी समुदायका बारेमा बुझाइको भने ठूलो खडेरी छ ।

पछिल्लो समय तीव्र गतिमा विकास र लोकप्रिय हुँदै गएको अनलाइन न्युजपोर्टल र केही पत्रपत्रिकाले थोरै मात्रामा एलजीबीटीआईका व्यक्ति र विषयलाई स्थान दिए पनि टेलिभिजनहरूले भने खासै वास्ता गर्ने गरेका छैनन् । मूलधारका भनिने पत्रपत्रिकाले सानो एक कोलममा आफूहरूका मुद्दा सीमित गरिदिने र श्रव्य-दृश्य माध्यम टेलिभिजनले ठाउँ नै नदिने पिंकीको गुनासो छ ।

यद्यपि, नेपालमा नेपाली सञ्चारमाध्यमले नसमेटेका विषय विश्वका ठूला सञ्चारमाध्यमहरूले भने प्राथमिकताका साथ प्रकाशन तथा प्रसारण गर्ने गरेको छ । बीबीसी, एपी, एफपी, न्युयोर्क टाइम्सलगायत थुप्रै सञ्चारमाध्यमले यहाँका तेस्रोलिङ्गी तथा समलिङ्गीका गतिविधिलाई समेट्ने गरेको पिंकी सुनाउँछिन् । ‘विश्वका आइडल मानिने सञ्चारमाध्यमले हामीले यहाँ गरेका काम तथा हाम्रा मुद्दालाई समाचार बनाउँछन्,’ पिङ्की भन्छिन्, ‘तर, आफ्नै देशका सञ्चारमाध्यमले वास्तान गर्नु भनेको त्यहाँको माथिल्लो सम्पादकीय नेतृत्वले पनि यो मुद्दाबारे चासो राख्दैन भन्ने मेरो बुझाइ छ ।’

अञ्जली लामाकै कुरा गरौं न । उनले मोडल हुनका लागि नेपालमा ठूलो संघर्ष गरिन्, यहाँ उनको प्रतिभाको खासै मूल्यांकन भएन । तर, भारत र विश्वका ठूला देशमा उनको मोडलिङले ठूलो तारिफ भयो । विश्वकै प्रतिष्ठित ल्याक्मे फेसन शोमा पुगेकी अञ्जली अहिले हलिउड मूभीमा काम गर्दै छिन्् । ‘अञ्जलीले नुवाकोटबाट काठमाडौं आएर लामो समय मोडलिङमा करिअर खोजिन् । नेपालको मोडलिङ क्षेत्रले नपत्याएपछि अहिले उनी नेपालबाहिर छिन्,’ पिंकी भन्छिन्, ‘उनी प्रतिभावान् भएकैले अहिले बलिउड र अहिउडका पनि पहिलो रोजाइका सीमित मोडलले पाउने अवसर पाइरहेकी छिन् । तर, उनको बारेमा समाचार आउन पनि उनी विदेशै जानुपर्‍यो र विदेशी मिडियाले नै पहिले लेख्नुपर्‍यो ।’

त्यसैले एलजीबीटीआई समुदाय के हो र यसका मुद्दा के हुन् भनेर आफूहरूले समय-समयमा मिडियासँग अन्तर्क्रिया कार्यक्रम गर्ने गरेको अधिकारकर्मी भूमिका बताउँछिन् । यो पर्याप्त भने नरहेको पनि उनी स्वयंलाई लाग्ने गरेको छ । समाजसँगै सञ्चारकर्मीलाई पनि आफ्ना मुद्दाबारे बुझाउन आफूहरू क्रियाशील रहेको उनको दाबी पनि छ ।

‘विषयको गाम्भीर्यले स्थान पाउँछ’
तेस्रोलिंगी समुदायको आफ्नै दाबी रहे पनि पत्रकार जगत नेपाल भने समाचारको महत्त्वका लागि विषयको गम्भीरतालाई जोड दिन्छन् । विषयको गम्भीरताले नै समाचारको टाइम एन्ड स्पेस निर्धारण गर्ने पत्रकारिता जगतको स्पष्टोक्ति छ । लामो समय छापा र टेलिभिजनको सम्पादकीय नेतृत्व गर्दै अहिले थाहा सञ्चार डटकमको सम्पादक रहेका तीर्थ कोइराला फरक लिङ्गीय पहिचानकै आधारमा समाचारले स्थान नपाउने भन्ने कुरामा सत्यता नरहेको बताउँछन् ।

तेस्रोलिङ्गी तथा समलिङ्गीलाई विशिष्ट शारीरिक पहिचान भन्दै विषयको गम्भीरताका आधारमा समाचार बन्ने र त्यसले आफैं स्थान निर्धारण गर्ने उनी स्पष्ट पार्छन् । ‘पहिलाको जस्तो अहिले छैन । उनीहरूका पनि समाचार आइरहेका हुन्छन् । उनीहरूले लुकाउन चाहेको खण्डमा फरक कुरा भयो, अन्यथा मिडियाले लुकाउने वा नदिने भन्ने हुँदैन,’ कोइरालाको स्पष्टोक्ति छ ।

यद्यपि, मार्केटिङका हिसाबले भने कतिपय अवस्था र सन्दर्भमा तेस्रोलिङ्गीहरूका विषय तुलनात्मक रुपमा कम प्राथमिकतामा भने पर्ने गरेको हुनसक्ने उनी स्वीकार गर्छन् । यस्तो अवस्थामा सबै घटनाहरू नआउन सक्ने उनी बताउँछन् ।

कतिपय अवस्थामा वास्तविकता अर्कैतर्फ तर सञ्चारमाध्यममा अर्को कुरा आउने गरेको भन्दै उनी थप्छन्, ‘तर, एक्सेस र कभरेज धेरै छ । समलिङ्गी तेस्रोलिङ्गी भन्ने बित्तिकै धेरै समस्याका कुराहरू आउने भन्दै उनी उपलब्धिका समाचारहरू आए त्यसले उच्च प्राथमिकता पाउनेमा ढुक्क हुन उनी आग्रहसमेत गर्छन् ।

तेस्रोलिङ्गी भन्नेबित्तिकै यौनकर्मी वा अप्राकृतिक हुन् भन्ने बुझाइ पत्रकारमा पनि रहने गरेको भन्ने कुरामा सत्यता नरहेको भन्दै आफूलाई सामान्य नागरिकसरह सोचेर सोहीअनुसारको काम र व्यवहार गरे त्यसप्रति कसैले पनि आँखा चिम्लिन नसक्ने उनको भनाइ छ ।

सरकारको आँखामा तेस्रोलिंगी
देशभरि गरेर समलिङ्गी तथा तेस्रोलिङ्गीको सङ्ख्या नीलहीरा समाजका अनुसार करिब १० लाख छ । यसमध्ये हालसम्म पहिचानका आधारमा पहिलो नागरिकता पाउने कास्कीका विष्णु अधिकारी हुन् । राहदानी पाउने कैलालीकी तेस्रोलिङ्गी मोनिका शाही हुन् । बत्लात्कारपछि हत्या गरिएकी अजिता मकवानपुरबाट अन्य उल्लेख गरेर नागरिकता लिने पहिलो व्यक्ति हुन् । तर, उनीहरूको यी समाचारले खासै प्राथमिकता नपाएको तेस्रोलिङ्गी अधिकारकर्मी भूमिका बताउँछिन् ।

२०७२ साउन २५ गते बाट सरकारले (ओ) उल्लेख गरेर तेस्रोलिङ्गीलाई राहदानी दिन थाल्यो । समलिङ्गी, तेस्रोलिङ्गीको अधिकार प्राप्तिको अभियानमा यो ‘माइलस्टोन’ भए पनि यसलाई सञ्चारमाध्यमले खासै चासो नदेखाएको यो समुदायको ठहर छ । भूमिका भन्छिन्, ‘नेपालकै इतिहासमा पहिलोपटक नेपालको संविधान २०७२ ले समलिङ्गी, तेस्रोलिङ्गीलाई संबोधन गर्‍यो । धारा १२, १८ र ४२ ले समलिङ्गी, तेस्रोलिङ्गीलाई सम्बोधन गर्‍यो तर, यसबारे मलाई लाग्छ धेरै सञ्चारकर्मीलाई नै थाहा छैन ।’

संविधानको धारा १२ नागरिकतासँग सम्बन्धित छ । त्यस अनुसार वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यक्तिले निजको आमा वा बाबुको नामबाट लैंगिक पहिचानसहितको नेपालको नागरिकताको प्रमाणपत्र पाउन सक्नेछ । यसै गरी धारा १८ नागरिकको मौलिक हकसँग सम्बन्धित छ । समानताको हक सम्बन्धी यस धारामा सबै नागरिक कानुनको दृष्टिमा समान हुने र कसैलाई पनि कानुनको समान संरक्षणबाट वञ्चित नगरिने प्रत्याभूति छ । यसैगरी धारा ४२ मा रहेको सामाजिक न्यायको हकमा त ‘लैंगिक तथा यौनिक अल्पसंख्यक’ भन्ने शव्दावली नै किटान गरेर उनीहरू समेतलाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यका निकायमा सहभागिताको हक हुने व्यवस्था गरिएको छ ।

कति छन् समलिङ्गी तथा तेस्रोलिङ्गी
विश्व स्वास्थ्य सङ्गठनका अनुसार यो समुदाय कुल जनसङ्ख्याको करिब ८ देखि १० प्रतिशत हुन्छ । तर, संविधानले उनीहरूको पहिचानलाई अपराधीकरण गरेको, समाजले अस्वीकार गरेको तथा सम्पूर्ण अवसरबाट समेत वञ्चित हुनुपर्ने भएका कारण आफ्नो पहिचान लुकाएर बसिरहेका हुन्छन् ।

नेपालमा यो समुदायको जनसङ्ख्या कति छ भन्ने यकिन तथ्यांक अहिलेसम्म छैन । तथ्याङ्क विभागले अहिलेसम्म महिला र पुरुषको मात्रै तथ्याङ्क सङ्कलन गरिरहेको छ । त्यसैले सरकारी निकायसँगै यसको सङ्ख्या छैन । गैरसरकारी निकायहरूले पनि अहिलेसम्म कसैले पनि देशभर कति यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक छन् भनेर तथ्याङ्क लिएको छैन । त्यसैले विश्व स्वास्थ्य सङ्गठनको मान्यतालाई नै आधिकारिक मान्नुपर्ने अवस्था रहेको नीलहीरा समाज बताउँछ ।

यही तथ्याङ्कलाई मान्ने हो भने नेपालमा पनि २८ देखि ३० लाखको हाराहारीमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक छन् । तर, यही समुदायको अधिकारका लागि काम गर्दै आएको नीलहीरा समाजले आफ्नो सम्पर्कमा करिब १० लाखसम्म आएको जनाएको छ । भर्खरै सम्पन्न जनगणनाले पनि समलिङ्गी तेस्रोलिङ्गीको छुट्टै तथ्याङ्क गणना गरेन । त्यसैले आधिकारिक रुपमायति नै जनसङ्ख्या छ भन्ने यकिन तथ्याङ्क छैन ।

न्यून बुझाइ
यौनिक अल्पसङ्ख्यक बारेमा सामान्य अवलोकनबाट मात्र नभएर प्राज्ञिक शोधको माध्यमबाट हेर्दा पनि सामाजिक बुझाइमा सीमादेखा परेको छ । ‘यौनिक अल्पसङ्ख्यकमा आमसञ्चारमाध्यमको प्रभाव’ विषयमा २०७५ मा त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका विद्यार्थी, नरेश फएलले स्नातकोत्तर तह दोस्रो वर्षका लागि गरेको शोधपत्रमा उनीहरूका बारेमा यस्तो बुझाइ देखापरेको हो । उनले छापा पत्रकारितामा एजलीबीटीआईका समाचार तथा समाचार सामग्रीले कति स्थान पाउँछन् भनेर अध्ययन गरेका थिए ।
शोत्रपत्रमा आमसञ्चारको प्रभाव र अध्ययन उपशीर्षकअन्तर्गतको एउटा प्रश्नमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका विषय पत्रपत्रिकामा कत्तिको आएको पाइन्छ भनेर ५० जना पत्रकार र ५० जना तेस्रोलिङ्गी तथा समलिङ्गीलाई प्रश्न सोधिएको थियो । सो प्रश्नको जवाफमा धेरै मात्रामा आउँछन् भन्नेमा ६ प्रतिशत र अलिअलि आउँछन् भन्ने ९४ प्रतिशत यौनिक अल्पसङ्ख्यक रहेको पाइयो । अलिअलि मात्रै समाचार आउँछन् भन्ने पत्रकारको सङ्ख्या शतप्रतिशत छ ।

सोही शोधपत्रमा नेपालका पत्रिकाले यो समुदायबारे विस्तृतमा लेखेको पाइन्छ ? भन्ने प्रश्न सोधिएको थियो । यो प्रश्नमा विस्तृतमा लेखेको पाइन्छ भन्ने पत्रकार ३६ र पाइँदैन भन्नेमा ६४ प्रतिशत पत्रकार पाइए । यौनिक तथा लैङ्गीक अल्पसङ्ख्यकतर्फ पाइन्छ भन्नेमा ५६ प्रतिशत र पाइँदैन भन्नेमा ४४ प्रतिशत देखापरे ।

सोही शोेधपत्रका रेडियो तथा टेलिभिजनले यो समुदायबारे कस्ता समाचार प्रसारण गरेको पाउनुभएको छ ? भन्ने प्रश्न थियो । यसमा सकारात्मक समाचार आउँछन् भन्ने पत्रकार ७३ प्रतिशत र नकारात्मक भन्नेमा २७ प्रतिशत रहे । यही प्रश्नको जवाफमा सकारात्मक भन्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक ८८ प्रतिशत र नकारात्मक भन्ने १२ प्रतिशत पाइएको थियो ।

यौनिक अल्पसङ्ख्यकबारे किन कम समाचार आएका होलान् ? यो प्रश्न पनि शोधकर्ताले गरेको छन् । यसमा पत्रकारले नै नबुझेर भन्नेमा ६४ प्रतिशत, यो सङ्ख्या नै कम भएर भन्नेमा ९ प्रतिशत र पाठक नभएर भन्नेमा २७ प्रतिशत पत्रकार रहेको पाइएको थियो । यस्तै नबुझेर भन्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक ७५ र सङ्ख्या नै कम भएर भन्नेमा २५ प्रतिशत यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक रहेको पाइएको थियो ।

यो समुदायबारे किन नकारात्मक समाचार आएका होलान् ? भन्ने प्रश्नमा शोधकर्ताले तीनवटा विकल्प दिएका थिए- समुदायकै कारण, पत्रकारले नबुझेर र गलत बुझाइका कारण । जवाफमा समुदायकै कारण भन्ने १८, पत्रकारले नबुझेर भन्नेमा ९ र गलतबुझाइका कारण भन्ने ७३ प्रतिशत रहेको थिए । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकतर्फ समुदायकै कारण भन्ने ६ प्रतिशत, पत्रकारले नबुझेर भन्ने ६९ र गलत बुझाइका कारण भन्ने २५ प्रतिशत रहेको पाइएको थियो ।

शोधमा अर्को प्रश्न थियो-, यो समुदायबारे किन कम समाचार आएका होलान् ? जवाफमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक खुल्न नचाहेर भन्ने ५५, पत्रकारलाई जानकारी नभएर ठान्ने ४५ प्रतिशत पत्रकार रहेको पाइयो भने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकमध्ये आफूहरू खुल्न नचाहेर भन्ने ६, पत्रकारलाई जानकारी नभएर भन्ने ८८ प्रतिशत तथा अन्य कारण रहेको बताउने ६ प्रतिशत पाइएको थिए ।

न्यून स्पेस
यही शोधपत्रमा नेपालका प्रमुख चारवटा दैनिक पत्रिकामा २०७५ वैशाख १ देखि ३१ गतेसम्म ३१ दिनका पत्रिकामा समलिङ्गी तेस्रोलिङ्गीका समाचार कति आए भनेर अध्ययन गरिएको थियो ।

शोेधका लागि राष्ट्रिय दैनिकहरू कान्तिपुर, नागरिक, अन्नपूर्ण पोस्ट र नयाँ पत्रिकाको अध्ययन गरिएको थियो । यो समुदायका समाचार समग्रमा कत्तिको आउँछन् भनेर नमुनाका रुपमा लिइएका चारवटा दैनिक पत्रिकाको अध्ययनका क्रममा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका समाचार खासै प्रकाशन भएको पाइएको थिएन ।

वैशाख ८ गतेको अन्नपूर्ण पोस्ट दैनिकमा ‘अल्पसङ्ख्यकलाई रमाउन दिइयोस्’ शीर्षकमा ६ कोलममा दीपेन श्रेष्ठले खिचेको तस्बिर पहिलो पृष्ठमा प्रकाशन भएको थियो जसमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरू फुटसल खेलिरहेका थिए । उक्त तस्बिरको समाचार एक कोलममा छापिएको थियो । राष्ट्रिय खेलकुद परिषद्ले पहिलोपटक आयोजना गरेको प्रतियोगितामा ५ विकास क्षेत्रका एक-एकसहित काठमाडौंका २ टोली सहभागी थिए । उक्त समाचारमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको भनाइबाट समाचारको शीर्षक तानिएको थियो ।

नेपालकै इतिहासमा पहिलोपटक राखेपले आयोजना गरेको उक्त फुटसल प्रतियोगिताको सो समाचार यो सोधमा समावेश अन्य तीनवटा पत्रिकाले भने छापेका थिएनन् ।

यौनिक तथा लैङ्गीक अल्पसङ्ख्यकको समाचार ३१ दिनका चारवटा पत्रिकामा नछापिए पनि वैशाख ३० गतेको नयाँ पत्रिका दैनिकमा ‘पुनः मञ्चन हुँदै जिउँदो आकाश’ शीर्षकको समाचार छापिएको थियो । यो तेस्रोलिङ्गीको विषय समावेश गरिएको नाटकको खबर थियो । यस्तै वैशाख २ गतेको कान्तिपुर दैनिकमा पनि पोखरामा जिउँदो आकाश शीर्षकमा समाचार छापिएको थियो । यो चन्द्र भण्डारीद्वारा लिखित तेस्रोलिङ्गीको मुद्दा समावेश गरिएको नाटकको कभरेज थियो ।

दुवै पक्ष जिम्मेवार
सम्पादक तीर्थ कोइरालाले भनेजस्तै यो शोधले तेस्रोलिङ्गी आफ्नै कारणले पनि समाचार केही कम आइरहेको पुष्टि गरेको छ । सूचना दिने व्यक्ति,- स्वयं खुल्न नचाहेर पनि कतिपय समाचार नआएको पाइएको छ । कोइरालाले भनेजस्तो पछिल्ला दिनमा तेस्रोलिङ्गीका समाचार आइरहेको भन्ने दाबी र यो शोधको तथ्यांक मेल खाँदैन । यसमा तेस्रोलिङ्गी अधिकारकर्मी तथा नीलहीरा समाजकी अध्यक्ष पिङ्की गुरुङले गरेको गुनासोसँग शोधको आँकडा मेल खान्छ । धेरै सञ्चारकर्मीले तेस्रोलिङ्गी र समलिङ्गी भनेको के हो भनेर बुझ्नै पनि बाँकी रहेको शोधले प्रस्ट्याइदिएको छ ।

तेस्रोलिङ्गी अधिकारकर्मी उनै पिङ्की आफूहरूको संवेदनशीलतालाई सञ्चारमाध्यमले नबुझेको वा बुझेर पनि चासो नदिएको गुनासो गर्छिन् । ‘यहाँ दिनदिनै सार्वजनिक सवारीमा, विद्यालयमा, सडकमा, बजारमा, कार्यालयमा महिला तथा बालिकाहरू माथि यौन दुर्व्यवहार भएको समाचार विभिन्न पत्रिकाको पहिलो पेजमा छापिन्छ,’ उनी गुनासो गर्छिन्, ‘तर, हाम्रो समुदाय फरक व्यवहार, बोली र हाउभाउका कारण सावर्जनिक स्थलमात्र होइन, आफ्नै घरमा समेत हरेक दिन दुर्व्यवहार र विभेदको शिकार भइरहँदा पनि खोई त हाम्रो समाचार ?’ आफूहरू फरक शारीरिक पहिचानकै कारण पैतृक सम्पत्ति (अंश) बाट पनि वञ्चित भइरहेको उनको गुनासो छ । सम्पादक कोइरालाको भने एकै प्रकृतिका समस्याले हरेक दिन ठाउँ नपाउने तर्क छ । स्वयं तेस्रोलिङ्गी समुदायको पनि स्वीकारोक्ति छ- त्यसो त करिब-करिब दशकौंदेखि हाम्रा हाम्रा समस्या र मुद्दा उस्तै-उस्तै हुने गरेका छन् ।

(सञ्चार रजिस्ट्रारको कार्यालय वाग्मती प्रदेशको लेखन तथा प्रसारणवृत्ति कार्यक्रमअन्तर्गत तयार पारिएको सामग्री ।)

प्रनिशा अधिकारी

अधिकारी नेपालखोजका संवाददाता हुन् ।

प्रतिक्रिया